वेदनाको बन्दना : अनुष्टुप छन्दको मार्मिक कविता

रचनाकार : शंकर पाठक “निर्मोही”
काभ्रे,हाल :काठमाण्डौ

शिवकी प्रिय हौ कि वा, यमकी दूत हौ तिमी
बाँच्ने इच्छा हुँदै प्राणी, छाड्न बाध्य भए जिमी ।१।
शक्ति स्वरूपिणी देवी!कोरोनामय भो जग
भोगेर नर के सक्थ्यो यत्रा! ऐश्वर्यको भग ।२।
ढाक्दा जगत भो ब्याप्त, अदृश्य रूप धारिणी
मिल्यो प्रलयआभाष, सृष्टि बिनास कारिणी।३।
सन्तान हामी हौँ तिम्रै, पाइयोस् दिव्य दर्शन
अद्भुत देखियोस् जस्तै , नपरोस् अब तर्सन ।४।
भौतिकमा पुग्यो हानी, थियो अध्यात्म पावन
सुसंस्कार गुमेका ती नगर्दा अवलम्बन ।५।
बद्लिनै पर्छ यी मान्छे आचार खानपानमा
सस्तो प्रचार भो ज्यादा ,औकातका बखानमा ।६।
सिन्धु पुगेर भो शान्त,भेल त्यो उर्लिए पनि
हुँदैन पार पौडेर, डुङ्गा हेलिन्छ रे भनि ।७।
दुष्टको साथ छाडेर, लिऔँ सत्सङ्गको भर
मुखका मनका एकै, भेटिने जन को? छ र ।८।
जगाई बल आत्मामा , ऊर्जा भरेर देहमा
ध्यान वा धैर्यका साथ, बसौँ निष्ठा पह्रेजमा ।९।
सुकाई देह चिन्तामा,छाडौँ आलाप क्रन्दन
प्रभुमा चित्त अर्पेर , गरौँ ॐकार वन्दना !१०।