
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले पर्यावरणलाई स्वच्छ बनाउने लक्ष अनुसार महानगर क्षेत्रलाई प्लास्टिक मुक्त गर्न लागिएको बताउनुभएको छ। सिंगो नगरपालिकालाई हरियाली युक्त र प्रदूषणबाट मुक्त गराउन वडा कार्यालयसंग समन्वय गरेर घरघरमा निशुल्क कपडाका झोला वितरण गरिने र हरेक ठूला सपिङ्गमल र डिपार्टमेन्ट स्टोरहरूमा सहुलियत दरमा झोला उपलब्ध गराएर प्लाष्टिक जन्य झोलालाई पूर्ण रुपमा निरुत्साहित नै गर्ने तयारी रहेको बताउनुभयो। विश्व वातावरण दिवस २०२५ को आवसर पारेर ललितपुरमा क्रियाशील सरसफाईसंग सम्बन्धित केही संस्थाहरूको संजाल चक्रपथ -महानगर सफाई अभियानले आयोजना गरेको प्रभातफेरी तथा खुल्ला सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। कार्यक्रममा फोहरमैला ब्यबस्थापन संघका अध्यक्ष ध्रुब आचार्य,कलाकार किरण केसी, ललितपुर वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्का,संयोजक लक्ष्मी गेलाल, सहसंयोजक सहदेव राउत तथा ललितपुर चक्रपथ महानगर सफाई अभियानका प्रवक्ता लक्ष्मी घिमिरेले सफाई अभियानले नगरको सुन्दरता मात्र बढाउन नभई वातावरण सम्बन्धि जनचेतना अभिवृद्धि गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरामा जोड दिनुभयो। महानगरपालिका र निजी क्षेत्रबाट क्रियाशील संघसंस्थाको संयुक्त प्रयास भएमा नगरलाई स्वच्छ,सफा र हराभरा बनाउन सकिने बक्ताहरुको धारणा थियो। ललितपुर महानगर परिसरमा आयोजित उद्घाटन कार्यक्रमका अवसरमा मेयर महर्जनले विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई नि:शुल्क कपडाका झोला समेत प्रदान गर्नुभयो।
