काठमाडौँ | काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र महानगरले शाहलाई पठाएको हो । उक्त पत्र निर्मल निवासमा पठाइएको महानगरले जनाएको छ ।
उक्त पत्रहरुमा काठमाडौं महानगरपालिका वडा नं.–३२ तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदूषण गरेकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।
कुन शीर्षकमा कति जरिवाना ?
कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर -रु १ लाख
महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर–रु १ लाख
जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
दमकल तोडफोड- रु १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड- रु ६३ हजार
यसअघि पूर्वराजाको स्वागतमा भन्दै अघिल्लो साता एयरपोर्ट क्षेत्रमा फोहोर गरेकोमा बालेनले राप्रपालाई जरिवाना तिराएका थिए ।