मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै

महोत्तरी । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज अन्तरगृह परिक्रमा गरेर सकिँदै छ ।  धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचुरीस्थित मिथिला विहारी मन्दिरबाट शुरु भएको मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेर सकिन लागेको हो । 

मिथिलामा १५औँ दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ । अहिले पञ्चकोशी परिक्रमाका यात्री  जनकपुरधामको अन्तरगृह परिक्रमा पथमा अटुट मानवपङ्क्ति देखिँदो छ । यो अन्तिम यात्राका क्रममा बिहीबार साँझ होलिका दहन गरिएको खरानी उडाउँदै अन्तरगृहपथको एक फन्को लगाएपछि पवित्र गङ्गासागरमा चोबलिएर यात्रीले यस वर्षको मध्यमा परिक्रमा सम्पन्न गर्दैछन् ।

मिथिलामा फागुन पूर्णिमाका रात राक्षसी प्रवृत्तिकी होलिकाको प्रतीक बनाएर आगो झोसेर दहन (जलाएर खरानी बनाउने) गरिने चलन छ । परिक्रमा यात्रीले पथमा पर्ने होलिका दहनको खरानी उडाउँँदै आपूmभित्रको खराब प्रवृत्ति अन्त्यको कामना गर्दछन् । यो खरानी उडाइने चलनलाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ ।

अन्तरगृह यात्रामा मध्यमा परिक्रमामा सरिक हुन नसकेका सर्वसाधारण पनि सरिक हुन्छन् । मध्यमा परिक्रमा गर्न नसकेकाहरूले अन्तरगृहसम्म यात्रा गरे पनि पुण्य प्राप्त हुने मैथिल जनविश्वास छ । यसै विश्वासले आज महोत्तरी, धनुषालगायत आसपासका जिल्लाबाट हजारौँका सङ्ख्यामा सर्वसाधारण अन्तरगृह परिक्रमामा सरिक भएका छन् ।

मधेसमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा सुरू भएको दिन होली पर्व मनाउने परम्पराअनुसार आज पर्व मनाउने तयारी छ । मध्यमा परिक्रमाको एक सय ३३ किलोमिटर वृत्तभित्र भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ । यसअनुसार मिथिला मध्यमा परिक्रमा पथभित्र भोलि शनिबार होली मनाइने मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । निर्धारित वृत्तभित्रका १५ ठाउँ रात्रिविश्राम गरेर १६औँ दिन बिहान सम्पन्न गरिने मिथिला मध्यमा परिक्रमा यात्रा कल्याण र मोक्षको कामनासाथ गरिन्छ ।

मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ । 

यज्ञ, मन्दिर, नदी तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्था अनुरूप मिथिला परिक्रमा अन्तर्गत १ सय ३० किलोमिटरका क्षेत्रमा पदयात्रा गरिन्छ । यो परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ । अन्र्तगृह परिक्रमापछि जनकपुरमा होली भने शनिबार मात्रै मनाइन्छ ।