काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। साथै तराइका धेरै भू–भागहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।