डा. विकासराज घिमिरे (एम.डी. आयुर्वेद)
ज्ञानको इतिहासलाई खोतल्दै जा“दा वेदलाई ज्ञानको भण्डारका रूपमा सारा विश्वसामु विदितै भएको कुरा हामी सबैलाई थाहा छ । ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद र यसै अथर्ववेदको उपवेदका रूपमा रहेको प्राचीन स्वास्थ्यजीवन विज्ञानको धरोहर आयुर्वेद जसलाई हामीले पञ्चम वेदका रूपमा लिन्छौं । आयुर्वेद स्वास्थ्यजीवनको आधार, विश्वस्वास्थ्य संगठनले प्रमाणित गरेको स्वास्थ्य विज्ञान हो । लगभग ५,००० वर्ष पहिलेको आयुर्वेद विज्ञान आजको समयमा पनि अझ बढी विश्वसनीयता र लोकप्रियताका साथ दिन दुई गुणा रात चार गुणा बढिरहेको जानकारी हामी सबैले महसुस गरेका छौं ।
मुख्यतः आयुर्वेद भन्नेबित्तिकै यसका आचार्य चरक, सुश्रुत, वाग्भट्ट (वृहत्रयी र लघुत्रयी) शाङ्गधर, माधवनिदान, भावप्रकाश विशेष रूपमा स्वास्थ्य क्षेत्रमा लोकप्रिय ग्रन्थहरू हुन्, जसमा आचार्यले आफ्नै विशेष अध्ययन–अनुसन्धान गरी वैज्ञानिक ग्रन्थहरू दिएका थिए । जस्तैः आचार्य चरक–चरकसहिंता
(कायचिकित्साप्रधानग्रन्थ), आचार्य सुश्रुत संहिता– शल्यप्रधानग्रन्थ आदि । स्वास्थ्यलाई गम्भीर रूपमा बुझ्न र जान्नका लागि आयुर्वेदको आफ्नै सिद्धान्त छ । त्यही सिद्धान्तअनुरूप नै मानव, जीवजन्तु, प्रकृति र विश्व ब्रह्माण्डलाई स्वास्थ्य राख्ने उद्देश्यले आयुर्वेदका आदि आचार्य ऋषिले वैज्ञानिक सिद्धान्त प्रतिपादन गरेका छन् । जुन कुरा हिजोआज र भोलिका लागि पनि त्यत्तिकै सान्दर्भिक छन् ।
“यथा ब्रह्माण्ड तथा पिण्ड” अर्थात् ब्रह्माण्ड जुन–जुन तत्वले बनेको छ । मानिसलगायत अन्य जीवजन्तुहरू पनि त्यही तत्वले बनेका हुन्छन् । आयुर्वेदको सिद्धान्त अनुसार “सर्व द्रव्यं पाञ्चभौतिक ।” अर्थात् यो संसारमा रहेका जति पनि वस्तुहरू छन् ती सबै पाञ्चभौतिक तत्वले (पृथ्वी, अप, तेज, वायु, आकाश) मिलेर बनेको हुन्छ । मानव शरीर पनि यही सिद्धान्तमा आधारित भएर बनेको छ ।
“तत्र शरीर नाम चेतनाधिष्ठानभूतं पञ्चमहाभूतविकार समुदायत्मकं समयोग वाहि ।।” अर्थात् शरीर पञ्चमहाभूता+चेतना (आत्मा) को संयोग हो । आयुर्वेदको मूल सिद्धान्त त्रिदोष हो अर्थात् वात, पित्त, काम र यही त्रिदोषको सन्तुलनता र असन्तुलनताले पार्ने प्रभावमाथि सम्पूर्ण आयुर्वेद अडिएको छ । त्रिदोष र पञ्चमहाभूतको अन्तर्सम्बन्धलाई निम्न श्लोकले प्रस्तुत गर्दछ ।
विसर्गादानविक्षेप सोमसूर्य अनिलातथा ।
धारयन्ति जगत्देहं कफपित्तऽअनिलस्तथाः ।। सू.सु. २१÷७
वात–हावा (अनिल)–वायु
पित्त–सूर्य –अग्नि+ जल
कफ–सोम (चन्द्रमा)–पृथ्वी +जल
आचार्य चरक लेख्नुहुन्छ–“सर्वभरिचरास्तु वातपिलश्लेष्माणि हि सर्वास्थिन् शरीर कुपिताकुपिताःशुभःअशुभानिकुर्वन्ति ।।” अर्थात् हाम्रो शरीरमा वातदोषद्वारा नै शुभकार्य÷अशुभकार्य संचालन हुन्छ । यही शरीरमा वायुको प्रकोप बढ्छ । विभिन्न स्वास्थ्य समस्याले शरीरलाई अस्वस्थ बनाइदिन्छन् । चिकित्सा स्वरूप वातलाई अमन (कम) गर्ने औषध (जडीबुटी) आहार र विहारको विशेष पालना गर्नुपर्दछ ।
त्यसैगरी जब विश्व ब्रह्माण्डमा वायुको प्रकोप हुन्छ । यो कुरालाई आचार्य चरक भन्नुहन्छ ः–“प्रकुपितखल्वस्तु लोकेषु चरतःकर्माणीयानि भवन्तिःतधथाशिखरीशिखरावमन्थनम्, उन्मन्थनमनोकहमान्, उत्पीडनं सागराणाम्, उद्वर्तनं सरसां, प्रतिशरण आपगमनाम्, आकम्पनं च भूमि आध्यमानंम्बुणां ….।” च.सू. १२÷८
अर्थात्–प्रकुपित वायुले पहाडमा पहिरो ल्याउनु । ठूला रुखलाई पल्टाउनु, समुद्रमा हलचल मच्चाउनु (सुनामी) जलाशयको पानीलाई छचल्क्याउनु, नदीमा बाढी आउनु, भूकम्प जानु, आकाशमा चट्याङ र गर्जन आउनु, कुहिरो लाग्नु, शीत पर्नु÷शीतलहर चल्नु, ऋतुको आफ्नो मूल स्वभावलाई विकृत पार्नु, अन्नको उत्पादन राम्रो नहुनु, महामारी फैलिनु, युग परिवर्तन एवं विनाश गर्ने क्षमता हुनु आदि । यस्तो शक्तिशाली वायु तत्व समअवस्थामा राख्नु नै समुन्नत जीवनको आधार हो । मानिसले प्रकृतिस“गको सहजीवनमा आफ्नो चैतर्फी विकास गर्न सक्छ तर पछिल्लो समयमा मानिसले प्रकृतिमाथि विजय गर्ने स्वप्न बोकेर प्रकृतिका मूलतत्वहरूलाई प्रदूषित गर्दै गयो । मानव जीवनका अत्यन्त महत्वपूर्ण तत्वहरू पृथ्वी, अप, तेज, वायु, आकाशमाथि अतिक्रमण गर्नाले पानी पिउन नहुने अवस्थामा छ, श्वास फेर्न नहुने अवस्थामा छ, सूर्यकिरण ताप्न नहुने अवस्थामा छ, हरेक तत्वमा मानिसको क्षणिक स्वार्थले पर्यावरण प्रदूषणको डरलाग्दो स्वरूप देखिएको छ । पृथ्वीमा वनजङ्गल घट्दैछन्, घरहरू बढ्दैछन् जसका कारण असन्तुलनता आएको छ । पृथ्वी पनि पञ्चतत्वबाट बनेको एउटा पिण्ड हो । यसमा पनि अन्य तत्व घटेर वायु तत्व विकृति भई वायु दोषका रूपमा भूकम्पको वर्तमान स्वरूप देखिएको हो ।
संकेतका रूपमा आयुर्वेद ग्रन्थमा लेखिएका केही श्लोकबाट मैले यो लेखलाई प्रारम्भ गरें । करिब ५,००० वर्ष पहिले लेखिएका यी ग्रन्थहरूमा प्रकुपित वायुलाई नै प्रकृति र मानव शरीरको विनाशकारी त्यसलाई आधार मान्दा भूकम्प फेरि–फेरि महाविपत्तिका रूपमा नआओस् भन्नका लागि पञ्चमहाभूतको सन्तुलन कायम गर्न, कमसेकम एउटा मान्छे बराबर ठूला दश रुख रोप्ने प्राचीन सिद्धान्तलाई पुनः स्थापित गर्ने, जलस्रोतलाई प्रदूषित नगर्ने विशेषतः सहरस“ग जोडिएका नदी–नालाहरू अव्यवस्थित सहरीकरणले विषाक्त भएका छन् । कृषि प्रणालीलाई माटो मैत्री कृषि, अर्थात् जैविक कृषि प्रणालीलाई पुनस्र्थापित गर्ने, हावालाई प्रदूषित गर्ने, उद्योग, कलकारखाना तथा अन्य स्रोतहरूलाई वैज्ञानिक तरिकाले प्रदूषणमुक्त स्वरूपमा निर्माण गर्ने, सूर्यकिरण र आकाशलाई यसरी पञ्चमहाभूतलाई प्रदूषित हुन दिएनौं भने पञ्चतत्वमा सन्तुलन आउ“छ जसले वायु तत्व प्रकुपितजनित महाविनाशकारी आपत्तिलाई रोक्न सक्छ ।
नेपालका करिब १४–१५ जिल्लामा महाभूकम्पले अत्यन्त ठूलो क्षति पुर्याएको छ । यस्तो अवस्थामा शोकलाई शक्ति र सोचमा बदलेर विश्वकै सुन्दर नेपाल निर्माण गर्न हामी एकजुट भई अघि बढ्नु आवश्यक छ । बाक्ला बस्तीहरूलाई कंक्रिटको जङ्गल नबनाएर जङ्गलको बीचमा थोरै कंक्रिटका घर बनाउनु जरुरी छ । हरेक घरका अगाडि खुल्ला ठाउ“, हरेक बस्तीका बीचमा खुल्ला चउर र पार्कहरूको निर्माण गर्नुपर्दछ । माटोको स्वरूप हेरेर घरका संरचनालाई निर्माण गर्नुपर्दछ । वैदिक विज्ञानले निर्दिष्ट गरेअनुसारको बस्ती विकासलाई हामीले पालना गर्ने हो भने दैवी आपत्तिले मानिसको साहस र सङ्कल्पलाई झुकाउन सक्ने छैन ।
(लेखक अष्टाङ्ग आयुर्वेद क्लिनिकका सञ्चालक हुनुहुन्छ ।)