नकारात्मक भाव जाग्नुको कारण गलत शिक्षा र गलत संस्कारको परिणाम हो ।

एल्.पी.भानु शर्मा

प्रचार्य एपेक्स कलेज , तथा अध्यक्ष जीवन विज्ञान केद्र,

बानेश्वर काठमाडौं ।

पश्चिम नेपालको बाग्लुङ्मा जन्मिनु भएका एल्.पी. भानु शर्मा एपेक्स कलेजका प्राचार्य तथा जीवन विज्ञान केन्द्रका अध्यक्ष हुनुहुन्छ । भारतको मुम्बाइबाट ऋ।ब्।को अध्ययन पुरा गर्नु भएका शर्मा पारिवारिक वातावरणका कारण बाल्यकालदेखि नै अध्यात्मतिर अकर्षित हुनु भएको पाइन्छ । सुरुमा मन्त्र साधना र त्यसपछि विस्तारै विभिन्न खालका ध्यान साधनाहरूको प्रयोग गर्दै उहाँले अध्यात्मलाई नै जीवनको एक अङ्गका रूपमा आत्मसात्  गर्नु भएको देखिन्छ । हाल उँहा आफ्नै संस्था जीवन विज्ञान केन्द्रबाट धर्म,दर्शनर जीवनका बारेमा गहन व्याख्या एवं उत्प्रेरणामूलम प्रवचन दिँदै आउनुभएको  छ । मनोपरामर्शदाता एवं सामाजिक अभियन्ताका रूपमा समेत परिचित शर्मा विभिन्न सञ्चार माध्यमबाट पूर्वीय अध्यात्म दर्शनका कुशल व्याख्याताका रूपमा पनि चिनिनु हुन्छ । कवच पत्रिकाका लागि उहाँले दिनु भएको अन्तर्वार्तालाई यहाँ प्रस्तुत गरिएको छ ।

१. धर्म र संस्कृतिमा के फरक छ ?

धर्मले पुरै ब्रह्माण्डलाई एक देख्छ । धर्म हो एकत्वको बोध । जहाँ पनि विभाजन छ, फुट छ, त्यो धर्म होइन । चाहे जातिका नाममा होला । चाहे राजनीतिका नाममा होला । चाहे भूगोलका नाममा होला । जेसुकै होस् । एकत्व कहीँ पनि छ । त्यसको नाम धर्म हो । त्यसैले धर्मलाई अद्वैत भन्छौं,जहाँ दुई छैन । एकत्वको खोज धर्म हो । अनेकत्वको खोज अधर्म हो, धर्मको विपरीत यात्रा हो । धर्मले अनेकतामा पनि एकता ल्याउँछ । त्यसकारण हाम्रो देशलाई केही चाहिन्छ भने धर्म चाहिन्छ । धार्मिकता चाहिएको छ हामीलाई किनभने धर्मले मनुष्यलाई जोड्छ । नत्र भने जोड नै हराउँछ । दुईओटा मनुष्यको अन्तर सम्बन्धै हराउँछ । धर्मको अभिन्न अङ्ग हो संस्कृति । धर्मका दुईओटा अङ्ग छन् । धर्मलाई जब हामी दैनिक व्यवहारमा प्रयोग गर्छौ,त्यो संस्कृति बन्छ । जब हामी धर्मलाई साधनाका लागि प्रयोग गर्छौ ,त्यो अध्यात्म बन्छ । धर्म एउटा वृक्ष हो जसका दुईओटा शाखा छन् । एउटाको नाम हो संस्कृति र अर्काको नाम हो अध्यात्म । अध्यात्मबिना धर्मको चुरोमा पुग्न सकिन्न । संस्कृतिमा त धर्म हराएर जान्छ । संस्कृति चाहिन्छ र यो धर्मको अभिन्न अङ्ग हो । संस्कृतिमा धर्मका अवशेषहरू मात्र देख्न पाइन्छ । व्यवहारिक पक्षसँग,सामाजिकतासँग,त्यो ठाउँको भूगोलसँग,त्यहाँको रहनसहन, त्यहाँको रीतिथिति,व्यवहार,त्यहाँका मान्छेहरू तथा तिनीहरू अनुकूल मिलेर संस्कृति  बनेको हुन्छ । त्यहाँ धर्मका सूत्रहरू बडो तीक्ष्ण बुद्धिले खोज्नु पर्छ । अध्यात्ममा सिधै फेला पर्छ, संस्कृतिमा हराएका हीराजस्तै खोज्नु पर्छ । एउटाएउटा गरेर खोज्नु पर्छ ।

२.धर्ममा कसरी लाग्नु भयो ?

धार्मिक संस्कार सिक्ने सुअवसर सानैमा प्राप्त भयो । त्यसपछि म अलिकति मन्त्र साधनामा लागें । मन्त्र साधनाले धेरै अगाडि लैजाँदो रहेछ भन्ने अनुभव भयो । त्यसपछि पढाइको सिलसिलामा म ऋ।ब्।गर्न मुम्बइ गएँ ।

त्यहाँबाट मैले ऋ।ब्।गरें । फेरि फर्केर म नेपाल आएँ कामको सिलसिलामा । अनि त्यसपछि मैले ध्यान साधना अलिक गहिराइका साथ आरम्भ गरें किनभने पहिले म केही पढेर राम्रो शिक्षा आरम्भ गर्छु । त्यपछि मेरो साधना म गहिर्याउँछु भन्ने मेरो सङ्कल्प थियो । त्यही सङ्कल्प अनुसार नै मैले ऋ।ब्।गरि सकेपछि अब मैले मेरो साधानालाई गहिर्याउँछु भनेर मैले ध्यानको साधनालाई सक्दो आफ्नो ऊर्जा पुरै जीवनको मूल केन्द्र हुन्छ नि, त्यतैतिर आफ्नो साधनालाई सारें ।

३.मन्त्र साधना र ध्यान साधनका बारेमा यहाँको कस्तो अनुभव छ ?

म अलिकति मन्त्र साधना गर्थें । मन्त्रमा धेरै प्रकारको शक्ति हुन्छ भन्ने कुरा मैले बुझें । ध्यानका माध्यमबाट मन्त्रको सबै रहस्य खुले । मन्त्र के हो । मन्त्रले के गर्छ ? मन्त्रले मलाई कहाँसम्म पुर्याउँछ ? यो रहस्यसम्म मलाई मन्त्रले  लिएर गयो । त्यसपछि चाहिँ मन्त्र साधना त्यहीं छोडेर ध्यान साधनातिर लागें ।

४.ध्यानका कुनकुन विधि अपनाउनु भयो ?

म धेरै ठाउँमा गएँ । धेरै विधिहरू मैले अपनाएँ । मैले भगवान् बुद्धका विधिहरूदेखि लिएर हाम्रो सनातन परम्परामा भएका ध्यानका विधिहरूका साथै ओशोका ध्यान विधि पनि मैले प्रयोग गरें । ध्यान विधि त आरम्भमा नै हो । उत्तराद्र्धमा विधिको अर्थ छैन । अविधिमा पुग्नु पर्छ । अविधि नै ध्यान हो । त्यो खालको अनुभव आउन थालेपछि त्यो ध्यानको विधि हो भन्ने बुझें । यसरी मैले ध्यान साधनालाई आगाडि लिएर आएँ ।

५.जीवन दर्शन के हो ?

मेरो विचारमा जीवन एउटा परम सम्भावना रहेछ । मनष्य एउटा चौबाटो हो । जहाँबाट मनुष्यले जता जान चाहन्छ,उतै जान सक्छ । मैले मेरो जीवनलाई जस्तो बनाउन चाहन्छु, त्यस्तै बनाउन सक्छु । म यहाँबाट जीवनलाई लथालिङ्गभताभुङ्ग बनाएर तलतिर जाकिन पनि सक्छु, म खस्न पनि सक्छु । म मेरो जीवनलाई प्रतिभाको उचाइमा, आफ्नो व्यक्तित्वको उचाइमा र मेरो आन्तरिक खुसियाली,आनन्द,शान्तिको उचाइमा पनि लिएर जान सक्छु । म खाल्डोमा खस्ने सम्भावना पनि उति नै छ,माथि जाने सम्भावना पनि उति नै छ । तल पनि असीमित छ,माथि पनि असीमित छ । त्यस्तो अवसर,एउटा चौबाटो जहाँबाट बाटो जताततै जान्छ, त्यस्तो रहेछ जीवन । त्यसैले जीवन भनेको एउटा अवसर हो । एउटा सम्भावना पनि हो जीवन ।

६.संस्कार भनेको के हो ?

संस्कार जीवनलाई ढङ्ग दिने र पद्धति दिने सूत्रहरू हुन् । जुनचाहिँ मनुष्यको अचेतन मनमा, अवचेतन मनमा गहिरोसँग बास गर्छन् । मैले जे कुरा बारबार गरें, त्यो मेरो जीवनको अङ्ग हुन्छ । जसरी मैले तपाईंलाईं बारबार भेटें, फेरि पनि भेट्न मन लाग्छ । तपाईं र मेरा हृदयमा तालमेल आउँछ, मलाई तपाईंसँग भेट्न मन लाग्छ । म तपाईंबाट संस्कारित हुन्छु । मैले मेरो मनलाई जे कुराले रङ्ग दिएको हुन्छु, त्यो मेरो संस्कार हो । मनलाई रङ्ग्याउने प्रक्रिया पनि हो संस्कार ।

७.संस्कार कस्तो हुनु पर्छ ?

संस्कार तपस्यामुखी हुनु पर्छ । संस्कार सकारात्मक हुनु पर्छ । यसले व्यक्तिलाई सक्रियतातिर लिएर जानु पर्छ ।  जीवनको अन्तिम उद्दश्य भनेको शान्ति हो । जो हृदयको शान्ति व्यक्तिले खोजिराखेको हुन्छ,त्यो शान्ति खोज्ने बाटामा सजिलो बनाउनु पर्छ संस्कारले किनभने संस्कार बाधा बन्नु हुन्न । शान्ति प्राप्त गर्न संस्कार सहायक बन्नु पर्छ ।

८.युवाहरूमा कस्तो संस्कारको आवश्यकता छ ?

आजका युवा चतुर छन् । धेरै कुरा सिकेका छन् तर एक दुई कुरामा आजका युवाहरू हराएका छन् । एउटा त आजका युवाहरूमा उद्देश्य छैन । म किन बाँचिरहेको छु । के खाइरहेको छु । के गरिरहेको छु । पहिलो कुरा यो अभाव छ । यो अभावको पूर्ति गर्ने शिक्षा र संस्कार दुवै चाहिन्छ । संस्कार अनौपचारिक हुन्छ । शिक्षा औपचारिक हुन्छ । युवाहरूमा उद्देश्यमूलक संस्कारको आवश्यकता छ । युवाहरूलाई आफ्नो लक्ष्य निर्धारण गर्न सक्ने संस्कार र शिक्षाको आवश्यकता छ । दोस्रो आजका युवालाई भौतिकवादले आकर्षित गरेकाले केही हराएजस्तो अनुभव भइरहेको छ । हृदयलाई बाहिरको कुराले मात्र आकर्षित गर्यो भने भित्रबाट टुटेकोफुटेको अनुभव हुन थाल्छ । आफूमा अखण्ड भइन्न, विखण्डन भइन्छ भित्रबाट । यो विखण्डनको सिकार,त्यससँग सम्बन्धित धुम्रपान आदिको कुलत युवाहरूमा बसेको छ । तेस्रो कुरा आजका युवामा आलस्य बढेको छ । युवामा आलस्य बढ्नुको कारण एउटा पिँढीसम्म बुबाआमाले मिहिनेत गरे । मिहिनेत गरेर केही धन आर्जन गरे । अब यो धन छँदैछ नि, पुगिहाल्छ नि भन्ने एक प्रकारको भ्रमात्मक सोच युवाहरूमा छिेरको छ । यो सोचाइका कारणले युवाहरू बाहिर निस्किएर राम्रोसँग  व्यवहार देखाउन असफल भएको देखिन्छ । बाहिर निस्किएर उनीहरुले आफ्नो कार्यकुशलता देखाउनु पर्ने हो तर त्यो कार्यकुशलता देखाउन नसकेको जहाँतहीँ देख्न सकिन्छ । यो कुरा मेरो अनुभवले देखाएको छ किनभने म दैनिक हजारौं युवाहरूसँग काम गरि रहेको छु । त्यसकारण उनीहरूलाई आफ्नो लक्ष्य निर्धारण गर्ने, लक्ष्य चिन्ने खालको संस्कार सिकाउन सकियो भने आजका युवाहरूलाई सही बाटोमा हिँडाउन सकिन्छ ।

९. जीवन विज्ञान कस्तो अभियान हो ?

जीवन के हो त भन्दा हामीभित्र रहेको आत्मतत्व हो । जीवन र जिन्दगीमा फरक छ । जिन्दगी त जन्मेको दिनदेखि मुत्युसम्मको समय हो । मरेपछि जिन्दगीको अन्त्य हुन्छ । जीवन त मृत्युपश्चात पनि रहन्छ ।  मनुष्य जन्मनुभन्दा आगाडि पनि जीवन थियो । मुनुष्यको सार नै जीवन हो अथवा पुरै ब्रह्माण्डको मूल सारलाई  नै जीवन भनिन्छ । मनुष्यभित्र रहेको मूल सार नै जीवन हो । प्रत्येक व्यक्तिभित्र जीवन धड्किरहेको हुन्छ,प्रत्येक प्राणीमा जीवन धड्किरहेको हुन्छ । त्यसलाई बुझ्ने, त्यसलाई चिन्ने,त्यसलाई फैलाइने वा त्यसलाई विभिन्न आयाममा फैलाउने र एकत्वको अनुभव गर्ने विज्ञानलाई जीवन विज्ञान भनिन्छ । त्यसकारण जीवन विज्ञान बाहिरको कुनै पनि सम्प्रदायसँग सम्बन्ध राख्दैन । आफूभित्र रहेको जीवनका आयामहरू खोदल्ने विज्ञान नै जीवन विज्ञान हो । जीवनका सम्भावनाहरूलाई  खोज्ने मूल अभियानमा जीवन विज्ञान लागेको छ ।

१०. जीवन जिउने कला के हो ?

जति सकिन्छ, आफ्नो मूल अस्तित्वको निकट या म के हुँ भन्ने वा त्यो मूल अस्तित्व प्रत्येक व्यक्तिको हुन्छ,त्यसको निकट बसेर जीवन जिउन सिक्नु जीवन जिउने कला हो । प्रत्येकको घरपरिवारमा आफ्नै खालको आदत, बानी, संस्कार, नियम, संस्कृति र परम्परा हुन्छ । के ठिक हो ? के बेठिक हो भनेर हेर्नु पर्छ, त्यसमा पनि मूलतः आफूलाई चिन्नका लागि सजिलो छैन । जे कुरा जीवका लागि तगारो बनेर आउँछ ,त्यो जीवन जिउने कलाको विपरीत हन्छ । जीवनमा प्रत्येकले आफूलाई चिन्न चाहन्छ । आफूलाई नचिनीकन आफ्ना सम्भावनालाई कसरी चिन्ने ? त्यस कारण जीवन जिउने कला भनेका आफूसँग नजिक आउने कला हो ।

११. चरित्र निर्माणमा ध्यान दिनुपर्ने पक्ष केके हुन सक्छ ?

चरित्र के हो भने हाम्रा ऋषिमुनिहरूले बडो मिठोसँग सूत्रबद्ध बनाएर राखेका छन् । चरित्र हो सत्यम् शिवम् सुन्दरम् ! सत्यम् भनेको आफ्नो सोच,जीवन र व्यवहार निरन्तर सत्यको नजिक जाने प्रकारको छ कि असत्यसँग नजिकी रहेको अवस्था छ । सत्यबाट टाढा र असत्यसँग नजिक भएर बाँचिरहेको अवस्था छ भने आफ्नो चरित्रबाट च्यूत भएको मान्नु पर्छ । शिवम्को अर्थ निरन्तर अरुका लागि कल्याणको भाव जागृत भएको अवस्था हो । आफ्नो हृदयमा कल्याणको भाव जागृत भएको अवस्था हो शिवम् । जुनसुकै अवस्थामा पनि सबैको सर्वकल्याण हेतु आफ्नो हृदयमा छ भने आफ्नो चरित्र सही ठाउँमा छ भनेर बुझ्नु पर्दछ । यस संसारमा परमात्माको सृष्टिमा केही सौन्दर्य बढाउन सकिन्छ कि भन्ने भाव नै सुन्दरम् हो । यिनै तिनओटा कुरा भएको अवस्थामा चरित्र सुसङ्गठित हुन्छ ।

१२. मानिसमा नकारात्मक भाव किन जाग्छ ?

नकरात्मक भाव जाग्नुको कारण गलत शिक्षा र गलत संस्कारको परिणाम हो । व्यक्ति आफैंमा नकरात्मक हुर्नै सक्दैन । ऊ त साक्षात अमृतस्य पुत्र हो,साक्षात ब्रह्पुत्र हो, सच्चिदानन्दको हृदय हो,धड्कन हो । त्यहीभित्र बसेर एक मानव मुरली बजाइ रहेको छ । त्यसकारण एक व्यक्ति आफैंमा नराम्रो हुने कुरो भएन तर व्यक्तिलाई हामीले कसरी हुर्कायौं, उसलाई हामीले कस्तो तालिम दियौं ? उसको संस्कार र शिक्षा कस्तो छ ? त्यसमा हामीले उसलाई बढी उत्तेजित बनाउने, बढी प्रतिस्पर्धात्मक बनाउने र लोभ,काम,क्रोध, हिंसा लगायतका नकरात्मक भावहरूले जीवन जिउन सजिलो बनाउन र सुगम बनाउँछन् भन्ने खाले सोच भएको हामीले व्यक्तिलाई बनायौं भने त्यो व्यक्तिमा नकरात्मक भाव जन्मिन्छ ।

१३. सकारात्मक सोचको विकास कसरी गर्न सकिन्छ ?

पहिलो कुरा त व्यक्ति स्वयम् आफैंले आफैंलाई चिन्न मद्दत गर्नु पर्छ । त्यसका लागि हाम्रो संस्कार र शिक्षालाई त्यो बाटोमा लैजानु पर्छ । आज इतिहास पढाइ हुन्छ, भूगोल पढाइ हुन्छ, गणित,विज्ञान, अङ्ग्रेजी पनि पढाइ हुन्छ, नेपाली पनि पढाइ हुन्छ । आफूमा म को हुँ त भन्ने पढाइ हुन्न । आफू या म को हुँ भन्ने कुरा थाहा नपाईकन आफूभित्र रहेको सम्भावना कसरी चिनिन्छ । आफू शान्त मनुष्य हो कि अशान्त मनुष्य हो भनेर कसरी थाहा पाउने ? आफू या म र यो जगत्का बिचको सम्बन्ध के हो ? आफू र परमात्माबिचको सम्बन्ध के हो ? आफूले यो जगत्प्रति कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुरा कुनचाहिँ पाठले सिकाउँछ, कुनै पाठ छ ? कुनै पनि छैन । हाम्रो शिक्षामा त्यो नभएपछि  सारा कुसंस्कार, विकार, विकृतिहरू आफैं यहाँबाट बन्दैबन्दै आए ।

१४. मानवमानवबिच कस्तो चरित्रको अभाव छ ?

हामी नेपालीहरूलाई हेरौं ल, हामीले हाम्रो देशको आराध्यदेव भगवान् शिवलाई बनायौं । शिवको धेरै अर्थ हुन्छ शिवत्व वा शुभत्व, शुभत्वको भाव । हामी  आफ्नै मात्र पेट भर्ने,आफ्नै मात्र भकारी भर्ने,आफ्नै मात्र ढिकुटी भर्ने आफ्नै घरपरिवार मोटाउँदै जाने सोच भएका व्यक्ति भयौं । सामाजिक परोपकारी, अरुको बारेमा निरन्तर चिन्तन गर्ने शिवत्व प्रकारको सोच हामीमा भएन । राष्ट्रका देवता त शिवलाई बनायौं तर हाम्रो जीवनमा शिवत्व भएन, त्यो चरित्र आएन । र, यो सानो समस्या होइन । आज हामी एक अर्कालाई लुट्न, मार्न तयार छौं  । हामीभित्रको शिवत्वतिर कसैको पनि ध्यान गएन, जसले हामीलाई जोड्थ्यो , जसले हामीलाई विश्वब्रह्माण्डमा पहिचान दिन्थ्यो । त्यो पहिचानको बाटोमा त हामी जाँदै गएनौं ।

१५. नैतिकता र इमानदारिताको अभावलाई कसरी पूर्ति गर्न सकिन्छ ?

नैतिकताको एउटा अङ्ग हो इमानदारिता । नैतिकताको सार वा चुरोलाई हेर्दा म जति महत्वपूर्ण छु अरु पनि त्यति नै महत्वपूर्ण छ भन्नु नै नैतिकता हो । यसलाई भगवान् कृष्णले गीतामा समत्व योग भन्नु हुन्छ । म अरुलाई पनि महत्व दिन्छु भने मेरो जीवनको नीति नै बदलिन्छ ।  होइन म अरुलाई महत्व दिन्न, म अरुलाई लुट्न वा बिर्गान, अरुलाई कम देख्न र अरुलाई कम महत्व दिन्छु वा त्यो खाले सोचबाट म प्रेरित छु भने ममा नैतिकताको ह्रास आउन थाल्छ । नैतिकताको बलमा नै इमानदारिता जन्मने हो । यदि म अरुलाई महत्व दिन्छु भने म अरुप्रति बेइमान कसरी हुन्छु , म आफैंप्रति त बेइमान हुन्न र म अरुलाई पनि महत्व दिन्छु । अरुलाई चिन्दछु र बसुधैव कुटुम्बकम्को  भाव मेरो हृदयमा आउँछ । त्यस दिन म नचाहीकन पनि इमानदार हुन्छु ,नचाहीकन पनि म नैतिकवान् बन्छु । यदि मैले देखें कि त्यही एउटा श्री कृष्ण सबैको हृदयमा निवास गर्छ भने म एउटा कमिलाको पनि घाँटी निमोठ्दिन । म परम नैतिकवान् हुन्छु । मलाई कसैले नैतिकताको पाठ सिकाउनु पदैन । नैतिकताको पाठ म आफैंले सिक्छु । नैतिकता र इमानदारिताले व्यक्ति अचानक परिवर्तनको अनुवभ गर्न थाल्छ र व्यक्तिले सिक्नु पर्ने कुरो हो यो ।

१६.मानवीय मूल्य मान्यताका केही महत्वपूर्ण विचार वा भनाइहरू बताइ दिनु हुन्छ कि ?

म नेपाली समाजलाई हेरेर तिनचारओटा कुरा गर्न चाहन्छु । पहिलो कुरा त हामीमा सोचको अभाव छ । हामी दीर्घकालीन सोच गर्दैगर्दैनौं । अहिलेको अहिले तत्क्षण कसलाई जित्ने,कहाँबाट धन आर्जन गर्नेजस्ता बडो अल्पकालीन सोच भएका व्यक्ति हामी भयौं । दीर्घकालीन सोच नै भएन हामीमा । पहिलो समस्या हो यो हामीमा देखिएको ।

दोस्रो हो हामी पहिचानको नारा त लागाउँछौं तर हाम्रो मूल पहिचान के हो हामीलाई थाहा नै छैन । हाम्रो मूल पहिचान भगवान् शिव  हो । हाम्रो मूल पहिचान आफूभित्र रहेको मानवता हो । त्यो पहिचानतिर हामीले ध्यान दिने हो भने त बाहिरका सानातिना पहिचान त गौण हुन्छन् । हामीमा एकत्वको भाव आउँछ र फेरि एकता पाउँछ यो राष्ट्रले ।

तेस्रो हाम्रा पुर्खाहरूमा एउटा गजबको सन्तुलन थियो । उनीहरूले घरव्यवहार र आध्यात्मलाई सँगै लिएर जान सक्थे । त्यति खुवी भएका थिए तर हामी असन्तुलित भएका छौं । असंयमित भएका छौं । यो जुन भौतिक संसार छ , यसले हाम्रो अधिकतम ऊर्जा लगेको छ । ऊर्जा भौतिक संसारले लगेपछि ऊर्जा नै बचेन अध्यात्ममा लगानी गर्न ।  त्यसकारणले अध्यात्मिक चेतनामा ह्रास आयो ।

अर्को के देख्न सकिन्छ भने भगावान् कृष्णले गीतामा भन्नु भएको छ । कृष्ण जगत् गुरु हुन् । जगत् गुरुले भनेको त हामीले सुन्नुपर्ने हो तर जगत् गु्रुले भनेको सुन्न कोही तयार छैन । जगत् गुरु मान्न तयार भए पनि उनका कुरा सुन्न र व्यवहारमा उर्तान तयारै छैनौं हामी । कर्मको कुरा,योगको कुरा हाम्रा जगत् गुरुले गर्नु भएको छ । योग भनेको कर्ममा कुशलता ल्याउने कुरा हो । म मेरो कर्ममा कसरी कुशलता ल्याउँछु ,म मनुष्यको रूपमा जन्मिसकें । मनुष्यको  योनी कर्म योनी हो । मनुष्य कर्मबाट भाग्न सक्दैन । कर्मबाट भाग्ने सबै सोच बेकार हुन् । यी सोचमा कुनै पनि दम छैन । यी सोचमा सत्यता छैन । मनुष्य कर्म योनी भएकाले यसलाई व्यवस्थित बनाउनु पर्छ । हाम्रो समस्त अध्यात्मको सार भनेको श्रीमदभागवत गीता हो । गीतको पनि सार अध्याय दुई हो । हामी जीवन विज्ञानमा अध्यात्मको सार सिकाउँछौं । आफू व्यवस्थित हुनु पर्यो । दीर्घकालीन सोचले भरिएको हुनु पर्यो । सन्तुलित सोचको हुनु पर्यो ।  आफूलाई निरन्तर विकास गर्न सक्ने चेतना भएको हुनु पर्यो ।

TOP