काठमाडौं| साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ।
तर, प्रसाईं तत्काल छुट्ने भने छैनन् । आपराधिक विश्वासघातको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकाले उनी तत्काल नछुट्ने भएका हुन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । प्रसाईंविरुद्ध दर्ता भएको मुद्दामा ७ वर्ष कैद सजाय माग गरिएको थियो।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए । साइबर अपराधमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।
यद्यपि उनीविरुद्ध अर्को पक्राउ पुर्जी पनि भएकाले धरौटी बुझाएर रिहा भएलगत्तै फेरि पक्राउ पर्न सक्ने बताइएको छ ।