पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।
आयुर्वेदिक उपचारमा मानिसहरूको कमै ध्यान जाने भएता पनि जुम्लामा भने केही समय देखी आयुर्वेदिक उपचारमा स्थानीयवासीको चासो बढ्न थालेको छ।
दैनिक जसो सय जनासम्म विभिन्न रोगका बिरामीहरू आयुर्वेदिक उपचारका लागि आउने गरेको आयुर्वेद जिल्ला स्वास्थ्य केन्द्र जुम्लाले जनाएको छ। बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ। उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले रोग अनुसारको उपचार पद्धति अपनाइएको छ।
सरकारले सिफारिस गरेका औषधिहरु बिरामीको स्वास्थ्य जाँच गरेर मात्रै वितरण भइरहेको रामपुर नगरपालिका आयुर्वेद शाखाप्रमुख चेमनप्रकाश पोखरेल बताउछन्। उनका अनुसार नियमित रुपमा आयुर्वेद औषधि सेवन गर्ने बिरामी बढिरहेका छन्। पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजित लगायतका विभिन्न वानस्पति वस्तुहरु मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित मानिन्छ।
विसं २०५२ मा स्थापित आयुर्वेद स्वास्थ्य केन्द्रले रोग निदानात्मक, उपचारात्मक, स्वास्थ्य प्रवर्द्धनात्मक, रोग रोकथाम र स्वास्थ्य परामर्शका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । प्रदेश निर्देशनालयले आयुर्वेद संस्थाको अनुसन्धानगरी दरबन्दी थप गर्नुपर्ने, चारपाङ्ग्रे सवारीसाधनको व्यवस्था गर्नुपर्ने, औषधि खरिद गर्न बजेट वृद्धि गर्नुपर्नेमा डा श्रेष्ठले जोड दिनुभयो ।