काठमाडौं ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको अभिनन्दन गरिने भएको छ ।
घिमिरेको ८४ औं वर्ष प्रवेशको अवसरमा उनको वृहत् अभिनन्दन तथा रोचक रचना अभिनन्दन ग्रन्थको लोकार्पण समेत गरिने बताइएको छ ।आगामी भदौ ३ गते नेपाल प्रञा प्रतिष्ठान,कमलादीमा उक्त कार्यक्रम हुने नेपाल स्रस्टा समाजका अध्यक्ष,वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदन ले इ खवर नेटलाई जानकारी दिए ।
अग्रज स्रष्टा र साहित्यकारहरुको सम्मान गर्ने स्रस्टा समाजको परम्परा नै रहि आएकोले यहि परम्पराको निरन्तरताको रुपमा यसपाली घिमिरेको अभिनन्दन गर्न लागिएको र उक्त कार्यक्रमको सहआयोजक भैरव पुरस्कार गुठी रहेको पनि अध्यक्ष ‘रोदन’ले जानकारी दिए ।
रामेछाप जिल्लामा वि.सं.१९९८ सालमा जन्मिएका घिमिरे दर्जनौ साहित्यिक कृतिहरुका स्रष्टा हुन् ।वि.सं.२०१८ सालदेखि निरन्तर प्रकाशित द्धैमासिक साहित्यिक पत्रिका रचनाका प्रधानसम्पादक तथा प्रकाशक घिमिरे विभिन्न साहित्यिक संघसंस्थामा समेत आबद्ध छन् । प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार,नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मानहरु प्राप्त गरेका रोचक नेपाल साहित्यिक पत्रकार संघको दुई कार्यकाल सफल अध्यक्ष समेत रहिसकेका छन् ।