आज पाल्पामा पनि घण्टाकर्ण पर्व मनाइदै

पाल्पा । प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।

ऐतिहासिक सहर तानसेनको बसपार्क, नारायणस्थान, सित्तलपाटी, टक्सारटोल लगायतका स्थानमा घण्टाकर्णको लिंगाकृति राखिएको छ । नारायणस्थान र टक्सारमा वर्षौपछि यस्तो नर्कट राखिएको छ । संस्कृतिविद् मदन देउराली, देउराली अध्ययन प्रतिष्ठान, नारायण युवा क्लब, बसपार्कका कलाकार किरण चित्रकार, राजकुमार रञ्जनलगायतले नर्कट बनाउन सहयोग गरेका छन् ।

खेती किसानीको काम सकिएलगतै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ । घण्टाकर्णको दिन फलाम वा पित्तलको औंठी गठांमोमा छुवाएर लगाउने परम्परा छ । महिलाहरू रोपाइं सकिएको खुसियालीमा यसै दिन हातमा मेहेन्दी (लैंचा) लगाउने प्रचलन रहेको तानसेनका स्थानीयबासी बताउँछन् । बालबालिकाहरूले आफ्ना खेलौना पुतली गठांमोमा छुवाई घरमा लाने प्रचलन छ । यस पर्वमा दोबाटो र चौबाटोमा दिनभर नर्कटको तीन खुट्टे गठांमो ठड्याई बटुवाहरूसँग बालबालिकाले ‘घण्टाकर्ण जगात दे’ भन्दै जगात अर्थात् कर माग्ने पनि परम्परा रहीआएको छ । दुवै कानमा घण्टा झुन्ड्याइएको भयानक मुखाकृत घण्टाकर्णको मखुण्डो र तलतिर एकापट्टि लिंग र अर्कोतर्फ योनिको चित्र राखिन्छ । घाम अस्ताएपछि दिनभरि ठड्याएको गठांमोलाई साँझपख तानेर नजिकको नदीमा विसर्जन गरिन्छ । त्यसपछि आ–आफ्ना घरबाट बौः राखेर भूत पन्छाउने गरिन्छ ।

यो धेरै राख्न छोडेपछि प्रतिष्ठानले भने घण्टाकर्ण बनाएर राख्ने जो कोहीलाई पुरस्कार दिने व्यवस्था गरेको छ । दिनभरी गथामुगलाई दोबाटो, चौबाटोमा ठड्याएर राखिन्छ र साँझपख यसलाई सेलाउन लैजानु अघि सो काममा संलग्न एक जना युवाले उक्त टोलमा भएका घर–घरमा जगाती (कर) माग्दछन् । त्यसपछि साँझपख यस घण्टाकर्ण गथामुगलाई भूँइमा ढलाएर मुखमा आगो लगाएर घिसार्दे तल्लो टोलकाहरुले तीनधारामा र माथिल्लो टोलकाहरुले होलमङ्दीमा लगी जलाएर सेलाउने गर्दछन् ।

धान रोपाइँ सकिएपछिको आराम गर्ने र अब चाडपर्व सुरू भएको जानकारी गराउने दिन पनि गठेमंगललाई मानिन्छ । गठेमंगलकै दिन बेलुका लाखे नाचकोसमेत सुरुआत हुन्छ । जसलाई श्रीकृष्णजन्माष्टमीको अघिल्लो रात सेलाउने चलन छ । नागपञ्चमी, जनैपूर्णिमा, श्रीकृष्णजन्माष्टमीमा लाखे नाच नाचिन्छ ।