Thursday 22nd January 2026
भक्ति माँको धाम : नौकुचिया ताल

Shantisap28@gmail.com
भारतको उत्तराखण्ड स्थित नौकुचिया तालबाट बाबा पथिकको बोलावट आयो । उहाँको इच्छा आफ्ना साधकहरु यहाँ आएर साधियून् भन्ने थियो । मैले पनि बाबालाई प्रत्यक्ष नभेटेको धेरै समय भइसकेको थियो । त्यसैले मलाई त्यहाँ जान इच्छा भयो । इच्छालाई दबाउन हुँदैन भन्ने बाबाकै दर्शन अनुरुप मैले पाँच घण्टाभित्रैमा जाने योजना बनाएँ र काठमाडौँ विमानस्थलबाट नेपालगंजसम्म जहाजमा जाने टिकट किनेँ । नेपालगंजबाट तीनजना साधकहरु जाने जानकारी भएपछि मभित्रको उत्साहले पङ्ख हाल्यो । उहाँहरु मलाई नै कुरेर बस्नुभएको रहेछ । बेलुकी करीब ७ बजेतिर हामीहरु नौकुचिया ताल जानकोलागि रुपैहिडाबाट भ्यान समायौँ । करीब ८ घण्टाको बाटो रहेछ नौकुचिया ताल पुग्नकोलागि । हामीहरुलाई रातभर रफ्तारमा कुदाइयो । धागो तानेको जस्तो सोझो बाटैबाटो । अँध्यारोले कहाँ पुगियो थाह भएन । मेरा आँखा कत्ति पनि चिम्लिएनन् । कारण थियो डरहरुको । एउटा डर मसँग नेपालगंजका मेरा छोरा उमेरका साधकहरुसँग हिँडेकी छु । उहाँहरु निदाउनु भएको छ । अर्को डर भारत भित्रभित्र घुसेकी छु । अर्को डर रातिको बेला छ । मैले तीनवटा डर बोकेर हिँडेपछि तिनै डरले मलाई आँखा चिम्लिन दिएनन् । चालकले एउटा पंजाबी ढाबाको अगाडि गाडी रोके । आफ्नो सीटलाई तेर्साए र आँखालाई विश्राम दिए । गर्मीले गर्दा झ्याल खुल्लै राखेका रहेछन् । लामखुट्टेका हुल भित्र प्रवेश गरेपछि अन्तिम सिटमा डरको पोको बोकेर बसेकी ममाथि लामखुट्टेले हमला गरिहाले । मैले मेरो सल निकालेर लामखुट्टे धपाउन कोशीस गरेँ । शीरमा पगरी गुथेका सुरक्षाकर्मी गाडीको नजिकै आउँछन् । यसो भित्र चियाउँछन् । म निदाएको अभिनय गर्छु । ऊनीहरु पर जान्छन । नेपालको रगत चुस्न थालेका लामखुट्टेलाई भगाउने कोशीस गर्छु । निदाएका अरु साधकहरु पनी ब्युँझिन थाले लामखुट्टेको आक्रमणले तर चालक हल न चल भएर सुतिरहे । उनका निम्ति पनि हामीलाई बोल्न हुँदैनथ्यो । बिहानको पाँच बजे हामीहरु बाबाको आश्रममा पुग्यौँ । डरले छोडे पछि आँखाले चिम्लिन खोजे । त्यहाँ केही बेर आराम गर्यौँ ।

मार्च २५, सात बजेतिर बाबाले अचानक कौसीमा बोलाउनु भयो । हामीहरु चारैजना जम्मा भयौँ । उहाँले हाम्रालागि ७ दिनको कार्यतालिका बनाइदिनु भयो ।
बाबाको कार्यतालिका-
“बद्रिनाथ, केदारनाथको फेदिमा एक हप्ताको काष्टमौनलाई अगाडि लैजादै छौँ । यसकोलागि हामीले संकल्प लिनु जरुरी छ । काष्टमौन सबैभन्दा कठीन साधना हो । भौतिक रुपले वार्तालाप गर्न मिल्दैन । यसलाई बढाउदै लैजाने छौँ । प्रतिदिन बिहान योग प्रणायाम हुने छ । अनुशीलनलाई व्यवहारमा उतार्ने छौँ । आफ्नो घरमा फोन गर्न पाउनु हुने छैन । नादको श्रवणप्रति सहज रहनु पर्ने छ । आहात कुनै किसिमको नहोस् । हिँड्दा खुट्टा नबजोस् । मन उपस्थित नभईकन अनाहतमा जानुपर्छ । अनिमात्र सम्बोधिको ढोकामा पुग्न सकिन्छ ।
एउटा धाममा पुगेमात्र पनि मोक्ष भइन्छ भन्ने ठाउँमा तपाइँहरु आउनु भएको छ । यो मौकालाई नगुमाउनु होला । ध्यानमा रुपान्तरण किन घटेन भन्दा मनले भूमिका खेलिरहेको छ । त्यसैले मनलाई नमस्कार गर्दै साधनामा अघि बढ्नु होला ।”
काष्टमौन साधनाको पहिलो दिन
हल अँध्यारो छ। भक्ति माँ (माँ मौनी ) को ठूलो तस्वीर अगाडि आसन माथि सजिएको छ ।
बिहान बाबाले बनाइदिनु भएको तालिकाको नोटकापी लिएर हामीहरु हलमा उपस्थित भएका छौँ । वातावरण साधकले खोजेजस्तै शान्त छ । जति पनि पाहुनाहरु घुम्नकोलागि आउनु हुन्छ हलमा चुपचाप बसेर एकैछिन् आँखा चिम्लिएर जानुहुन्छ । बाहिर “कृपया शान्त र चुप रहनु होला” भनेर बोर्ड राखिएको छ ।
कोरोना र लकडाउन आदिका कारण साधनाको ग्याप धेरै लामो भइसकेको थियो । मेरोलागि भने यो ठूलो अवसर थियो । यसको प्यास पनि अचम्मको हुँदो रहेछ । बद्रीनाथ र केदारनाथको काख, माँ मौनीको समाधिस्थल अगाडि आसन जमाउन पाउदा मन त्यसै त्यसै फुरुंग भयो । काष्ट मौनको अनुशासन त्यहीँबाट तोडिसकेकी थिएँ मैले । किनकी मनले कुरा गर्न थालिसकेको थियो । कुनै सुविचार आए, कुनै कुुविचार आए वा कुनै अहंकार आए तुरुन्तै नोट गरिहाल्ने भन्नुहुन्थ्यो बाबाले । मैले यो पनि गर्न सकिन ।
काष्ट मौनको दोस्रो दिन
बिहान एकैचोटि पाँच पन्ध्रमा ब्युँझेँ । अब मैले नित्य कर्म सकेर छिट्टै प्रणायाम हलमा जानु छ । प्रणायाम हल ध्यान हलको माथिल्लो तलामा छ । चकटीहरु ओछ्याइएका छन् । जहाँ भक्ति (मौनी) माँ को ठूलो तस्वीर छ । माला लगाइएको तस्वीरमा निश्चल आँखा छन् । आधा नानी माथिल्लो ढकनीले छोपिएको छ । आधा नानीले मात्र संसारलाई हेरेर, आधा आँखाले आध्यात्मिक जगतलाई नियाल्नु भएको होला । अनुहारको कान्तिमा शान्ति छ । ओठ हेर्दा मौनताकै प्रतीक हो जस्तो ।
बिहान प्रणायाम सकेपछि दुईघण्टाको मौन ध्यान पश्चात सानो घण्टीको मधुर आवाज कानमा ठोकियो । बाबाले साधनाबाट उठ्ने संकेत दिनुभएको हुनुपर्छ भन्ने मनमा आयो र बिस्तारै लामो सास फेरेर जिउ यताउति चलाएँ । उठ्न पटक्कै मन थिएन । अगाडि जहाजमा चढाएको मोबाइललाई नजर लगाएँ । दुई घण्टा भएको रहेछ त्यसरी पलेटी कसेर बसेको । अरु साधकहरु सुस्तसुस्त उठेको आभास भयो । म पनि उठेँ । किनकी कार्यतालिका अनुसार चल्नु छ । आचार्य माँ ज्ञानीताले निधारमा आधा आँखा छोपिनेगरि पट्टी बाँध्नुहोस् । ताकि दुईफिट भन्दा पर नदेखियोस् । कसैका आँखामा नहेर्ने, कसैसँग हाउभाउ नगर्ने । इमर्जेन्सि नै भए लेखेर मलाई दिने भन्ने बाबाको कुरालाई नै उहाँले फेरि कोट गर्नु भयो ।
माथि खुल्ला ठाउँमा टेबल र बेन्च छ । जहाँ हलुवा, पुरी, तरकारी, परौँठा जस्ता खानेकुराले हाम्रै प्रतीक्षा गरिरहेका थिए । हाम्रा ओठ बोलेनन्, खाँदाखेरि चले । “बिहानको खाना राजसी हुनु पर्छ । दिउसो ठिक्क खानू र बेलुका भिखारीले जसरी खानुपर्छ ।” बाबाका कुराले साधकहरुले तातो तातो परौँठा थपी थपी खायौँ ।
आश्रमको नियमभित्र पर्ने एउटा नियम छ जो आफूले खाएको भाँडा आफैले सफा गर्ने । आफ्नो कोठाचोटा आफै सफा गर्ने ।
हाम्रो अर्को तालिका छ । साढे नौमा हलभित्र प्रवेश गर्ने । तीन घण्टा साधनामैँ रहने । यतिबेला हलमा ममात्र छु । अब आफूभित्र डुब्ने बेला भएको छ । शरीर त हो अन्न पानीको । म आफ्नो साधनालाई बिचमा बाधा नहोस् भनेर वास रुमतर्फ जान्छु । जब चप्पल लगाउन थाल्छु । एउटी मलिन हनुहारकी महिला मलाई देखेर तीनफुट पर सर्छिन् । जब मैले चप्पल लगाएर पाइला सार्छु खुर्रर आएर मेरो पाउँ छुन्छिन् । यतिबेला उनको अनुहारमा विजयको भावना झल्किएको थियो । उनी पछाडि हटिन् र कुचो समाइन् । मन्दिर परिसर सफा गर्न आएकी महिला रहिछन् । म आफूलाई ध्यान हलतिर लैजान्छु, जब बिहानको साढे नौ हुन्छ । अरु साधकहरु पनि आएर आफ्नो आसन जमाउन थाल्नुभयो ।
करीब तीन घण्टाको अनाहत साधना पछाडि मनको स्थिति निकै शान्त छ । अरु साधकहरु शान्तसँग शरीरलाई चल्मलाउदै हुनुहुन्छ । स्वामी योगीको अवस्था समाधिमैँ गएको जस्तो भान हुन्छ । यही हो नि हामी साधकहरुको तीर्थ भनेको पनि । गुरुको सानिध्यमा रहेर । मौनी माँको आश्रममा बसेर, नैनीतालजस्तो पवित्र भूमिमा यसरी साधना गर्न पाउनु हाम्रो अहोभाग्य हो । ठाउँ विशेषले पनि फरक पार्दो रहेछ साधनामा । साँच्चिकै यो ठाउँ साधना गर्न लायककै रहेछ । कति मौन र शान्त पनि । भिजिटरहरुको भीडभाड हुन्छ । केही दान दिन्छन् । त्यही दानले आउनेलाई प्रसादी र बस्न चाहनेलाई खानाकै व्यवस्था हुने रहेछ । तर सबै जना कति मौन भएर दृष्यावलोकन गरेर जानुहुन्छ । यो स्थान धामिर्क नभई आध्यात्मिक पर्यटकीय स्थल भन्दा अत्युक्ति नहोला । मैले हिजै सोचेकी थिएँ । ला .. यहाँ त हनुमानको मन्दिर रहेछ । बिहानै बिहानै धुपको खार आउने भो । एलर्जी पो हुने भो । तर त्यस्तो भएन । बिहान बत्तीको मात्र आरती भयो । कतैबाट पनि धुपको गन्ध आएन । प्राकृतिक सुगन्ध नै भरिपूणर् छ ।
दिउसोको ध्यान सत्र सकियो । बसेर पनि दुई घण्टा बित्दो रहेछ । आँखा चिम्लेर आफैलाई हेरेर र आफैलाई सुनेर । माँ ज्ञानीताले यतिबेला भने घण्टी बजाउनु भएन । बाबाको आवाज आउँदा पनि उठ्न सक्नु भएन । उहाँलाई समाधि लागेको छ । कति शान्त र प्रशन्न मुहारमा हुनुहुन्छ माँ ज्ञानीता । यही त हो ध्यानीको विशेषता । बाबा कतिबेला बाहिरिनु भयो पत्तो भएन । माँ ज्ञानीता समाधिमा डुबेपछि हामी चारजना काष्ट मौनमा बसेकाहरु नबोल्ने र इशारा गर्न नपाइने भएपछि हामीलाई कसरी चिया देलान् र भन्ने भयो । तैपनि बाहिरफेर टहल्यौँ । गौशाला नियाल्यौँ र फूलबारी र बगैँचातिर लाग्यौँ । चराका चिर्बिर चिर्बिर… साँच्चै कति आनन्ददायक छ परिवेश । न हेरेर आँखा थाक्छन् न सुनेर कान थाक्छन् । साँच्चै बोल्न नपरेपछि र विचारलाई नचलाएपछि मन पनि कत्ति थाक्दोरहेनछ । वास्तवमा हामी धेरै बोलेर कति शक्ति खर्च गर्छौ । “८० प्रतिशत शक्ति बोलने मेँ खर्च हो जाती है”, माँ मौनीको भनाइलाई कोट गरिएको छ । खासमा यो मन पनि नबोलेरै बस्नुपर्ने हो । आखिर मौन भएर बस्दा थाह हुँदो रहेछ कि यो मन कति चंचल हुँदो रहेछ भन्ने कुरा । एकछिनमै सीनेमाको पर्दा चेन्ज भएजस्तै भइदिन्छ यो मन । भन्नु र गर्नुमा धेरै फरक छ । साँच्चै भन्नुपर्दा यो मन फिल्मकै पर्दा हो रहेछ । मेरो ध्यानमा घटित प्रश्न बनाउछु बाबाले दिनुभएको नोट कापीमा । यो प्रश्न र उत्तरलाई मैले यहाँ उल्लेख गर्न सक्दिन ।
बिहानैदेखि ढुकुरको कुर..कुर..आवाजले मलाई मेरो जन्म ठाउँ पुर्याएको छ । चराको भाषा के भारत, के नेपाल उस्तै त रहेछ । कुक्कुको आवाज, “को हो ? को हो ?” भनेर प्रश्न गर्नेको आवाज । काफल पाक्यो भन्नेको आवाज उस्तै छ, जस्तो वालिङमा छ । नेपालमा छ । चराहरुको कलेवर र मौनी माँको मौन परिशरले विचित्रको आनन्दित तुल्याएको छ ।
काष्ट मौनको तेस्रो दिन
आज बिहान गुरुलाई, आकासलाई र धर्तीलाई अहोभाव चढाएपछि मेरो साधनामा सहजता महशुस भयो । बाबाको विद्वतालाई आज मेरै जीवनमा घटित घटनालाई लिएर बुझ्ने मौका पाएँ । साधारण कुराले हाम्रो जीवनलाई कति गिजोलिहरका हुन्छन् भन्ने कुरा करीब दुई तीन वर्षदेखिको अनाहत साधनामा आएको व्यवधानलाई आज बाबाले निमिट्यान्न पारिदिनु भएको छ । कसरी निमिट्यान्न पार्नु भयो त भनेर यहाँ लेख्न असमर्थ छु । आज मेरो मनै चंगा भएको छ तर काष्ट मौनले गर्दा कसैलाई व्यक्त गर्न सकिरहेकी छैन ।
विचारले भने चार गुना ठाउँ ओगट्यो । मनलाई नियन्त्रण गर्न धारणा गरेको साँचो कमजोर परेछ कि कुन्नि ! मनमाथि ताला लगाउन कति गार्हो । मन कति शक्तिशाली रहेछ भन्ने कुरा आज मलाई पनि अनुभूति भयो ।
काष्ट मौन साधनाको चौथो दिन
आज साधना गर्ने क्रममा शरीरमा कम्पन आयो । यस्तो लाग्यो मेरो शरीर भित्रैदेखि धोइँदै छ । नसा नसा हल्लिएका छन् । बलिन्द्र आँसु झरेका छन् । मानौँ सारा भित्री अंग पखालिँदै छ, निचोरिँदै छ । घरी यो शरीर हावामा तैरिन्छ । घरी यो शरीर जुरुक्क उठ्न खोज्छ । तर ध्यान मुद्रामा बसेका मुद्रा चल्दैनन् । झनैँ कसिन्छन् एक आपसमा । आफ्नो ठाउँबाट शरीर पटक्कै सर्दैन । वरिपरि साधकहरुको मौनता यथावतै छ । भित्रैदेखि शरीर निचोरिएको छ । त्यतिबेला मलाई निकै असहज हुन्छ । एक प्रकारको असहजताको आवाज । निकै बेर मेरो कम्पन थामिएन । आँसुको फोहोरा छुटिरह्यो । मैले पटक पटक अनाहत नादमा ध्यान केन्द्रित गरेर कम्पनलाई थमाउन खोजेँ तर ठूलै भूकम्प आएजस्तो शरीर थर्थराएपछि मेरो तत्कालिन मनको जोडले मानेन । करीब एक घण्टापछि मन अनाहतमा केन्द्रित भयो । शरीरको भयंकर कम्पन मत्थर हुँदैहुदैँ गयो । झनन्न झनन्न हुँदै रोकियो । अब म धेरै हल्का भएँ । थकित शरीरलाई शवासनमा पल्टाएँ । लामो लामो सास फेरेँ । करीब दश पन्ध्र मिनेटपछि उठेर ध्यान मुद्रामा बसिरहेँ । आँखा पटक्कै खोल्न मन लागेन ।
टिनिनिनि घण्टी बज्यो । यो बजाइ बाबाको नै हो भन्ने अनुमान लगाएँ । मैले प्रश्न बनाएँ र बाबालाई नोट कापी टकारेँ । प्रश्नको उत्तर यहाँ उल्लेख गर्न सक्दिन ।
दिनांक ५
आज पनि एउटी बच्ची खुर्रर आइन् । मेरो पाउ छोएर धन्य भएजस्तो भइन् । मलाई हेरिनन् । मेरो बाटोमा सिधा परिनन् । म पनि बाटो खोज्दै हिँडेकी बटुवा हुँ । कहाँ गएर ध्यान घटित होला र शान्ति मिल्ला भनेर भौँतारिँदै हिँडेकी । हुन त जहाँ गएपनि जाने आफैभित्र रहेछ । जति भित्र गयो र लीन हुन सक्यो उति शान्ति मिल्दो रहेछ । होला ती बच्चीको मनमा काष्टमौन साधना गर्नेप्रति आस्था जागेको होला । काम, क्रोध, लोभ, मोह, इश्र्यादेखि पर हुने बित्तिकै देवत्व गुण झल्किँदो हो । माँ मौनीको मन्दिरमा बसेर उनले यस्तै उस्तै अनुहारहरु देखेकी हुँदी हुन् । उनी पनि कमै बोल्छिन् । गम्भीर प्रकृतिकी छिन् । आफू पनि आज भित्रैदेखि नुहाइएकी थिएँ । अस्तित्वप्रति अनुग्रिहीत भएँ ।
मन्दिर परिशरमा तीनवटा साना साना कुकुरहरु छन् । दुईवटा लिखुरा साना छन् भने एउटा खैरो झ्यापुल्ले छ । दुईवटा मध्ये एउटा लिखुरो खुब काखमा बस्न खोज्छ । भित्रभित्रै लुटुपुटिन्छ । बिचरा सबैलाई चाहिएको छ उही प्रेम । प्रेमको यति महत्व छ । प्रेमले नै संसार अडिएको छ । प्रेमविनाको संसार एकैछिन् आँखा चिम्लेर सोचियो भने पनि निकै अत्यास लाग्दो हुन्छ । त्यसैले त साधु र सन्तहरुको यति मूल्य रहन्छ । उत्तराखण्डको विभूति, भक्ति माँ ( मौनी ) उनका गूरु निब करेली बाबा । उहाँलाई नै गुरु मानेर आफ्नो साधनालाई साधेकी माँ मौनी । उनकै कारणले यहाँ आज दिव्य धाम भएको छ । उहाँलाई कोटीकोटी प्रणाम । माँ को दिव्य धाममा दिनहुँ ओइरिने भक्तजनहरु मौनको अर्थ बुझेर जान्छन् । साधना र तपस्याको अर्थ बुझेर जान्छन् । प्रेमको अर्थ बुझेर जान्छन् । होइन भने शटरिपुले खेलेको संसारमा रिपुहरुकै खेल रहनेछ । रसिया र युक्रेनको लडाइँको खेल भइरहेको छ । बम बारुदको खेल । यस्ता खेल अन्य ठाउँमा पनि नभएका होइनन् । साधु, सन्त, गौतम बुद्धहरुले पनि हिमाल पहाड जस्ता महाभारत श्रृंखला किन रोजेका होलान् । कास यस पवित्र भूमिमा त्यस्तो नहोस् ।
पाँचौँ दिन
आज पाँचौँ दिनमा पनि हामीहरु काष्ट मौनमैँ छौँ । आज साँझको साधना बाबाले चलित ध्यान गराउनु भयो । हिँड्दै गर्दा आफ्ना पाइलामा ध्यान दिँदै, अन्तरमनलाई छुँदै हिँडयौँ । बाबाको निर्देशन यही नै थियो । हामी लाइनमा यसरी हिँड्दै करीब बीस मिनेटमा नौकुचिया तालमा पुग्यौँ । बाबाकै निर्देशन अनुसार तालको दर्शन गर्यौँ । छालको दर्शन गर्यौँ । अरु गतिविधिको हामीलाई के वास्ता ? अन्तरमन र तालको, त्यहाँ लहराइरहेको छालको लय अन्तरघुलन भइरहेको छ । त्यस्तो अवस्थाको आनन्द जस्तो वोट चलाएर तालको बिचमा पुग्नेहरुलाई पनि भएको छैन होला । तालको माथि घिर्नीमा वारपार गर्नेहरुलाई पनि भएको छैन होला । हेर्ने तरीका, नियाल्ने तरीका, र आफ्नो मनको लयलाई स्थिर राख्दा मन पनि तालको बिम्ब त बन्दो रहेछ । हाम्रा अगाडि कागजका गिलासमा कफी टक्रिए । त्यही ताललाई हेर्दै कफी पियौँ । तालभन्दा पारिका हरिया पहाडी श्रृंखला हराभरा देखिन्छन् । म कुनै स्वर्गको छेउमा बसेर स्वर्ग नियालिरहेछु जस्तो लाग्यो । भीडको माझमा पनि एक्लै रमण गर्न सकिने ध्यानको यो अद्भूत कला आश्चर्य लाग्यो । तालको छेउको बसाइपछि हामीहरु पुनः आश्रम फर्कियौ । गुफाजस्तो ठाउँबाट हनुमान मन्दिर छिरेर हलमा प्रवेश गर्यौँ । आहा ! क्या मस्ती छ । शरीर झुम्न थाल्यो । मन रम्न थाल्यो । पलेटी कसेपछि उठ्नेको मन भएन ।
छैठौँ दिन
आज बिहानको काष्टमौन साधना पश्चात् बाबाले केही प्रश्न उत्तर सहित ओम्को धुनबाट हाम्रो कष्ट मौन खुलाएर आर्य मौनमा प्रवेश गराउनु भयो । बाबाले “ल अब बोल” भन्दा पनि हाम्रो बोली आउन सकेको छैन । कम बोल्नु वा बोल्दै नबोल्नु पनि ठूलै शक्ति संचय हुने रहेछ भन्ने कुरा माँ मौनीको समाधिस्थल अगाडि बसेर आफै प्रयोगशाला बन्दा थाह भयो ।
दिउसोको दर्शन भिमतालको भयो । हनुमान मन्दिर (आश्रमदेखि) पाँच किमी टाढा रहेको उक्त ताल पोखराको फेवातालजस्तै देखिन्थ्यो । फेवातालको बीचमा बज्र बाराहीको मन्दिर छ भने यहाँ अक्वारियम क्याफे रहेछ । जहाँ हामी बोटिङ गर्दै गयौँ र अक्वारियममा सजाएर राखेका थरिथरिका माछाहरुको अवलोकन गर्यौँ । क्याफेमैँ बाबासँग कफी पियौँ । बाबाले पटक पटक सम्झाउनु हुन्छ, “हेर म छु को भाव राख । आफूलाई नभुल ।” तालको भ्रमणपछि हामीहरु पुन हनुमान मन्दिर ( भक्ति माँ को आश्रम ) फर्कियौँ । यतिबेला हाम्रो खानाको समय भइसकेको थियो । भान्सामा दाल, भात, तरकारी, दही, पानीपुरीको परिकार थिए ।
सातौँ दिन
अब भने यो मन घरतिर भाग्यो । बाहिरी आँखाले देखेको झिलिमिली यात्राले कति थाकिन्छ । एकछिन् हेर्यो अनि सकिने । तर भित्री आँखाले हेर्दै उस्तै संगीतसँग गरेको यात्रा कति आनन्दित हुने रहेछ । दूईघण्टासम्म बसेर पनि उठ्न नखोज्ने साधकहरुको आज अल्लि छट्पटी थियो । हो सबैलाई घर र कामले अल्लि चंचल बनाएको रहेछ । बोल्न पाएपछि साधकहरु विस्तारै बोल्न थाल्नुभयो । फिल्म स्कृप्ट राइटर, फिल्म मेकर अनिल भन्नुहुन्छ, “आहो अविष्मरणीय, कहिल्यै नसोचेको यात्रा यार । क्या मज्जा आयो ।”
अर्का साधक प्रतिक, टुरिजममा अध्यापन गराउनु हुने योगीजी (आध्यात्मिक नाम) भन्नुहुन्छ, “यति मस्ती त कहिल्यै पनि भएको थिएन । कुनै देशको प्राकृतिक छटाहरुमा घुम्दा पनि भएको थिएन । शब्दै छैनन् यार वणर्न गर्ने ।”
नेपाल टेलिकमका इन्जिनियर समीर पोख्रेल चुलबुले हुँदै भन्नुहुन्छ, “नैनीतालको मौन ध्यानले त लास्टै मजा आयो ।”
आज दिउसो कोठा सफा गर्यौँ । उत्पादन प्रणालीसँग जोडिएको हाम्रो साधना यसपालि भने ध्यान साधनामा मात्र सिमित भयो । छोड्ने बेलामा आश्रममा आफुले प्रयोग गरेका तन्ना, कोठा, कौसी सफा गरेर छोड्नु पर्ने आश्रमको नियम हुन्छ ।
भान्सामा खाना तयार पार्ने पण्डित जी हामीलाई खुवाउन पाउँदा निकै खुशी लाग्यो भन्नु भयो । म काठमाडौ पुगेको छु । मलाई नेपाल र नेपाली मन पर्छ । अझ उनीहरुको पाहुनालाई सत्कार र स्वागत गर्ने शैली मन पर्यो । म पनि त्यतिबेला कत्थक डान्स सिकाउथेँ । भारतको प्रतिनिधि भएर नेपाल गएको थिएँ ।”
मन्दिर र आश्रमको रेखदेखमा खट्ने विष्टजी जो ८४ वर्ष बिताइसक्नु भएको रहेछ र पनि कति सक्रिय । उहाँले निब करौरी बाबा, मौनी माँ र बद्रीनाथका धेरै कुरा गर्नुभयो । सातौँ दिनको साँझमा हामीहरु बगैँचामा बसेर धेरै कुरा सुन्यौँ उहाँका ।
(लेखक : शान्ति सापकोटा साहित्यकार तथा ध्यान साधक हुनुहुन्छ )
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
