
चक्रपाणि गौतम
गुरुकुल शिक्षा धर्मशिक्षण पद्धति हो । गुरुकुलमा समाज राष्ट्र र व्यक्ति स्वयं अनुशासित, संयमित र सहनशील बनेर जीवनयापन गर्ने तौर तरिकाहरु सिकाइन्छन । गुरुकुल अध्यात्मपथमा यात्रा गर्न ईच्छुकहरुका लागि अति आवश्यक र वास्तविक गन्तव्य पनि हो । पैसा तिरेर पास भएका विद्यार्थीहरु शिक्षाप्राप्ति पछि देशका नागरिक बन्दछन र प्राप्त शिक्षाको उपलब्धी अर्थोपार्जनमात्र मान्दछन । विद्या अध्ययन गर्न गरिएको लगानी शिक्षाप्राप्ति पछि उठेन भनें मनमा खिन्नता अप्रसन्नता हुन्छ नै। जसरी भए पनि विद्या हासिल गर्दाको लगानी उठाउनै पर्ने भावना जागृत हुन्छ । यसकारण पैसा तिरेर विद्या आर्जन गरेकाहरु व्यापार राजनीति अथवा कुनै पनि क्षेत्रमा गए भनें समाज कल्याणलाई उपेक्षा गरेर पारिवारिक सुख,ऐस,आनन्द र विविध सुख उपभोगमा केन्द्रित रहन्छन । यसरी पैसा खर्चेर गरेको अध्ययनले व्यक्ति भ्रष्ट र भौतिक सुखउपभोगी बन्दछ। जसको प्रभावमा आम सर्वसाधारणहरु पर्दछन अनि समाजमा आर्थिक, भौतिक असमानता आउछ । यो ध्रुव सत्य कुरा हो ।
प्राचीनकालमा समतामूलक र सर्वसमर्थ समाज निर्माण गर्ने उद्द्श्यले ऋषिमहर्षीहरुले स्थापित गरेको शिक्षा प्रणाली गुरुकुलीय शिक्षाप्रणाली नै हो । प्राचीन गुरुकूलमा हरेक व्यक्तिले अनिवार्य स्नातक गर्नै पर्थ्यो। गुरुकूलमा अध्ययन गरेर घर पर्किएपछि व्यक्ति स्वावलम्बनका साथ कलात्मक जीवनयापन गर्न समर्थ हुन्थे किन भने गुरुकूलमा विद्यार्थीलाई कठोर अनुशासनका साथ जीवन आनन्दसाथ बांच्ने तौर तरिकाहरु सिकाइन्थ्यो । प्राचीन गुरुकूल शिक्षा पद्धतिमा विद्या दान गरिन्थ्यो । जव भारतमा ब्रिटिस साम्राज्यको प्रभाव बढ्यो, मेकाले जस्ता पाश्चात्य विचारको प्रभुत्व जमाउन चाहनेहरुले आधुनिक शिक्षा पद्धतिका नाममा विद्यार्थीको व्यक्तिगत बौद्धिक क्षमताको मूल्यांकन नगरि एकै किसिमले पढाउने प्रणालीको विकास गरे। यो प्रणालीले विश्वमा जरो गाड्यो । परिणामत यस प्रकारको शिक्षा प्रणालीबाट आएकाहरुले आफूले आर्जन गरेको विद्या र विधाको सदुपयोग नै गर्न पाएका छैनन । धेरै धन खर्च गरेर आर्जन गरेको मेकाले शिक्षाप्रणालीबाट उत्तीर्ण भएका विद्यार्थीहरु मध्ये न्युनतम विद्यार्थीहरुले मात्र आफूले आर्जन गरेको शिक्षाको सदुपयोग गर्न सकेका छन । निरर्थक र प्रयोजनहीन शिक्षाका कारण आज विश्वमा अनेकौ युवाहरु कष्टकर मनोदशाबाट जीवन यापन गरिरहेका छन ।
प्राचीन गुरुकुलका संस्थापक ऋषि महर्षीहरुले पनि व्यक्तिले आर्जन गरेको विद्या अर्थपूर्ण र अर्थोपार्जनमा सहयोगी हुनै पर्छ भन्ने भावना नराखेका हैनन । जीवनका विविध सुखहरुमध्ये “अर्थकरी विद्या” पनि सामाजिक जीवनमा आवश्यक रहेको वताएका छन । आफ्नु र समाजको कल्याण हुने धीः (बुद्धि) र विद्या (शिक्षा) हासिल गर्नु धर्मका दस लक्षणहरु मध्येका प्रमुख लक्षण मानिन्छन । यसकारण हाम्रा क्रान्तदर्शी ऋषिमुनिहरुले शिक्षालाई अति महत्वका साथ मनन र विश्लेषण गरेर गुरुकुल स्थापना गरेका हुन । प्राचीनकालमा शिक्षा स्वतन्त्र थियो। शिक्षा राज्य र धनको नियन्त्रणमा थिएन । जव शिक्षा र शिक्षक दुवै पैसाको नियन्त्रणमा रहन्छन दुवै स्वतन्त्र हुन सक्दैनन। धनपराधीन शिक्षा र शिक्षक दुवैबाट समाज र राज्यले के पाउने ? स्वतन्त्र शिक्षाले एउटा सवल राष्ट्रिय चरित्र निर्माण गर्दछ। यस कारण ऋषियुगमा शिक्षालयमा राज्यको कुनै हस्तक्षेप हुदैनथियो । गुरुकुलमा राज्यले कुनै अनुदान दिन पर्दैन थियो। समाज आफैले गुरुकुलमा दान गरेर आफूलाई कृतकृत्य मान्दथ्यो । शासन प्रशासनले शिक्षा केन्द्रमा कहिल्यै कुनै हस्तक्षेप गदैन थियो। स्वतन्त्र शिक्षा समाजलाई सवल बनाइरहेको हुन्थ्यो ।
प्राचीन कालमा ब्राह्मण आचार्यहरुले गुरुकुलमा ब्राह्मणलाई ब्रह्मविद्याको अध्यापन गराउथे । वेद उपनिषदको गहन विषयको व्याख्यान र व्यवहारिक वर्णन गरेर गुरुहरु निर्माण गर्ने गुरुकूलले सैद्धान्तिक शिक्षामा अनिवार्य स्नातक वनाएर समाजका अन्य वर्गका कर्महरु र समाजका व्यवस्थाको धर्मपूर्वक कर्मनिर्देशनका लागि विद्वान ब्राह्मणहरु लोभरहित र त्यागपूर्वक सहभागी हुन्थे । जीवनका हरेक कार्यहरुमा धर्माचरण अनिवार्य शर्त हुन्छ। यो कुरालाई गुरुकूलमा अध्ययन गरेका स्नातक ब्राह्मणहरुले पालन गरेका हुन्थे। ब्रत, जप, तप, स्वाध्याय आदिवाट आफूलाई अपवित्र हुनबाट जोगाउथे। जानी नजानी गरिएका नराम्रा कर्महरुको प्रायश्चित्त गर्नु पर्दथ्यो । प्राचीन ब्रह्म सभ्यतामा मानिसले गर्ने हरेक कर्म परमार्थसंग जोडिनु पथ्र्यो । एक विशेष गुरुले कुनै एक विशेष दर्शनमा पोख्त बनाउन र आफ्नु गुरुपरम्परा अनुकूलको शास्त्रब्याख्या र दर्शन प्रसारका लागि पनि गुरुकूलहरुले महत्वपूर्ण भूमिका निर्वहन गरेका हुन्थे । ब्राह्मणलाई कुनै पनि विषयको आफू अनुकूल व्याख्या गर्ने अथिकार रहदैन आफ्ना आचार्यले गुरुपरम्परा अनुसार दिएको शास्त्रअनुकूलको व्याख्या ब्राह्मणले गर्नु पर्ने हुन्छ । यस कारण गुरुकुलमा विद्या अध्ययन गर्न आउने विद्यार्थीलाई गुरुले अनेक परीक्षा गरि उसको शहनशीलता, धैर्यता , सेवा भाव र बौद्धिक सामथ्र्यको सम्यक अधययन गरेर उसको क्षमता अनुसार अध्यापन गराउनु हुन्थ्यो । विद्यार्थीमा हुने भिन्न भिन्न प्रतिभाको परख गरेर आफ्नो कुल परम्परा अनुसार अध्यापन गराउने नगराउने निर्णय आचार्यमा निहित हुन्छ । विद्यार्थी फरक फरक क्षमताका हुन्छन लामु परीक्षण पछि विद्यार्थी आफूले अध्ययन गराउन योग्य छ वा छैन उसको परिवारको विगतको विद्याचेत कस्तो छ र कुन समाज वा समुदायबा आएको हो यो विषयमा अध्ययन गर्ने पूर्ण अधिकार आचार्यमै निहित हुन्थ्यो र हुनु पर्छ ।
ब्राह्मणहरु ब्रह्मविद्या क्षत्रीयहरु राजविद्या वैश्यहरु कृषि बाणिज्य र शूद्रहरु शिल्पशास्त्रको अध्ययन गर्दथे । यी विषयहरुका अध्यापक र गुरुकूल पनि अलग अलग हुने गर्दथे आ आफ्नो रुचि र क्षमता अनुसार ब्राह्मणहरु पनि आ आफ्नो विषय चुन्दथे । सवै वर्णका विद्यार्थीहरुका लागि ब्रह्मचर्य अनुशासन र नियमहरु नियत हुन्थे । प्रचीनकालमा शस्त्र शिल्प र उद्योगका लागि अचैतन्य भौतिक विज्ञानको अध्ययन गराईन्थ्यो यस विषयमा शूद्रहरु दक्ष हुन्थे । विज्ञान अचैतन्य हुन्छ भनें अध्यात्ममा चेतनाभाव रहन्छ हाल गुरुकुलमा प्रदान गरिने शिक्षा अध्यात्म शिक्षा नै हो। यस शिक्षाले अन्य कृषि बाणिज्य शिल्पशास्त्र र यसको प्रयोगमा नियन्त्रण, नियमन र धर्मपूर्वक उपयोग गर्न सिकाउछ ।
प्राचीनकालमा मर्यादित वर्ण व्यवस्था थियो । अध्यात्ममा कर्ममार्ग र भक्तिमार्ग दुई प्रकारका मार्गहरु थिए र छन पनि । अध्यत्मनिर्दिष्ट कर्ममार्गमा मर्यादित वर्णाश्रम व्यवस्थाको आवश्यकता रहन्छ तर भक्तिमार्गमा लागेकाहरु कर्मबन्धनबाट मुक्त हुने भएका कारण जातबुद्धि रहदैन । हाल वैश्विक रुपमा देखिएको विभेद परक जातबुद्धि वा छुवाछुत थिएन तर मर्यादित जातिवाद र कर्ममा भिन्नता थियो र रहिरहेको पनि छ । ब्राह्मणहरुले जति कर्म गर्दा उनीहरुको पुरुषार्थ ( मोक्ष) प्राप्त हुन्छ त्यो भन्दा अति कम कर्म गर्दा नै शूद्रहरुलाई परमपुरुषार्थ प्राप्त हुन्छ । उपनीत ब्राह्मणले त्रिकाल सन्ध्या , नित्य बलि बैश्वदेव , श्राद्ध, सदाचारपलन जस्ता कुराहरुलाई एकै पटक त्यागे पनि ठूलो दोष लाग्दछ र कठीन प्रायश्चित्त गर्नु पर्दछ । यस कारण गुरुकूल ब्राह्मणहरुलाई कठोर सदाचारपालन गराउने संस्थाहरु हुन र गुरुहरुका व्यक्तिगत अनुसन्धान र विद्यार्थीचयनमा स्वविवेक प्रयोग गर्न पाउने स्थानहरु हुन । गुरुकूलमा जातिवादका विवाद शोभनीय हुदैनन । गुरुकूल जान चाहने जो कोही पनि गुरुपरम्परा र गुरुकूल मर्यादामा अनुबद्ध हुनुपर्छ पात्रताको चयन गर्ने अधिकार गुरुमा निहित हुन्छ । गुरुकूलशिक्षा धर्मशिक्षण पद्धति हो यसकारण गुरुकुलमा प्रशासनिक हस्तक्षेप हुनुहुदैन । आचार्यको स्वविवेक सर्वोपरि हुन पाउनु गुरुकूलको सर्वाधिकार हो ।