
संसारमा रहेका सबै भौतिक पदार्थहरु क्षयधर्मा छन नासवान छन अस्थायी छन । स्थायी तत्व केवल ईश्वरमात्र हो यसैले ईश्वरलाई अक्षय भनेर भनिन्छ । अक्षय त्यही हुन्छ जो कहिल्यै नाश हुँदैन । ईश्वर बाहेक संसारमा हरेक चिजहरु नाशवान छन । क्षयधर्मा वस्तुहरु असद्भावना अहंकार काम,क्रोध,लोभ,मोह,मद,मात्सर्य र इर्स्या उत्पन्न गराउने प्रबृत्तिका हुन्छन भनें अक्षयधर्मा कर्महरु सद्भाव सकारात्मक चिन्तन, मनन दया,करुणा, मैत्री र सात्विकतातर्फ प्रवृत्त गराउने खालका हुन्छन । अक्षयधर्मा कर्महरुले हामीलाई दैवी सम्पदातर्फ डोहोर्याउँछ। जीवनमूल्यको अनुसरण र वरण गर्ने प्रेरणा प्रदान गर्दछ । बैशाख शुक्ल तृतीया तिथिलाई अक्षय तृतीया भनिनुको कारण नाशवान वस्तुहरुको उत्सर्गबाट अविनाशी तत्वप्राप्तिको सामथ्र्य र भौतिक पदार्थहरुप्रति निस्पृहताबाट अविनाशी मोक्षमार्गतर्फ प्रेरित हुन परमात्माको निर्हेतुक कृपा प्राप्त गर्ने सत्य त्रेता युगारम्भको प्रथम दिन भएकाले नै हो ।
मानव जीवनको प्रमुख लक्ष्य मोक्ष हो मोक्ष प्राप्त गर्न ईश्वरको कृपा चाहिन्छ । भनिन्छ ईश्वरकृपा मानिसलाई अकारण नै हुन्छ यानि की हाम्रा असंकल्पित अज्ञात र अनिच्छापूर्वक नै सही गरिएका पुण्यकर्मले मानवलाई सत्संगतर्फ लाग्ने ईश्वरीय चेतना प्रवाह हुन्छ । त्यही सत्संग भौतिक वस्तुप्रतिको निस्पृहता जागृत गराउने माध्यम बन्दछ अनि ब्यतिm आत्मा र ईश्वरानुभूतितर्फ लाग्दछ संसारिक र भौतिक कर्महरु कर्तव्य ठान्दछ र धर्मपूर्वक जीवनयापन , श्रमपूर्वक अर्थोपार्जन , त्यागपूर्वक उपभोग कर्तव्य निवाह गर्दछ अनि धर्म श्रम र त्यागको परिणाम अक्षय अविनाशी मोक्ष प्राप्त गर्दछ ।
अक्षय तृतीयामा विविध सामाजिक धार्मिक कृत्यहरु पनि सम्पन्न गर्ने गरिन्छ । यस दिनलाई भगवान परशुरामको अवतार दिवसका रुपमा पनि मनाइन्छ । भगवान परशुराम आठ चिरंजीवीमध्ये एक हुन । परशुरामले अत्याचारी शासकहरुको अन्त्य गररे धर्म स्थापन गरे उनी पृथ्वीमा धर्म र राजधर्म स्थापन गरेकै कारणले चिरंजीवि भए अक्षय जीवन प्राप्त गरे ।यसकारण आज पनि हामी परशुरामलाई चिरंजीवी भन्छौ दीर्घजीवनप्राप्तिका लागि पूजा गर्छौं ।
बैशाख महिना माधवमासका नामले चिनिन्छ । कुनै प्रकारका दोष रहित हुनका लागि यो महिनमा गरिएको श्नान दान जप तप अक्षय फल प्रदान गर्ने हुन्छ । माधवमास मै अक्षय तृतीयाका दिन भगवान बद्रीनाथको दर्शन खुल्छ बद्रीनाथको दर्शनपनि मोक्षमार्गमा लैजाने सहज माध्यम मानिन्छ ।

अक्षय तृतीया सनातनधर्मले स्थापना गरेको सामाजिक अर्थव्यवस्थाको एउटा अति उत्कृष्ट उदाहरणीय पर्व पनि हो । यो पर्वमा अन्न उत्पादन हुने कृषकहरुले धर्म भावना राखेर निश्वार्थ रुपमा अन्न नभएका र अनिकाल पर्ने स्थानहरुमा अन्न र पानीको व्यवस्था गर्ने नियम छ । ग्रामीण जन पथिक र विपन्नहरुलाई सेवा भावले अन्न जल व्यवस्था गरेर प्राप्त हुने अक्षय फलको कुनै बर्णन नै गर्न आवश्यक छैन । अक्षय तृतीयाकै दिन वेद विद्या र ज्ञानका उद्धारक भगवान हयग्रीवको अवतार भएको दिन पनि हो । जव राक्षसहरुले वेदलाई आफ्नो अधीनमा राखेर भौतिक विज्ञानलाईमात्र उपभोग गर्न गराउन थाले परिणमतः भौतिक सुख उपभोगका कारण प्राणीमा अन्तर्मुखी र आत्मकेन्द्रित चेतनामात्र प्रवाह हुनथाल्यो ज्ञानहीन जीवहरुमा अशान्ति बढयो। यसपछि भगवान हयग्रीवले वेदको ज्ञान स्थापना गरि प्राणीमा आत्मनिरीक्षणको अभ्यास प्रारम्भ भयो ।
अक्षय तृतीया सामाजिक समरता,आत्मनिरीक्षण ,आत्मविवेचन र आफैले आफूलाई खोज्ने पर्व हो । आफूलाई खोज्न बुझ्न र विश्लेषण गर्न अक्षय र अमरनिधि ग्रन्थ श्रीमद्भगवद्गीताको अध्ययन , पाठ र मनन अनिवार्य रुपमा गर्ने नियम छ जुन गीता ज्ञानले आत्मज्ञानसहित अक्षयफल मोक्ष प्राप्त हुन्छ । मानिस मोक्षमार्गमा प्रबृत्त हुन्छ ।