
काठमाडौं, १८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्त्री आलेले यस्तो आश्वासन दिनुभएको हो। ।
‘सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको छ । पशुपतिनाथभन्दा धेरै पूरानो रहेको जानकी मन्दिर हो,’ उहाँले भन्नुभयो , ‘म पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले अब छिट्टै नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्नका लागि आफ्नो तर्फबाट भरपूर कोशिस गरेर जुनसुकै हालतमा पनि राख्न लाग्नेछु ।’
मन्त्री आलेले नेपालकै सबभन्दा ऐतिहासिक र धार्मिक आस्था बोकेको जनकपुरधामको जानकी मन्दिरलाई आफ्नै कार्यकालमा विश्व सम्पदा सूचिमा राख्न विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
तीन वर्ष अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विवाहपञ्चमीकै दिन जनकपुरधाम आएर माता जानकीको पुजाआजा गरेको स्मरण मन्त्री आलेले गर्नुभएको हो । उहाँले नेपालमा भगवान पशुपतिनाथ जति नै जानकी मन्दिर पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
‘श्रीराम जानकी विवाहोत्सवको अवसरमा सम्पूर्ण मिथिलावासीमा शुभकामना व्यक्त गर्न चाहन्छु,’ मन्त्री आले भने, ‘ मिथिला सभ्यता भनेको हजारौं वर्ष पूरानो हो । मिथिला सभ्यता कला, संस्कृति, सँगीत, भेषभूषा लगायत हरेक क्षेत्रमा धनी रहेको छ ।’ उनले यसै विवाह पञ्चमीको दिन भारतका लाखौं भक्तजन जनकपुरधामको जानकी मन्दिरमा आएर दर्शन गर्ने गरेको उल्लेख गरे ।
मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले पनि श्रीराम जानकी विवाहोत्सवको शुभकामना मन्तव्य दिनुभएको थियो । उहाँले मिथिला संस्कृतिको चर्चा गर्दै यसको संरक्षणका लागि सबैले आआफ्नो तर्फबाट योगदान पु-याउन आग्रह गर्नुभएको थियो ।
उहाँले आफ्नो मन्त्रालयबाट हुनसक्ने सबै किसिमको सहयोग जानकी मन्दिरका निम्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाउनुभएको हो । सो कार्यक्रममा मन्त्री आलेलाई मिथिला संस्कृति समाजले मायाको चिनासमेत प्रदान गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा राम मन्दिर थापाथलीका महन्थ राम स्वरुप दास वैष्णव, साहित्यकार तथा लेखिका रेखा यादव, समाजसेवी विनोद अग्रवाल, तराई मधेश राष्ट्रिय परिषद्का संयोजक अधिवक्ता विकास कुमार ठाकुर, समाजसेवी रामप्रवेश साह, श्री माँ दुर्गा भवानी पुजा एवं हिन्दू संस्कृति परिषद्का अध्यक्ष राम शोभित नायक, साबित्री अगरबती उद्योगका प्रबन्धक पुस्कर केसी, याक एण्ड यतिका असिस्टेन्ट मेनेजर उमेश देव लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, कार्यक्रममा कार्यक्रममा मिथिलाञ्चलको संस्कृति र संस्कारलाई बचाई राख्ने संस्कृतिविद् तथा सो क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई स्रष्टा सम्मानसमेत गरिएको थियो ।
