हामीले बुझ्नै पर्ने रहस्यमय योग दर्शन

प्रस्तुति :- सुप्रभात बस्नेत




संसारको संचालन प्रकृया रहस्यमय छ । यो सर्बेन्द्रियगामी छैन । आफ्नो स्वयंको जन्म र मृत्युको अनभिज्ञता वीचको यो जीवन अन्धकारमा ढुङ्गा हानेको जस्तै अन्दाजको भरमा चल्दै आएको छ । पञ्चइन्द्रियले देखेको र अनुभवको तरतमासमा भित्र बाहिर गरिरहेको यो प्राणबायुले अडाएको शरीर लिएर जगतको स्वप्नलिल संसारमा इन्द्रिय तृप्तिको मृगतृष्णामा भौंतारिरहेको छ। पाउँछु र बन्छुको होडबाजीमा जीवनको लामो दौड शरीरको जीर्ण अवस्थामा मात्र रोकिन्छ । “अड र अफूभित्र हेर।” यो नै योगको सुरुवाती अवस्था हो ।

समयकाल हो र यसमा गति पनि छ । गतिसँग मन स्वतः स्फूरण हुन्छ । समय र मन एक अर्काको परिपूरक हुन् । एक विना अर्को रहन सक्दैन । मनको तरङ्गमा समयको गतिको भाष हुन्छ । तानाबुना बुनिरहेको मनले समयको स्वतः हेक्का राख्छ । अहो ! भूत –भविष्यका थैलाहरु मनका मानसपटलमा क्षण क्षणमा उत्पति हुँदै चित्तरुपि आकासमा विलय हुन्छ,जसरी सानो बच्चाले साबुनको फिँजको डल्ला बनाई विराट आकाशमा एक पछि अर्को गर्दै उडाएर फोकाहरु फुट्दै धरतीमा झर्छन् । “तरङ्गितबिचारको उत्पत्तिको मनको स्वरुपलाई दर्शक भएर हेर, समय अडिन्छ ।” यो नै योगको अभ्यास हो ।

मरभूमिको प्रचण्ड गर्मीमा थाकेर बसेको प्यासी बटुवालाई जलरस जति अमृत हुन्छ त्यति नै संसारको अनित्यको बोधले दिएको अतृप्तिले मानवलाई अध्यात्मको वीज फुटाईअनन्नत शान्ति र शितलताको अंकुर प्रदान गर्दछ । “बेदको सार, मायाका पार,” भन्ने जुन उक्ति पनि छ। संसार भएर पनि यो अनित्य छ । अनित्यको भएर नै यसले एकदिन दुःख ल्याउँछ। किनकि आफ्नामात्र हैन, मैले पनि एक दिन यो संसार छोड्नु पर्छ । मेरो अन्तिम दिनमा, मैले फेरिरहेको मेरो नजिकको तत्व हावा पनि फेरि तानिएर म भित्र प्राणरुपी ऊर्जाको सञ्चार दिन सक्दै। अरुको त के कुरा ? सिद्धार्थ गौतमलाई पनि शरीरको मोहमा अनित्यकोे बोध भएपछि नै उनले नित्यको खोजको लागि जीवन समर्पण गरेका थिए ।त्यसर्थ “नित्य अनित्यको बोध गर।” यो नै योगको बोध हुनु हो ।
शरीरको हाउभाउ र रुपरङ्ग भूभागको हिसाबले त हामीहरु एक अर्कामा धरै नै पृथक छौं । तर यो शारीरिक विविधताको बाहिरी खोल भन्दा मानव चित्तमा रहेको भाव भङगीमा भने सबैको एउटै छ । सबैको मनमा रहेको त्यो साझा भावभङगीमा आनन्द र शान्तिको खोज नै हो, चाहे कर्म फरक-फरक होला । त्यसैले प्रत्येक क्रियामाभावको ठूलो महत्व हुन्छ । क्रिया योगमा गरिने आसन र प्रणायम योग प्राप्तिको एक शाखा हो जसले शरीर र मनलाई शुद्द गर्दै परमात्मासँग दर्शन गराउँछ । आसनले शरीरलाई स्थिर राख्छ भने प्राणायामले मनलाई शान्त राख्दछ । जव शरीर र मन स्थिर हुन्छ तव ध्यान स्वतः घटित भई समाधिमा लिन हुनपुग्छ । महर्षि योगीपतञ्जलीले चित्तको पूर्ण रुपको अवस्थालाई नै योग भन्नुभएको छ । “मनमा बृत्तिहरु शान्त भएको अवस्था हुन्छ ।” यो नै पूर्ण योगको अवस्था हो ।

रस, रुप, गन्ध, स्पर्श र शब्द यी पञ्च तन मात्राले यो शरीरको ईन्द्रियहरुलाई मनबाट संचालित गराइरहेको छ । राम्रो देख्न मन गर्नु भुल हैन, तर नराम्रोलाई पनि स्वीकार गर्न सक्नु उच्च चेतनाको आभास हो । अध्यात्मिकताको लक्षण हो ।निर्बललाई सहयोग गर्नु बलको सदुपयोग हो भने आफूभन्दा कमजोरीलाई पेल्नु आफ्नै बलको दुरुपयोग हो । अरुलाई क्षमा दिन सक्नु सबै भन्दा ठूलो पुरुषार्थ हो भने आफूले गरेको गल्तिमा पश्चाताप गर्दै सो गल्तीको संकल्प लिनु आफूले नै आफूलाई दिएको दण्ड हो । सबै परिस्थितिहरुमाआफूभित्रको शान्ति कायम गरी समभाव ल्याउनु नै चेतनको शुद्धि हो । गीताले पनि समभावमा रहनु नै योग भनेको छ । “दुःख र सुखमा“सम”भईआफ्नो निर्दिष्ट लक्ष्यमा लाग्नुपर्छ ।” यो नै योगको बुझाइ हो ।
आकाशको पर्दा च्यातेर चिहाइरहेका देवगणहरुले मानवको दरिद्रता देखेर मुस्कुराउँदै यसो भन्दै होलान्, “हे मानव !तिमी भित्रै अनन्त आनन्दको सम्भावना बोकेर खान र लाउन पाँऊ भन्दै चिच्याइरहेका छौ ।” म राम्रो, म धनी, म ज्ञानीको मिथ्या अहं बोकेर राग र द्वेषको अन गिन्ति फोहोरमा चुर्लुम्म डुब्दै यता लुट्दै र उता झुक्काउँदै गरेको नाटकको दृश्यले हामीलाई हसाँइरहेको छ । खाउँ–खाउँ र लाउँ–लाँउको गिद्धे चरित्र मनको अज्ञानता हो ।शौच, सन्तुष्ट, तपस्या, अपरिग्रह र इश्वरको चिन्तनले सात्विक जीवन बाच्न सिकाउँछ । गीतामा भनेको छ कि सन्तुष्ट नै सबैभन्दा परम सुखको आधार हो । “आफूसँग प्राप्तभएको वस्तुमा सँधै सन्तुष्ट भई परमात्माको लक्ष्यमा शरीर रहुन्जेल अब्यभिचारी भक्ति राख्नुपर्दछ ” यो नै भक्तियोग हो ।
ऋषिमुनिहरु जङ्गल र गुफामा तपस्या गर्दा ईन्द्रियको निग्रह नै प्रमुख प्राथमिकता हुन्थ्यो र छ पनि। सायद संसारको प्राप्ति होस् या इश्वरको प्राप्ति होस् दुबैमा दुःख र कष्ट झेल्नु नै पर्छ । देखेको संसार प्राप्त भए पनि वा नभए पनि यसको दृष्टिगोचर हुने भएकोले यो ईन्द्रियविश्वासी छ । तर, इश्वरीय प्राप्ति अदृश्य छ । प्राप्त भएर पनि ईन्द्रिय गोचर छैन । जवसम्म प्राप्त हुँदैन तवसम्म शंका, अविश्वास र संसारको पछुतो हुने हुँदा देखेको संसार नै सत्य बोधले संसारमा नै मन फर्कन्छ । सम्पूर्ण शारीरिक तथा मानसिक दुःख र कष्ट हर कुरा सहेर इश्वरको प्राप्तिको लागि लागिरहनु पर्छ । “साधकले शरीरको र मनको वेगलाई सहन गर्नुपर्दछ ।” यो नै योगको तितिक्षा हो ।
जगतको मोहनी लिला मनोहर छ । दुईवटा आँखा खोल्ने वित्तकै देखिने प्रेमल प्रकृतिको सुन्दर सृष्टिहरुले जगत् सजाएको छ ।प्रकृतिको काँखमा रहेका मनोरम प्रकृतिकअवयवहरुमा हामीले गहिरो,लामो सास फेरेर एकाकार हुन सकेका छैनौं । बरफका कठ्याङ्ग्रिदो अति चिसो उच्च हिमालदेखि गर्मी समथर मरुभूमीहरु यही छन् । समतल्ल पोखिएका समुद्रदेखि खोचमा रहेका झरना र तालतलैयाहरु छन् । यो प्रकृतिको विविधतामा क्षितिजबाट उदाएको रातो गोलो सूर्यलाई छातीमा समाहित गरौं जस्तो लाग्ने, गहिरा निला आकाशमा नाचेका सेता बादलसँगअनन्त उड्न मन लाग्ने, धरतीको अटल सेता हिमालसँग एकाकार भएर टक्क अडिरहन मन लाग्ने, समथर भूमी वीचका तरेलीहरुमा टोलाइरहन मन लाग्ने, सुस्त हावाले त्वचाहरुलाई जिस्काउँदै पर भाग्ने हावावलाई समाऊ जस्तो लाग्ने प्रकृतिको प्रत्येक चाललाई गहिरो सास फेर्दै एकाकार गर्नु सक्नुपर्छ ।” यो नै योग प्राप्ति हुनु को लक्षण हो ।

TOP