काठमाडौं । नेपाली फिल्म ‘अञ्जिला’ अन्य नेपाली फिल्ममध्ये केही विशेष कारण फरक र उल्लेखनीय बन्ने सम्भावना छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्याएको छ ।चलचित्र हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको थियो ।
फिल्ममा एञ्जिला आफैं प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। बुवा फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन्। यो फिल्म एञ्जिलाको इलामदेखि राष्ट्रिय टोलीसम्मको कठिन यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । फिल्ममा केवल फुटबल यात्रा मात्र होइन । उनीसँग जोडिएको समाज, परिवार, कठिनाइ, सपना र आत्मबलको कथा सजीव रूपमा चित्रण गरिएको छ ।
धेरै नेपाली फिल्म प्रेमकथा, पारिवारिक नाटक वा हास्यप्रधान हुन्छन् । ‘अञ्जिला’ जस्तो प्रेरणादायी बायोपिकले नेपाली दर्शकलाई नयाँ प्रकारको कथावस्तु दिएको छ ।
यो फिल्मले केवल मनोरञ्जन होइन, युवाहरूलाई मिहिनेत, समर्पण र सफलता हासिल गर्ने प्रेरणा पनि दिन्छ । यो फिल्म विशेषगरी महिला खेलाडीका लागि मार्गदर्शन बन्न सक्छ, नेपाली फुटबलप्रेमी खेलकुद समर्थक र नेपाली महिलाका लागि विशेष प्रेरणाको स्रोत बन्न सक्छ ।चलचित्र आमदर्शकले सोचे भन्दा अत्यन्तै रोचक बनेको छ । सम्वादहरु चोटिला छन् ।
चलचित्रका पात्रहरुको अभिनय बेजोड छ । फुटबल खेलाडी एन्जिलाको भूमिकामा अत्यन्तै सरल छ । आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको भूमिका जीवन्त रहेको छ । बुबाको भूमिकामा माओत्से गुरुङ र साना बाको भूमिकामा दयाहाङ राई अभिनय उत्कृष्ट छ । समग्रमा, ‘अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म हो । जसले दर्शकलाई विचार र संवेदनामा पुर्याउँछ । फिल्मका कमजोरीहरूको बावजुद यसको भावनात्मक प्रभाव र निर्देशनले धेरै दर्शकहरूलाई छोएको छ । फिल्म नेपाली सिनेमा क्षेत्रमा बायोपिक विधामा एक कदम अघि बढेर प्रस्तुत गरिएको एक सफल प्रयास हो, जहाँ साँचो कथाले दर्शकलाई मनको गहिराइसम्म पुग्न सक्षम बनाएको छ ।