Thursday 22nd January 2026

रवि-बालेन एकता र बालेनको पार्टि प्रवेश- मतदाता द्विविधामा

लेखक: गिरिराज दवाडी
​नेपाली राजनीतिको रङ्गमञ्चमा अहिले एउटै चर्चा चुलिएको छ : काठमाडौँका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचको राजनीतिक मिलन। हिजोसम्म स्वतन्त्र अस्तित्व र वैकल्पिक राजनीतिको आफ्नै लयमा हिँडिरहेका यी दुई पात्रहर अहिले एउटै डुङ्गाका यात्री बन्ने अवस्थामा छन्। सात बुँदे सहमतिको चर्चासँगै कतिपयले यसलाई ‘महासंगम’ भनेका छन् भने कतिपयले यसलाई आसन्न चुनाव लक्षित ‘रणनीतिक दाउपेच’ मात्र ठानेका छन्। यसबाट उत्पन्न केही पक्षको चर्चा गरौँ :
​१. क्रेज र आशंकाको दोसाँधमा मतदाता :
​राजधानीका मतदाताले बालेनलाई र्‍याप गाउने ठिटो मात्र मान्दैन थिए ; उनलाई स्थापित दलहरूलाई चुनौती दिने एउटा ‘आँधी’ का रूपमा स्विकारिसकेका छन्। उता, रवि लामिछानेले टेलिभिजनको पर्दाबाट सिधै सत्तासम्म पुगेर आफ्नो लोकप्रियतामा चर्चा जमाएर सहकारीको मुद्दाले उनको क्रेज धुमिल हुन लाग्दो थियो । सहकारी ठगी प्रकरणमा अदालती प्रक्रिया र धरौटीमा रिहा भएका रवि र ‘जेनजी’ (Gen Z) आन्दोलनलाई छद्म सहारा दिलाएको आरोप खेपिरहेका बालेन; यी दुवै पात्रका वरिपरि अहिले प्रश्नका घेराहरू छन्। मतदाताका सामु एउटा गम्भीर प्रश्न छ: के यो एकता देशको आमूल परिवर्तनका लागि हो कि केवल राजनीतिक आयु लम्ब्याउने सुरक्षा कवच?
​२. नैतिकताको कडी र जनमतको दबाब
​सिंहदरबार जल्नु र जनताको हृदय जल्नुको पीडालाई एउटै तराजुमा राखेर हेर्ने मतदाता यतिबेला निकै सचेत छन्। इतिहासको साक्षी बनेका तिनै मतदाताले रवि लामिछानेमाथिको आरोप र बालेनको कार्यशैलीलाई नजिकबाट नियालिरहेका छन्। बालेनलाई ‘विदेशी शक्तिको गोटी’ बनेको आरोप लाग्नु र रविलाई ‘सहकारी पीडितको आँसु’ को राप लाग्नुले यो एकतालाई नैतिक रूपमा कमजोर बनाउन सक्छ।
​शान्तिप्रिय र विवेकशील मतदाता सधैं ‘परिणाम’ र ‘चरित्र’ खोज्छन्। यदि यो एकता केवल चुनावी सिट संख्या बढाउन र एक-अर्काका कमजोरी ढाकछोप गर्न गरिएको हो भने, यसले “कागलाई बेल पाक्यो, हर्ष न विस्मात” जस्तै परिणाम ल्याउन सक्छ।
​३. चुनावी नतिजा: सफल कि असफल?
​काठमाडौँको राजनीतिक अभिमतले प्रायः देशको दिशा तय गर्छ। तर, अहिलेको अन्योलपूर्ण राजनीतिमा विश्लेषकहरू पनि मौन छन्। एकातिर ‘पुराना दल’प्रतिको वितृष्णाले यी दुईलाई फाइदा पुग्न सक्छ भन्ने छन् भने अर्कोतिर यिनकै ‘विवादास्पद छवि’ ले ‘नो नट अगेन’ (No Not Again) को नारा यिनैतिर फर्कने जोखिम पनि उत्तिकै खरो छ।
​बालेनलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा अघि सार्ने रास्वपाको प्रस्तावले युवा मतदातामा केही उत्साह थप्न सक्ला, तर सतहमा देखिएका विवाद र वैदेशिक हस्तक्षेपका चर्चाले गम्भीर मतदातालाई बिच्काउन सक्छ भन्ने तर्क नेपाली मतदाका लागि मजबुत छ । मतदाता अब केवल ‘सेलेब्रिटी क्रेज’ मा मात्र बहकिने छैनन्, उनीहरूले अब ‘डेलिभरी’ र ‘इमानदारी’ को कठोर मूल्यांकन गर्नेछन् भन्ने तर्फ पनि बिचार गर्नै पर्ने देखिन्छ ।

(तस्बिर साभार : सेतोपाटी )
​रवि र बालेनको यो एकता नेपाली राजनीतिको एउटा ऐतिहासिक ‘टर्निङ प्वाइन्ट’ हुन सक्छ वा एउटा ठूलो ‘राजनीतिक बुलबुला’ मात्र। के २०८२ फाल्गुण २१ मा हुने चुनाव अघि नै उनीहरूले आफूमाथि लागेका आरोपहरूको स्पष्ट चित्तबुझ्दो छिनोफानो दिन सक्लान त ? जनताको बदलिँदो मनोविज्ञानलाई इमानदारीपूर्वक सम्बोधन गरिएन भने चुनावी नतिजा कस्को पक्षमा आउन सक्छ यसै भन्न त सकिएन । तर पनि यी दुईको बिलय वा एकिकरणको चर्चाको शिखर कता लत्रिने वा उरालिने हो, नेपालको राजनीति कता वटारिने यसै भन्न त सकिएन । तर जनजनको चर्चा र सन्जालको तालीले मात्र मतपेटिका भरिँदैन, त्यसका लागि विश्वासको जग बलियो हुनुपर्छ भन्न चै सकिने भयो । बाँकी आगामी समयले बताउला।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...