नेपाल हिन्दू समाजद्वारा गुम्बाहरूमा हातहतियार लुकाएको आरोप माथि खण्डन


नेपाल हिन्दु समाजले पत्रकार सम्मेलन गर्दै गुम्बाहरूमा हातहतियार लुकाएर राखिएका छन् भन्दै आरोप लगाउने कार्य निकै दुखद भएको भन्दै खेद ब्यक्त गरेको छ। जारी विज्ञप्तिमा भनिएको छ :”बुद्ध जन्मेको देश भनेर संसारले नेपाललाई चिनेको छ । यस कुरामा हामी सबै नेपालीले गर्व पनि गर्दछौँ । तसर्थ नेपाललाई बुद्ध शिक्षाको केन्द्र बनाउनुपर्छ भनेर सबैले पहलकदमी लिनुपर्ने ठाउँमा बौद्ध शिक्षाको केन्द्र गुम्बाहरूमा हातहतियार लुकाएर राखिएका छन् भन्दै आरोप लगाउने कार्य निकै दुखद छ ।”
केही समय यता केही मानिसहरूले यस प्रकारको संगीन आरोप लगाइराखेको कुरामा समाजको ध्याकर्षण भएको जनाएको छ। गुम्बा जस्ता पवित्र स्थलहरूमा हातहतियार लुकाएर राखिएको भन्नेहरूले बौद्ध धर्मको महत्व र महिमाको अनादर गर्दै बौद्ध आस्थामाथि ठाडो प्रहार गरेको हो भन्ने रूपमा हामीले बुझेका छौँ – पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको बिज्ञप्तिमा उल्लेख छ।”यी आधारहीन, कपोलकल्पित तथा असह्य आरोप हुन् भन्ने हाम्रो निष्कर्ष छ । हामी यस्ता मनगढन्त आरोपको कडा निन्दा र खण्डन गर्न चाहन्छौँ । यस्ता आरोपहरूले बौद्ध धर्मगुरुहरूका साथै बौद्ध धर्मावलम्बीहरूमा पर्न गएको आघातले हामी पनि दुःखी छौं ।जसले यसप्रकारका आरोप लगाइरहेका छन्, तिनीहरूले नेपालमा सदियौंदेखि हिन्दू-बौद्ध समुदाय बीच कायम रहीआएको मेलमिलाप, सद्भाव र सौहार्दतालाई भत्काउन चाहेको तथा हिन्दू-बौद्ध बीच एकापसमा घृणा र द्वन्द्व रोप्ने प्रयास गरिरहेको हाम्रो बुझाइ छ ।”
समाजले विज्ञप्तिमार्फत् जो जसले गुम्बामा हतियार राखेको आरोप लगाएका छन्, ती ती पात्रहरूले आफूसँग रहेको प्रमाणद्वारा सावित गर्न सार्वजनिक आह्वान पनि गरेको छ। सावित भएको खण्डमा बौद्ध गुरुहरू मिलेर त्यस्ता गुम्बालाई कारवाही गर्न नेपाल सरकारसँग साझा अनुरोध पनि गरिएको छ। यदि विना प्रमाण अफवाह र आशंकाको भरमा यस्तो संगीन आरोप लगाइएको हो भने सार्वजनिक रूपमै माफी मागेर गलती सच्याउन यसै विज्ञप्तिमार्फत्आ ग्रह गरिएको छ।
धार्मिक अभियन्ता पुष्पराज पुरुषले कवचसंग कुरा गर्दै भन्नुभयो -यदि यी कुराहरू सत्य भएमा बौद्ध धर्मगुरुहरूसंग सहकार्य गरेर संयुक्त रूपमा यस्ता अवाञ्छित पात्रहरू विरुद्ध कानूनी कारवाहीको लागि अगाडि बढ्‌नेछौँ । पुरुषले भन्नुभयो – गुम्बा प्रवेशका आफ्नै नियम, विधिविधानहरू हुन्छन् । जसले गुम्बाका नियम, विधिविधानहरू पालन गर्दछन् त्यस्ता व्यक्तिले सहजै गुम्बामा प्रवेश गर्न सक्दछन् ।
विशेषतः बौद्ध शिक्षाको अध्ययनका लागि, गुरुबाट दीक्षा र शिक्षा प्राप्त गर्नका लागि, ध्यान इत्यादि साधना सिक्न र अभ्यास गर्न गुम्बाका ढोका सबैका लागि सधैं खुला रहन्छन् । गुम्बाहरू शान्त धार्मिक स्थल हुन् त्यसैले गुम्बामा अनावश्यक भीडभाड, होहल्ला आदि कार्य सधैं निषेधित नै हुन्छन् । यसै कुरालाई रहस्यमय बनाउँदै अफवाह तथा गुम्बाको पवित्रता विरुद्ध भ्रामक कुराहरू फैलाउने कार्यको घोर भत्सर्ना गर्दछौँ-पुरुषले उल्लेख गर्नुभयो।