काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभर हड्ताल सुरु हुने जानकारी दिएको हो।
शिक्षा ऐनको सुधार र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्नका लागि सरकारमाथि दबाब दिन यो हड्ताल गरिएको छ।
शैक्षिक हडतालकाे क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ। यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
यस अवधिमा कुनै शैक्षिक गतिविधि जस्तै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार आदि नगर्ने अपिल गरिएको छ।