महोत्तरी । महोत्तरीसहित मधेशका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ ।चैती छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ व्रतालुहरुले अस्ताउँदो सूर्य र छठी मातालाइ अर्घ दिँदैछन् ।चैती छठको मुख्य दिन व्रतालुुले बिहीबार षष्ठी तिथिका दिन निराहार व्रत शुरु गरेका छन्। पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ।
आज साँझ नै व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन् । जलाशयमा बनाइएका घाटहरूरु अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यसपालिको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ ।
चैती छठ पर्वका लागि रौतहटको विभिन्न नदि, पोखरी तथा जलासय सरसफाई गरिएको छ । तराई मधेसबासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गरिन्छ । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।