चारदेशीय टी–२० आई सिरिजमा नामिबियासँग नेपाल पराजित  

काठमाडौं| चार देशीय महिला टी–२० क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा पनि नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक ३१ रन बनाइन् । यसैगरी कप्तान इन्दु बर्मा र पूजा महतोले समान १५ रन जोडे । कविता जोशी १७ रनमा नटआउट रहँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

जारी खेलमा नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् ।  बलिङमा नामिबियाकी एभलिन केजारुकुआले सर्वाधिक २ विकेट लिएकी छन् ।

त्यसअघिको दुई खेलमा पनि नेपाल पराजय भएको थियो । आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युगान्डालाई एक विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । यो सँगै नेपालको तेस्रो हार हो ।