दूरसञ्चारसम्बन्धी कानुन परिमार्जन गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारसम्बन्धी कानुन परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।

ललितपुरमा बिहीबार टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर अफ टेलिकम्युनिकेसन्स इनसाइट्स अन पोलिसी एन्ड इनोभेसन’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले  मन्त्रालयले यो वर्ष भित्र दूरसञ्चारको पुरानो ऐन संशोधन गरेर नयाँ ऐन ल्याउने र रूपान्तरण हुने बताएका हुन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले नीति परिमार्जन सँगै दूरसञ्चारको गति प्रभावकारी बनाउन टेक्नोलोजी जेनेरेसन समेत पच्छ्याउनु पर्ने बताए । उनले फो जी लाई देशभर पुर्‍याउने र फाइभ जीको सुरुवात गर्ने मन्त्रालयको प्रतिबद्धता रहेको सुनाए । अबको पुस्ता प्रविधिको गति सँगै हिँडेन भने विकासको दृष्टिले पछि पर्ने धारणा राख्दै मन्त्री गुरुङले डिजीटल विकासमा मन्त्रालयका गतिविधि केन्द्रीत हुने विश्वास व्यक्त गरे । “सेकेन्ड सेकेन्डमा प्रविधिको विकास बढ्दैछ”, उनले भने,“यो गति पच्छ्याउन सकिएन भने हामी डिजीटिल विकासका हिसाबले पछि परिन्छ ।”

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सेवाप्रदायकबाट अनुरोध आए फाइभजी प्रविधि कार्यान्वयनका लागि तयार रहेको र यसलाई फास्ट टर्याकमा कार्यान्वयनमा गर्न सकिने धारणा राखे । 

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा तयार भएको भन्दै उनले सरोकारवालासँग छलफल गरी अघि बढाउने जानकारी दिए ।