पशुपति क्षेत्रमा मदिरा,नशालु पदार्थ र माछामासु निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर हिजोदेखि तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्पादन, बिक्री तथा सेवनमा निषेध गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)-२०८१ लाई मध्यनजर गर्दै यही मंसिर १३ देखि १५ गतेसम्मका लागि माछामासु, मदिरा तथा नशालुपदार्थहरू उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी निषेध गरिएको जानकारी दिए ।
“बालाचतुर्दशी पर्वको सुरक्षाका लागि पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षालगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राखे उद्देश्यले देहाएका चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालुपदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३)बमोजिम पूर्णरूपमा रोक लगाइएको छ ।”

“कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही भइजाने बेहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको छ,” जिल्ला प्रशासन कार्यालय,काठमाडौंबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।