लघुकथाकार खेमराज पोखरेलको लघुकथासँग्रह ‘एकालाप’माथि परिचर्चा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सात विभिन्न समालोचकले कृतिभित्रका ७१ कथाको चिरफार गरे ।
शनिबार लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार अशेष मल्लले ११ कथाको टिप्पणी गर्दै पोखरेलको कथाशैलीको प्रशंसा गरे । उनले लघुकथामा सौन्दर्य विशेष रूपमा रहनुपर्नेमा जोड दिँदै कृतिभित्र केही कथा नराखेको भए हुने बताए ।
डा.शेखरकुमार श्रेष्ठले १० कथाको चर्चा गर्दै पोखरेलका रचनामा अमेरिकी नेपाली र यहाँको नेपाली समाज देखिने बताउँदै लघुकथामा नविनता भएको उल्लेख गरे । अर्का चर्चाकार विधान आचार्यले पोखरेलले जीवनको जास्तविकतालाई लघुकथामा समातेको र लघुकथाकार खुला समाजका पक्षधर देखिएको बताए ।
समीक्षक युवराज मैनालीले एकालापमा अमेरिकामा नेपालीको मनोदशा स्पष्ट देखिने बताउँदै अमेरिकी स्वच्छन्द शैलीमा लघुकथाहरु आएको उल्लेख गरे । प्रा. डा.भरत भट्टराईले लघुकथाभित्र शैक्षिक बेथिति पनि प्रस्तुत भएको भन्दै यसमा नयाँ प्रयोग गरिएको बताए ।उनले प्रतिकात्मक लघुकथाहरुमा व्यँगचेत पनि प्रचुर रहेको उल्लेख गरे ।
यौनका कुरा लघुकथाका विषयवस्तु बनेको भन्दै ठाकुरप्रसाद शर्माले कथामा निष्कर्ष प्रभावकारी बनेर आएको बताए ।
प्रा.डा.कुमारप्रसाद कोइरालाले एकलापमागि टिप्पणी गर्दै यथार्थवादी शैलीमा दैनिकीहरु पोखिएको बताउँदै श्वैरकल्पना,लाक्षाणिक र प्रतिकात्मकताको त्रिवेणी पोखरेलका कथा भएको चर्चा गरे ।नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कृतिकार पोखरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, सुमन सौरभ, रामप्रसाद पन्त, डा.दिनबन्धु शर्मा,मोहन सिटौला ,माधव घिमिरे ‘अटल’लगायतले आफ्नो मन्तब्य ब्यक्त गरे ।