रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले आज लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अदालतको अनुमतिपछि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी कास्की लैजाने प्रहरीको तयारी छ ।

प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले थुनामा छन् ।

जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन् । उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ पर्न लागेको भन्दै रास्वपाले पार्टी कार्यालयमा कार्यकर्ताहरूको आकस्मिक भेला बोलाएको छ । कार्यकर्ताहरू पार्टी कार्यालयमा जम्मा भइसकेका छन् ।  सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थली पुगिसकेका छन् ।