नेपाल स्रष्टा समाजको अध्यक्षमा पुन: श्रीओम श्रेष्ठ ‘रोदन’ निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ ‘रोदन’ निर्विरोध निर्वाचित भएका छन् ।समाजको आज सम्पन्न १८ औं साधारण सभा तथा १० औं अधिवेशनबाट बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित भएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति,कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले ‘रोदन’को नेतृत्वमा आगामी २ वर्षको निम्ति उपाध्यक्ष डा.षडानन्द कंडेल,महासचिव देविका तिमिल्सिना,कोषाध्यक्ष तारा सुवेदी,सचिव प्रकाश घायल र सदस्यहरुमा मधु पाठक,माधव विडारी,रञ्जना निरौला,डा.शान्तिमाया गिरी निर्विरोध निर्वाचित भए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने उक्त सभा एवं अधिवेशनको पानसमा दीप प्रज्ज्वलित गरी उद्घाटन गरेको उक्त कार्यक्रममा उद्घाटन मन्तव्य ब्यक्त गर्दै प्रमुख अतिथि बैरागी काइँलाले नेपाली साहित्यको उत्थान र विकासमा धेरै काम गरेको भन्दै समाजले विदेशमा साहित्यिक र संस्कृतिको सम्बन्ध मजबुद बनाउन लागि परेकोमा खुशी व्यक्त गरे ।समाजले गैह्र सरकारी स्तरबाट भारत,बंगलादेश,चीन लगायतका छिमेकी मूलुकहरु बिच साहित्यिक भ्रमणसँगै आदानप्रदान भैरहेको कार्यको निम्ति प्रशंसा व्यक्त गरे ।

खुला सत्रमा नेपाल बंगलादेश फ्रेन्डसिप सोसाइटीका अध्यक्ष लायन मसुर मोहमदले दुई देशको भाषा साहित्यमा अनुभवको आदानप्रदान सहित भाषा साहित्यमा सहकार्य भैरहेको बताउँदै बंगलादेशमा हमेशा नेपाली साहित्यकारहरुको स्वागतार्थ तत्पर रहेको बताउँदै अधिवेशनको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे ।
अर्का अतिथि बरिष्ठ साहित्यिक पत्रकारद्धय, समाजका सल्लाहकार रोचक घिमिरे, नगेन्द्र राज शर्माले शुभकामना मन्तब्य राखे ।

यसैगरी पूर्व बंगलादेशका राजदुत तथा अनुवादक एवं लेखक मसुद मननले नेपाल र बंगलादेशबिच भएको धार्मिक,साँस्कृतिक,भाषा साहित्यको विचमा समानता रहेको धारणा राख्दै अधिवेशनको भव्य सफलताको निम्ति शुभकामना व्यक्त गरे ।

बंगलादेश दुताबासका प्रथम सचिव हुमायुन कबिरले शुभकामना ब्यक्त गरे । कार्यक्रममा चिनियाँ साँस्कृतिक केन्द्रले पठाएको लिखित शुभकामना मन्तव्य बाचन गरेर सुनाइएको थियो ।

विदेशी पाहुनाहरुलाई उद्घाटन सत्रमा प्रमुख अतिथिबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।
समाजका उपाध्यक्ष चेतनाथ कंडेलले स्वागत मन्तब्य व्यक्त गरेकोउद्घाटन सत्रको अध्यक्षता सँस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए भने सञ्चालन महासचिव देविका तिमिल्सिनाले गरेका थिए ।
बन्दसत्रले महासचिवको प्रगतिप्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो भने विधान शंसोधन समितिले पेश गरेको शंसोधन प्रस्ताव समेत पास गरेको थियो ।

बन्दसत्रमा निर्वाचन समितिका सँयोजक पवन आलोक,सदस्य विधान आचार्य र प्रा.डा.लक्ष्मणप्रसाद गौतम रहनुभएको थियो ।
निर्विरोध निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समिति संयोजकले प्रमाणपत्र वितरण गरी सपथ ग्रहण गराउनु भएको थियो ।