सापसले साधक र कलाकारको अभिनन्दन गरेर ५३ औं स्थापना दिवस मनायो

काठमाडौ । साहित्यिक पत्रकार संघले आफ्नो ५३ औं स्थापना दिवस साहित्यिक साधकहरु तथा कलाकारहरुलाई अभिनन्दन,सम्मान र पुरस्कृत गरेर मनायो ।


मंगलबार आयोजित उक्त कार्यक्रममा साहित्यकारहरु तेजेश्वरबाबु ग्वँग,रोचक घिमिरे,कालीप्रसाद रिजाल,भागीरथी श्रेष्ठ,रामबाबु सुवेदी र डा.दुवस क्षेत्री तथा कलाकार तर्फ बसुन्धरा भुसाललाई अभिनन्दित गरेको छ ।

यसैगरी सम्मानित हुने अन्य स्रष्टाहरुमा देवीभक्त श्रेष्ठ,सविता श्रेष्ठ बेहोसी तथा बाबुराम श्रेष्ठ रहेका छन् ।
सोही कार्यक्रममा व्यथित काव्य सम्मानबाट मणि लोहनी र व्यथित काव्य डायस्पोरा सम्मानबाट सुरेन उप्रेती सम्मानित भए भने लोकप्रिया पुरस्कारबाट लीलादेबी श्रेष्ठ पुरस्कृत भइन् ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि के.के.कर्माचार्यले पानसमा द्धिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।


समालोचक प्रा.डा.गोविन्दराज भट्टराई,प्रा.डा.सुरेन्द्र के.सी.,प्राज्ञ माया ठकुरी,प्राज्ञ उन्नति शिला बोहोरा,समालोचक प्रमोद प्रधान,गीतकार शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ,नेपाल स्रष्टा समाजका अध्यक्ष बरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदन,प्रा.डा. गोविन्दमानसिंह कार्की,वरिष्ठ कलाकार मदनदास श्रेष्ठ,मिथिला शर्मा लगायत थुप्रै साहित्यकार र कलाकारको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता सापसका अध्यक्ष राधेश्याम लेकालीले गर्नुभएको थियो ।


प्रमुख अतिथिको आसनबाट बोल्दै के.के.कर्माचार्यले साहित्यिक पत्रकार संघको ऐतिहासिकताको स्मरण गर्दै अभिनन्दित,पुरस्कृत र सम्मानित हुनेहरुलाई बधाई ज्ञापन गरेका थिए ।

प्रा.डा. गोविन्दमानसिह कार्कीले सम्मानित र पुरस्कृत हुनेहरुको व्यक्तित्व र कृतित्वको बारेमा चर्चा गर्नुभएको थियो ।
अभिनन्दित हुनेमध्येबाट सर्जकहरु रोचक घिमिरे,लीलादेवी श्रेष्ठ,बसुन्धरा भुषाल,देवीभक्त श्रेष्ठ,रामबाबु सुवेदी,भागीरथी श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।


बालकलाकार रञ्जना थपलियाको सुन्दर नृत्यले सबैको ध्यान खिचेको उक्त कार्यक्रममा स्वागत मन्तव्य सापसका कोषाध्यक्ष पद्यमावती सिंंह र सञ्चालन श्रीबाबु कार्कीले गरेका थिए । कार्यक्रम प्रज्ञा प्रतिष्ठान,कमलादीमा भएको थियो ।