
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा ‘ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग’ सम्बन्धी विषयको दुई दिने गोष्ठी शुक्रबार सम्पन्न भएको छ। वाल्मीकि विद्यापीठ ज्योतिष विभाग र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आयोेजित गोष्ठी आधुनिक प्रविधिको उच्चतम उपयोग गर्दै ज्योतिषीय विषयको शिक्षण गर्नुपर्ने र प्रयोगात्मक सिकाइलाई पनि जोड दिनुपर्ने लगायतका ज्योतिषसम्बद्ध विषयमा केन्द्रित रह्यो । प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले संस्कृतभित्र लुकेकोे विशाल ज्ञानराशिलाई बाहिर प्रकट गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । संस्कृत शिक्षाको विकासप्रति सबैजसोको सद्भाव रहेको उल्लेख गर्दै उहाँले यसलाई थप प्रभावशाली रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । प्रा. डा. अधिकारीले भन्नुभयो, ‘संस्कृत शिक्षाको बारेमा कुरा गर्दा कसैले पनि विरोध गर्दैनन् । यसले सबैको सद्भाव, सहानुभूति र माया पाएको छ । नेपाल सरकार पनि संस्कृत संस्कृतमैत्री भएकाले संस्कृतविद्याका महत्त्वपूर्ण ज्ञानराशिलाई हरेक विभाग र विद्यापीठले बाहिर ल्याउनुपर्छ । अनुदान आयोग त्यसमा हरेक किमिसबाट साथ दिन तयार छ ।’कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीले विश्वविद्यालयसँगै ज्योतिष शिक्षण पनि प्रविधिमैत्री हुनुपर्ने बताउनुभयो । अधिकारीले अबको केही समयमै विश्वविद्यालय डिजिटल युगमा प्रवेश गर्न लागेको उल्लेख गर्दै ज्योतिषशास्त्रको शिक्षण सिकाइ पनि आधुनिक र प्रयोगात्मक तरिकाबाट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संस्कृत शिक्षाको बारेमा कुरा गर्दा कसैले पनि विरोध गर्दैनन् । यसले सबैको सद्भाव, सहानुभूति र माया पाएको छ । नेपाल सरकार पनि संस्कृत संस्कृतमैत्री भएकाले संस्कृतविद्याका महत्त्वपूर्ण ज्ञानराशिलाई हरेक विभाग र विद्यापीठले बाहिर ल्याउनुपर्छ । उद्घाटन तथा समापन दुबै सत्रको अध्यक्षता गर्नुभएका वाल्मीकि विद्यापीठ, ज्योतिष विभागका विभागाध्यक्ष प्रा. धनेश्वर नेपालले आधुनिक प्रविधिको उच्चतम उपयोग गर्दै ज्योतिषीय विषयको शिक्षण गर्नुपर्ने र प्रयोगात्मक सिकाइलाई पनि जोड दिनुपर्नेलगायत विषयमा गोष्ठी केन्द्रित रहेको जानकारी गराउनुभयो। वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकालले नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिषशास्त्र पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको र यस क्षेत्रलाई गुणात्मक ढंगबाट पनि विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । समारोहका अर्का वक्ता प्रा. डा. नारायण गौतमले ज्योतिषशास्त्र बिना हाम्रा कुनै पनि व्यवहार नचल्ने भएको उल्लेख गर्दै पुराना शास्त्रहरू अध्ययन गर्ने मात्र होइन नयाँ-नयाँ सिद्धान्त प्रतिपादन गर्नेतर्फ पनि यस क्षेत्रका विद्वान्हरू अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले ‘शास्त्रीस्तरीय ज्योतिष शिक्षण र शिक्षण सामग्री’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सिद्धान्त ज्योतिष र फलित ज्योतिषमा पढाइ हुने विभिन्न विषयहरूलाई तिनको प्रकृतिअनुसार छुट्टाछुट्टै शिक्षण विधि र सामग्रीको उपयोग गरेर शिक्षण गर्नुपर्नेमा प्रा. अधिकारीको जोड थियो । यसैगरी उक्त समारोहमा डा. नारायणप्रसाद निरौलाले ‘ज्योतिषमा प्रविधि’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रविधिले फड्को मारेको अहिलेको युगलाई स्मरण गराउँदै डा. निरौलाले ज्योतिषशास्त्रलाई पनि नयाँ प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रविधिसँग नजोडिए ज्योतिषको अस्तित्वसमेत धरापमा पर्नेतर्फ सचेत गराउँदै उहाँले कम्प्युटर प्रविधिको उपयोगले छोटो समयमै बढीभन्दा बढी ज्ञान आर्जन गर्न सकिने कुरा उल्लेख गर्नुभयो । त्यस्तै कार्यक्रममा उपप्रा. हरिप्रसाद पौडेलले ‘फलादेशमा प्रविधिको प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्दै फलादेश विधिलाई प्रविधिसँग जोड्न सकिने धारणा प्रस्तुत गर्नुभएको थियो । ज्योतिषशास्त्रका विद्वान् प्रा.डा. साम्बराज आचार्यले कार्यपत्र माथि टिप्पणी गर्नुभयो ।

उद्घाटन पश्चात् दोश्रो सत्र गोविन्द सापकोटाको प्रविधिद्वारा सूर्यसिद्धान्तीय ग्रह गणित प्रयोग’ विषयक कार्यपत्रको प्रस्तुतिबाट भएको थियो । प्रा. श्रीकृष्ण अधिकारीको अध्यक्षतामा सञ्चालित यस सत्रमा दोस्रो कार्यपत्रका रूपमा डा. पुरुषोत्तम भट्टराईद्वारा लिखित व्रतबन्ध र विवाह संस्कारमा मुहूर्तनिर्धारणको शास्त्रीय व्यवस्था र नेपाली परम्परामा देखिएको भिन्नता एवं एकरुपताको उपाय’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियोे । ज्योतिषविद्याको लोकप्रियता बढ्दै गइरहेको वर्तमान परिवेशमा लोकविश्वास कायम राख्न सबै ज्योतिषीहरू सजग रहनुपर्ने तथ्य कार्यक्रमका सबैजसो वक्ताहरूको जोड थियो । बिहीबारकोे कार्यक्रममा ने.सं. वि. का पूर्वकुलसचिव प्रा. जगतप्रसाद उपाध्याय, ने.सं.वि.प्रा.संघका पूर्व सभापति डा. शान्तिकृष्ण अधिकारी, अनुसन्धान केन्द्रका पूर्व निर्देशक डा काशिनाथ न्यौैपाने, आध्यात्मिक पत्रकार समाजका अध्यक्ष शिरोमणि दवाडी, ने.सं. वि कर्मचारी संघका अध्यक्ष रमेशप्रसाद जोशी, ने.सं. वि. कार्यकारी परिषद्का सदस्य अनोज कुमार खत्रीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । उपप्रा. उपेन्द्रप्रसाद भट्टराईको संयोजनमा वैदिक मंगलाचरणपूर्वक सुरु भएको गोष्ठीलाई प्रा.डा. जयन्त आचार्यले पूर्णतया संयोजन गर्नुभएको थियो ।गोष्ठीको अन्तिम दिन शुक्रबार प्रा.डा. धनेश्वर नेपालले ‘मानव जीवनमा ग्रहको प्रभाव र महत्त्व’, डा. जयन्त आचार्यको ‘ज्योतिषमा धूपघडीको उपयोगिता’ उपप्राध्यापक कपिलदेव भट्टराईले ‘अधिमास-क्षयमास विवेचना ,र उपप्राध्यापक तनुजा दाहालले जातकशास्त्रको शिक्षण विधि र समस्याहरू’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र माथि उप-प्राध्यापक डा.माधव राज पाण्डेय लगायतले टिप्पणी गर्नुभयो ।