सहभोजमै कवचको नयाँ अंक सार्वजनिक,धर्म रक्षाका लागि जनतै जागरुक हुनुपर्ने बक्ताको भनाइ ।

नेपाल गृहस्थ धर्मसेवा सदनले आज काठमाडौंमा  ‘सहभोज कार्यक्रम आयोजना गरी जातिय बिभेदका घटना बढिरहेका बेला समानताको सन्देश दिएको छ। सोही अवसरमा पत्रकार सम्मेलन गरी आयोजक संस्थाले शास्त्रीय मान्यता र धर्म ग्रन्थले कतै जातिय बिभेदको कुरा नउठाइ समानताको सन्देश दिएको कुरा कार्यपत्र मार्फत सार्वजनिक गरेको छ। सदनका अध्यक्ष तुलसीराम पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै एक दशक पहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहेको जानकारी दिनुभयो ।  नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्ने बताउनुभएको छ ।  उहाँले पछिल्लो समय विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बढेको भन्दै त्यसलाई रोक्नका लागि जनस्तरबाटै पहलकदमी लिनुपर्ने बताउनुभएको हो । “धर्मका बारेमा ज्ञान भएको नेतृत्व अहिले मुलुकलाई चाहिएको छ”, उहाँले भन्नुभयो । पूर्वरक्षामन्त्री प्रधानले परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व भएको बतानुभयो ।
काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले धर्मको रक्षा गर्ने दायित्व जनताको भएको बताउनुभयो । धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाउने उहाँको भनाइ थियो । रिपोर्टर्स क्बल नेपालका अध्यक्ष ऋषि धमलाले घरघरबाट जातीय विवेदको अन्त्य नगरेसम्म छुवाछुतमुक्त देश बन्न नसक्ने धारणा राख्नुभयो । विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले धर्मको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
सोही अवसरमा एक्सन डेभलपमेन्ट सेन्टरले प्रकाशन गर्दै आएको आध्यात्मिक पत्रीका कवचको नयाँ अंक सार्वजनिक गरिएको थियो। पत्रीकाका सम्पादक शिरोमणि दवाडीले कोभिड महामारीका कारण प्रकाशन अवरुद्ध भएको पत्रिका आजैबाट पुन: सुचारु गरिएको र अब यसलाई नियमित अनलाइनमा लाने जानकारी गराउनुभयो।