यो बर्षकै एकमात्र सूर्य ग्रहण : कुन राशिलाई लाभ,कुन राशिलाई हानी ?

२०७७ साल आषाढ ७ गते,कृष्णपक्ष औँसी, तिथिका  दिन खण्डग्रास सूर्य ग्रहण लाग्दैछ ।  सूर्यमा लाग्ने ग्रहण आआफ्नो देश अनुसारको समय फरक हुनेछ। नेपालमा  बिहान १०ः५० देखि सुरु हुने देखिन्छ । ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे हुनेछ ।  ग्रहण मोक्ष अर्थात् ग्रहण दिउँसो २ः२३  हुनेछ ।नेपालमा आइतबार लाग्ने खण्डग्रास सूर्य ग्रहणले ३ घण्टा ३३ मिनेट समय लिनेछ। खगोल बिज्ञान अनुसार ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रुपमा मान्ने गरिन्छ । सूर्य ग्रहणमा ४ प्रहर ( १२ घण्टा ) र चन्द्र्ग्रहणको समयमा ३ प्रहर ( ९ घण्टा ) अगाडि नै सूतक लाग्ने गर्दछ । यसकारण ७ गते लाग्ने खण्डग्रास सूर्य ग्रहणको सूतक समय ६ गते राति १०ः५० बजेदेखि नै शुरु हुने भएकाले ६ गते राति १०ः५० देखि नै  बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ । यस ग्रहणलाइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भूटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका,  अष्ट्रेलिया, अमेरिकाका केही भूभाग, अन्टार्टिका साउदी अरब, कङ्गो, इथोपिया लगायत युरोप, एशिया महाद्विपका विभिन्न देशहरुबाट समेत देख्न सकिन्छ । त्यस्तै नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो। यो वर्ष नेपालबाट अरु कुनै पनि ग्रहण देखिने छैनन्। ग्रहण सधैं चन्द्रमामा र सूर्यमा मात्र लाग्छ । ग्रहण लागेको समयमा चन्द्र र सूर्य कमजोर हुन्छन् । ज्योतिष शास्त्रमा सूर्य आत्मा र चन्द्रमा मनसँग सम्वन्ध राख्ने कुरा बर्णन गरेको पाइन्छ । तसर्थ यो समयमा आत्मविश्वास प्रदान गर्ने ग्रहहरु कमजोर हुँदा काममा बाधा पुग्छ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।सूर्य वा चन्द्रमाको पुरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ । त्यस्तै कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पुरै भाग छायाँमा पर्नुलाई ग्रस्तोदित या खग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ । आइतबार हाम्रो देशमा लाग्ने ग्रहण पनि खण्डग्रास सूर्य ग्रहण हो । चन्द्रग्रहण पूर्णिमा तिथिमा र सूर्य ग्रहण औँसी तिथिमा लाग्दछ । ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । आइतबारको सूर्य ग्रहण मेष राशीलाई श्रीप्राप्ती,वृष : क्षति,मिथुन : घात,कर्कट :व्यय,सिंह : लाभ,कन्या : सुखम्,तुला : माननाश, वृश्चिक : कष्ट,धनु : स्त्रीपीडा,मकर : सौख्यम्,कुम्भ : चिन्ता, मीन व्यथा हुने देखिन्छ ।समग्रमा  आइतबारको ग्रहणको फल मेष, सिंह, कन्या, र मकर राशिलाई शुभ र अन्य राशिलाई अशुभ देखिन्छ । आध्यात्मिक तथा ज्योतिषिय मान्यता अनुसार ग्रहणका बेला एकाग्र मनले भगवानको आराधना, जप गर्ने र ग्रहण सकिएपछि नुहाइधुवाइ गरी चोखिने चलन छ।