बोधिचित्तको महत्व र बौद्धधर्मालम्बीहरूमा यसको प्रभाव

बोधिचित्त

पृष्ठभूमि:-

लेखक – डा.गौतम वीर वज्राचार्य

सम्यक् सम्बुद्धले लोकका सर्वसत्व प्राणिहरुको उद्धारको संकल्प लिएका थिए । उनले एकान्त आत्मा—सुखको उत्सर्ग गरेर एकान्त समाधि ,सुखको त्याग गरी लोकमा धर्मोपदेश रुपी अमृत—दुदुंभी बजाउने निश्चय गरे। उनी यही संकल्प र निर्णयले नै त्यो चट्टान बन्नपुगे जस्मा बोधिसत्वको सम्पूर्ण सिद्धान्त मुखरित हुनपुगेको छ । आत्मार्थलाई परित्याग गर्दै परार्थको सिद्धिका लागि सम्पूर्ण जीवन उत्सर्ग गर्नुमा तथागतको अन्तरस्कन्धमा पलाएको बोधिचित्त प्रमुख कारक थियो ।बोधिचित्तको चर्या महाकरुणा—पुरस्सर रहेको हुन्छ, अतः महाकरुणा नै उसको प्रारम्भ बिन्दु हो । जीव नै त्यस करुणाको पात्र हो । दुःखित जीवहरुको आलम्बन गरि नै करुणा प्रवृत्त भएको हुन्छ । यसर्थ बोधिको अर्थ ज्ञानको परिपक्कोटा, सम्यक् ज्ञान अर्थात बुद्धत्वको अवस्था हो । चित्तको अर्थ चेतना । बोधिज्ञान तर्फ उन्मुख चित्त, दृढ निश्चय अर्थात अधिष्ठान पूर्वक संम्बोधि प्राप्ति तर्फ प्रबित्त चित्तलाई बोधिचित्तको रुपमा बुझ्न सकिन्छ । यसरी नै ज्ञान र करुणाको संगम, स्वभाव शुन्यता र आलम्बन रहित ज्ञान, अनित्य, दुःख र अनात्माको यथाभूत पहिचान सहितको ज्ञानलाई पनि बोधिचित्तको रुपमा परिभाषित गर्न सकिन्छ । बोधिचित्त ग्रहणको तात्पर्य समग्र सत्व प्राणीहरु, जीवप्राणीहरुको समुद्धरणार्थ बुद्धत्व प्राप्तिका लागि सम्यक संम्बोधिमा चित्तलाई प्रतिष्ठित गर्नु हो । दुःख बिमुक्तिका लागि चित्त परिशुद्धताको अत्यावश्यक छ, यसका लागि बोधिचित्त नै सर्वार्थ उपयूक्त साधना हो । बोधिचित्त सदा सर्वदा सबैको लागि आवश्यकिय तत्व हो | यसको परित्याग कुनै पनि अवस्थामा सत्व प्राणीहरुले गर्नु हुदैन । भवजालबाट नितान्त मुक्ति प्राप्त गर्न चाहने सत्व प्राणीले बोधिचित्त अभ्यास र आश्रय लिनु अपेक्षणीय उपयूक्त हुन्छ ।
विषय प्रवेश :
अनन्त पारमिता पुर्ण गरे पश्चात प्राप्त हुने मनुष्य जन्म अति दुर्लभ छ । यही जन्ममा परम्पुरुषार्थ तथा निःश्रेयस अर्थात परम्कल्याण प्राप्तिका अनेकन साधन उपलब्ध छ । तसर्थ यस शुभअवसरलाई गुमाउनु बुद्धिमानी ठानिदैन |यदि प्राप्त मनुष्य जीवनमा स्वहित र परहित गर्ने अवसरलाई गुमायौं भने अर्को अवसर प्राप्त हुने छैन । जीवनका अनन्त इच्छा आकाँक्षाले मनुष्यको अधिकतम् समय अकुशल कर्मतर्फ प्रवीत्त भैरहने गर्दछ | तथापि चित्तको प्रबाह शुभकर्म तर्फ कम, अकुशल कर्म तर्फ बढि हुने गरेको पाईन्छ । यसर्थ भनिएको छ, —
भवदुःखशतानि तर्तुकामै —रपि सत्वब्यसनानि हर्तुकामैः ।
बहुसौख्यशतानि भोक्तकामै— नै विमाच्यं हि सदै बोधिचित्तम् ।।८।।२

अर्थात, कल्पौ कल्पको संसारिक दुःखहरुबाट पार पाउन, अनन्त प्राणिहरुको दुःख हरण तथा अगणित सुखहरुको भोगको कामना गर्ने मनुष्यहरुले कहिले पनि कुनै पनि अवस्थामा बोधिचित्तको त्याग गर्नु हुदैन भन्ने कथन रहिआएको छ । सामाजिक जनजीवनमा संवृद्धितः पुण्य सर्वकालमा दुर्वल र पाप अत्यन्त प्रवल शक्तिमान भए झै लाग्ने कटुयथार्थ हाम्रो सामु देख्नमा आईरहेको छ, जसलाई नजरअन्दाज गर्न सकिदैन । जसका कारण दिनानुदिन सत्व प्राणीहरु आफ्नो क्षणिक सुख प्राप्तिका कारण श्रृजित परिस्थितीको दास बन्न पुगेका छन् । क्षणिक सुखका खातिर भवसागरमा दुःखको अनन्त प्रहारहरु सहन गर्दै मानिसहरु यताउती भौतारी रहेका देखिन्छन् । क्षणिक आकाँक्षा पूर्तिका लागि बुद्धि पापोन्मुखी तर्फ आकर्षित भैरहेका हुन्छन् । तथापि यी यस्ता परिस्थितीका बीच पनि कुनै न कुनै जन्मको पुण्य संस्कारका कारण कही न कही सत्वप्राणीको चित्तमा भवजालबाट मुक्तहुने इच्छा जाग्रीत हुन पुगेका हुन्छन् । जो चित्त अन्ततः शुभ र कल्याणमुखि हुनपुगी बोधिचित्तको रुपमा रुपान्तरित पनि हुनपुग्दछ । वस्तुतः यस्ता बोधि स्वरुपको चित्तले नै सत्व प्राणीहरुमा बिद्यमान रहेको अपार दुःखको भारीबाट उन्मुक्ति दिलाई दिन्छ ।राग द्वेष तथा मोहको नाश गरेर दुःखको अत्यन्त निरोध चाहने जो बोधिसत्वहरु छन् , ती केवल आफ्नो मात्र नभै सत्व समूहको दुःखहरुलाई आफ्नो ठान्दछन र जगतको सुखको अभिलाषा राख्दछन् । त्यस्ता बोधिसत्वहरुले बोधिचित्तलाई धारण गरेका हुन्छन् ।तसर्थ भनिएको छ —
भवचारकबन्धनो वराकः सुगतानां सुत उच्यते क्षणेन ।
सनरामरलोकवन्दनीयो भवति स्मोदित एव बोधिचत्ते ।।९।। ३

अर्थात, संसार रुपी कारागारको वन्धन ( राग, द्वेष, जन्म मरणादी ) मा बाँधिएका बिचारा, हिन मनुष्य बोधिचित्तको उदय हुने वित्तिकै, सुगत—सुत्त अर्थात बोधिसत्व कहलाउन पुग्दछ | मनुष्यलोक तथा देवलोकमा वन्दनीय हुन पुग्दछ । सम्पूर्ण पापको शुद्धिकरणका लागि बोधिचित्तको ग्रहण अनिवार्य छ । हजारौं वर्षदेखि अन्धकारलाई संचित गरिरहेको गुफामा एउटा दियोको किरणले अन्धकारलाई नष्ट गरी प्रकाशमयी पार्दछ । यसरी नै बोधिचित्तले अनेकौं कल्पदेखि संचित पापलाई ध्वंस गरी ज्ञानको प्रकाश प्रज्वलित गर्न पुग्दछ । बोधिचित्त सतत् फल दिने कल्पवृक्ष समान पनि हो जसले सम्पूर्ण पापहरुलाई निर्मुलीकरण गर्न उपाय प्रदान गर्दछ । बोधिचित्तोत्पाद पश्चात नै कुनै पनि प्राणि, बोधिसत्व चर्या गर्न सक्क्षम बन्दछ, अर्थात बोधिसत्वले सर्वप्रथम आफ्नो आध्यात्मिक प्रगतिमा अग्रसर गराउनु पूर्व बोधिचित्तको उत्पाद गर्नुपर्दछ । दृढ संकल्प सहित बोधिप्राप्तको मार्गतर्फ अग्रसर हुनु पर्दछ । बोधिप्राप्तीको लागि आफ्नो चित्तको शुद्धिकरण सहित मनोबैज्ञानिक तयारी गर्नु नै बोधिचित्तोत्पाद हो । तसर्थ बोधिचित्तको उत्पाद नै बुद्धत्व प्राप्तिको आधार हो ।बौद्ध साहित्य भण्डारमा बोधिचित्तको ब्याख्या सागर समान उल्लेख छ । महायान तथा वज्रयान दर्शन सिद्धान्तमा प्रत्येक प्राणीको हृदयमा वीज समान बोधिचित्त बिद्यमान रहने गरेको बिश्वास गरिन्छ । अर्थात, प्रत्येक मनुष्यको हृदय भित्र धर्मकायको स्वरुपमा बोधिचित्त रुपि बुद्धांकुर रहेको हुन्छ, । यसैले आचार्य बसुबन्धु बोधिचित्तोत्पाद सुत्रमा भन्नुहुन्छ-, जुन प्रकारले समुन्द्र सबै प्रकारको निम्न, मध्य, उत्तम, मुल्यवान हिराहरुको भण्डार हो । त्यसै प्रकार प्रारम्भमा नै बोधिचित्तद्वारा देवताहरु, मनुष्यहरु, श्रावकहरु, प्रत्येक बुद्ध र बोधिसत्वहरुको पुण्य, समाधि, एवं प्रज्ञाको भण्डार समानको विचार रहेको हुन्छ ।तसर्थ आचार्य शान्तिदेव भन्नु हुन्छ, —
“ अशुचिप्रतिमामिमां गृहत्वा जिनरत्नप्रतिमां करोत्यनर्घाम् ।
रसजातमतीव वेधनीयं सुदृढं गृह्णत बोधिचित्तंज्ञम् ” ।।१०।।६

अर्थात, बोधिचित्त नामक अत्यन्त प्रभावकारी रसायनलाई दृढतापूर्वक ग्रहण गर । यो (रसायन) मानव—शरीर रुपी ती अपवित्र प्रतिमालाई साथै लिई त्यसलाई बहुमूल्य जिनरत्न ( भगवान बुद्ध )को प्रतिमा बनाइदिन्छ । बुद्धत्व प्राप्तिपूर्व र बुद्धत्व प्राप्ति पश्चात बुद्धमा बिद्यमान जनकल्याणकारी भावना जुन देखा परे ती बोधिचित्त भावनाको परिणती थियो । जीवन बिश्रामको अन्तिम क्षण सम्म पनि उनको हृदयमा बोधिचित्तको भावना मुखरीत भएको हुन्थ्यो ।७वस्तुतः सम्बोधि प्राप्तिको अधिस्थान नै बुद्धको बोधिचित्त साधनाको उदाहरण थियो । बोधिसत्व सिद्धान्तको बिकाश क्रममा स्व—चिन्तनलाई भन्दा परजन कल्याणकारी भावनालाई अधिक स्थान दिइन्छ । अर्हत फल प्राप्ति पश्चात निर्वाण लाभि भै गैदिए पनि हुने परिस्थितीमा बुद्धले लोक कल्याणका लागी पैतालिस वर्षको कठिन जीवनचर्या बिताउनुभयो,जो बोधिचित्वत्पादको अर्थमा बुझ्न सकिन्छ ।यसरी नै सुमेधऋषिको अभिनीहार अर्थात संम्बोधिको चित्त बोधिचित्तको नै स्वरुप थियो । महायान साधना पद्दतीमा बोधिचित्तको अभ्यासलाई अभिप्रेरित गर्न शान्तिदेव आचार्य यसरी सम्झाउनु हुन्छ —
“ सुपरीक्षितप्रमेयधीभि — र्बहुमूल्यं जगदेकसार्थवाहैः ।
गतिपत्तनविप्रवासशीला — सुदृढं गृह्णत बोधिचित्तरत्नम् ”।।११।।१०

अर्थात, हे शुभाशुभ कर्मरुपी नगरका विचरणशील प्राणीहरु ! अप्रमेय बुद्धि सम्पन्न तथा यस विश्वको एक मात्र सार्थवाहहरु ( बुद्धहरु र बोधिसत्वहरु ) द्वारा राम्ररी परीक्षित बोधिचित्त रुपी बहूुमूल्य रत्नलाई दृढतापूर्वक ग्रहण गर ।बोधिचित्त दुःखमुक्तिको लागि उत्तरदायित्वको स्वभावबोध तथा दृढ इच्छा शक्ति पनि हो । अद्वयवज्र संग्रहको कुद्वष्टि निर्धातनमा भनिएको छ — “बुद्धो भवेय जगतोहिताय” अर्थात सबै प्राणिलाई दुःखबाट मुक्तगर्न मैले बुद्धत्व प्राप्त गर्नेछु । यसरी नै शिक्षासमुच्चयमा भनिएको छ— “ मयां बुद्धेन भवितव्यमिति चितं प्रणिधानादुत्पन्नं भवति”अर्थात,म सर्वजगतको परित्राणका लागि बुद्ध बन्ने छु । यो पूर्वावस्थाको इच्छा मात्र हो । यस्तो स्वाभाविक दृढ इच्छालाई प्रणिधि बोधिचित्तको रुपमा परिभाषित गरिएको छ । अब बोधिचित्तको इच्छालाई व्रतको रुपमा ग्रहण गरि मार्गमा प्रस्थान गर्दछ, र कार्यमा व्याप्त अर्थात ब्यस्त रहन्छ, त्यसलाई प्रस्थान बोधिचित्तको उत्पाद भन्दछ । बोधिप्रस्थान—चित्तले निरंतर पुण्यफल दिने कार्य गर्दन्छ । तसर्थ आर्यगंढव्यूह—सूत्रमा भगवान अजितबाट भनिएको छ— “बोधिचित्तं हि कुलपुत्र बीजभूतं सर्वबुद्धधर्माणाम्” अर्थात, सबै बुद्ध धर्महरुको बीज बोधिचित्त नै हो । हृदयमा जति गहिरो करुणा उत्पन्न हुन्छन् त्यति नै प्रभावशाली बोधिचित्त जाग्रीत हुनपुग्दछ । बोधिचित्त चित्तको उत्तम अमृत हो । संसारको दरिद्रता नाश गर्ने रत्नहरुको अक्षय भण्डार हो । प्राणिको रोग नाश गर्ने उत्तम औषधि पनि हो । यसरी नै बोधिचित्त प्रतीत्यसमुत्पाद चक्र अर्थात सांसारिक भवमार्गबाट थाकेका प्राणिहरुका लागि छाँयादार विश्राम दिने वृक्ष समान पनि हो । बोधिचित्त दुर्गतिमा पतनहुने प्राणिको लागि भवसागर पारगर्ने विमान हो । तसर्थ भनिएको छ , —
“ कदलीव फलं विहाय याति क्षयमन्यत् कुशलं हि सर्वमेव ।
सततं फलति क्षयं न याति प्रसवत्येव तु बोधिचित्तवृक्ष ”।।१२।।१३

अर्थात, अन्य सबै प्रकारको पुण्यफल दिनेचाहि कार्यरुपी वृक्ष फल दिइसके पश्चात् त्यसै अनुरुप नष्ट हुनजान्छ | जसरी कदली वृक्ष एक पटक मात्र फल दिए पश्चात नष्ट हुनपुग्दछ । तर बोधिचित्त रुपी वृक्ष निरन्तर फल दिइनै रहन्छ | कहिले पनि क्षीण हुँदैन बरु बल्कि उत्पादनशील नै रहेको हुन्छ ।सम्बोधिचित्तको उपादेयता सम्बन्धमा श्रेष्ठ मुनिजनले अनेक कल्पहरुसम्म चिन्तन गरे पश्चात यही बोधिचित्त एक मात्र हितकर समाधान देखे । किनकि यसले एक सुख पश्चात अर्को सुखको सम्बर्धन गर्दै गएको हुन्छ । जसको प्रवाहले असंख्य सत्व प्राणिहरुको संसार रुपी दुःख—समुद्रबाट पार गरिदिएका वर्णनहरु बोधिचर्यावतार उल्लेख गरिएको पाईन्छ । फलतः बोधिचित्तोपादका लागि मतिशोधन अभ्यासका उपायहरुका रुपमा समता, मातृसंज्ञा भावना, मातृगुणस्मृति, प्रत्युपकार, मनोज्ञ मैत्री, अध्याशय चित्त, दुर्लभ बोधिचित्त तथा परात्मसमता, परमहत्व, परस्नेह, आत्मपरावर्तन,र लेनदेन जस्ता विषयहरुको पनि उल्लेख गरिएका छन् । यसरी नै बोधिचित्त उत्पादका लागि सप्तविधि अनुत्तर—पूजाको (वन्दना, पूजनां, पापदेशना, अनुमोदना, अध्येषणा, बोधिचित्तोत्पादः, परिणामना चेति ) विधान पनि रहेका छन् जसको अनुशीलनले अरुको रक्षा गरी आफू पनि रक्षित हुन सकिन्छ ।
उपसंहार :
बोधिचित्त नै पुण्य संभारको लागी एक अनुत्तर उपाय हो । बोधिचित्त भन्दा पुण्यकर चित्त अरु छैन । महापुरुष तथा महामुनिहरुले बोधिचित्तको परोपकारी अभ्यास गर्ने गर्छन । बोधिचित्तले आफ्ना सारा कुशल कर्महरुलाई बुद्धत्व प्राप्त गर्न उत्प्रेरणा दिने तत्वमा परिणत गरिदिन्छ । बोधिचित्त बिध्नबाधा संकटहरु टार्न र बिक्षिप्तताहरुबाट मुक्त हुनको लागि एक सर्बोकृष्ट, अद्धितीय एवं सर्वब्यापी उपाय हो । बोधिचित्तद्वारा नै सबै प्रकारका सामान्य र अलौकिक शक्तिहरु हाँसिल गर्न सकिन्छ । बोधिचित्त धर्मोदय का लागि अमूल्य छ । बोधिचित्त उत्पाद गर्नु कठिन भएता पनि यसको प्रयास गरिनु पर्दछ । बोधिचित्त अभ्यासले महाकरुणाको बिकाश हुन गै दुःखबाट मुक्त भइन्छ । भगवान बुद्धको धर्मको मुलसार बोधिचित्तोत्पाद हो | यसको पूर्णअभ्यास गर्न सके यसै जन्ममा बुद्धत्वलाभ गर्न सकिन्छ । बुद्धधर्मको उदयकाल देखि नै सत्वप्राणीहरुले बोधिचित्तको अभ्यास गरिएको पाइन्छ । बोधिचित्तको अभ्यास बुद्धि बिलास र बौद्धिक चिन्तनको बिषय कदापि होइन, ब्यवहारिक जीवनमा प्रयोग गर्नाका लागि हो । बोधिचित्तको अभ्यासले हामीमा रहेको अहंमत्व प्रति पश्चाताप, बिरोधि वा बिपक्षप्रति क्षमाशीलता, मानव मानव बीच एकता पैदा गर्ने मनोभावको बिकास गरिदिन्छ । वस्तुतः बुद्धत्व सम्म पुर्याउने आधार शिला बोधिचित्तको अभ्यासले मात्र सम्भव छ ।

TOP