संस्कृति सम्पन्न किरात राई जातिहरुले साकेन्वालाई महान चाडको रुपमा धुमधामका साथ मान्दछन् । यो समयमा टाढा परदेश पुगेका घरका सदस्यहरु समेत साकेन्वा संझेर घर फर्कने गर्दछन् भने बिहे गरेर पराइ गाउँ पुगेकी चेली समेत जुवाइँ र भान्जाभान्जी लिएर माइतीघर आइपुग्छिन् । यस अवसरमा सबै आफन्तजन भेला भइ दुःखसुख साट्दै जातीय परम्परा अनुसारको विभिन्न परिकार तुल्याइ खान्छन् भने स्वः जातीय पहिरन लगाएर साकेन्वामा नाचिने नाच लाक नाच्दै मजोरञ्जन समेत गर्दछन् ।
साकेन्वाको नेपाली अर्थ शिला भन्ने हुन्छ । विभिन्न मातृभाषी राईहरुले साकेन्वालाई साकेवा, साकेवा, तोषी आदि नामले बोलाउने गर्दछन् । राई बान्तवा भाषमा भने यसको शाब्दिक अर्थ साप्तेन–दुनियाँ र केन्वा–पालक भन्ने हुन्छ अर्थात् श्रृष्टिकर्ता, जीवनपालक, जीवनरक्षक निनाम्मा (आकाश), हेन्खामा (धर्ती) र मृत पुर्खाहरुको प्रतीकको रुपमा रहेको सिला नै साकेवा हो ।
यी जातीमा निनाम्मा र हेन्खामाको संयोगबाट नै जीवजन्तु र रुखबिरुवाहरुको सृजना भई जीवनजगत सञ्चालन भएको हो भन्ने विश्वास रहेको छ । यतिमात्र होइन यी जातीले आफ्ना
सहज मृतात्म पितृहरुबाट समेत दैवीघटना, महामारी र जङ्गली जनावर साथै अन्य शत्रुहरुबाट सुरक्षा गरेको हुन्छ भन्ने विश्वास गर्दछन् । त्यसैले प्रत्येक वर्ष दुई पटकआफ्ना श्रृष्टिकर्ता र संरक्षकहरुलाई संझदै बल माग्ने, अन्न, पैसाको सह माग्ने र बस्तुभाउ फैलियोस्, दैवीघटना नपरोस, महामारी नलागोस् भनी साकेन्वा पूजा गर्दछन् ।
वर्षमा २ पटक मनाइने साकेन्वालाई उँभौली र उँधौली सेवा भनिन्छ । उँभौली सेवालाई छोङबालकसेवा वा छिमालिमसेवा पनि भनिन्छ । छोङवालाक भन्नाले चैत बैशाखमा पलाउने भोलाीको चिउला पात हो भने छिमालिम भन्नाले अन्न बालीको टुसा भन्ने बुझिन्छ । भोर्लाको चिउला पातले समय फेरिएको अर्थात् नयाँ वर्ष लागेको संकेत दिन्छ भने छिमालिमले नयाँ वर्षको आगमनसँगै अन्नबाली लगाउने समय भयो भन्ने संकेत दिन्छ । त्यसैले यो समयमा एकपटक श्रृष्टिकर्ताहरु र मृतात्म पितृहरुलाई संझेर पूजा गर्नु सन्ततिहरुको कर्तव्य हो । यो सेवा बैशाख पूर्णिमाको आउने सोमबारबाट शुरु हुन्छ र जेठ महिनाभित्र सकिन्छ । अपवादको रुपमा असार महिनामा पनि हुने गरेको पाइन्छ । उँभौली सेवासँगै कृषकहरु अन्नबाली लगाउन खेतबारीमा व्यस्त हुन थाल्दछन् ।
उँभौली सेवासँगै लगाइएका अन्नबालीहरु क्रमशः फल लाग्दै पाक्न थाल्छन् र वर्ष अन्त्य हुन लागेको संकेत गर्दछ जसलाई उँधौली सेवा भनिन्छ । यसलाई चासुमसेवा वा तुप्लाबाकसेवा पनि भनिन्छ । चासुम भनेको अन्न हो भने तुप्ला वा तोत्ला भनेको केराको पात हो । अन्न प्राप्ति र केराको पातले वर्षको अन्त्य हुन लागेको संकेत गर्दछ अर्थात् अब अन्न फल्ने समय सकियो र केराको पात पनि पलाउने नभई सुक्दै जान्छ भन्ने हो । उँधौली सेवा मंसिर पूर्णेबाट थालिने भए पनि असोज महिनाबाटै प्राय बालीनाली पाक्न शुरु हुने हुँदा सोही समयमा पनि श्रृष्टिकर्ता र संरक्षककर्ताहरुलाई अन्न, पैसा दिनुभयो, दैवी घटना र विपत्ती महामारीबाट पनि रक्षा गर्नु भयो, हामी बाँच्यौ भन्दै पूजा गर्ने कार्य गरिन्छ ।
राई जातिमा गरिने अन्य विविध पूजाहरु भन्दा साकेन्वामा बिल्कुल फरक प्रकारका सामाग्रीहरु प्रयोग गरिन्छ । अदुवा, मचांपानी सहितको चिण्डो र चिप्लेकटुस प्रत्येक पूजाआजामा चाहिन्छ । तर साकेन्वामा भने यी भन्दा बाहेक बेल्लै प्रकारका सामग्रीहरु ढोल,झ्याम्टा, धनु, बाण, भाला, खुँडा,तरवार, कत्ती र ढालको प्रयोग गरिन्छ । यी सामाग्रीहरुको उपस्थितिले साकेन्वा श्रृष्टिकर्ता र संरक्षक मृतात्म पितृहरुको पूजा नभई युद्धको तयारी पो हो कि भन्ने भान दिलाउँछ । अझ पूजासँगै लाक पनि नाचिन्छ । लाकमा केटाकेटी, तरुनातन्नेरी, बूढाबूढी मिलेर गोलाकार भई नाच्दछन् ।
यी सामाग्रीहरु लिइ बजाउँदै र हल्लाउँदै हातखुट्टाको चाल मिलाउँदै गीत गाउँदै नाच्दछन् जसलाई सिली भनिन्छ । यतिबेला हतियार, बाजाहरु र तालको एकरुपताले नवागन्तुक मानिसको लागि त साँच्चै नै युद्ध अभ्यासको झल्को दिन्छ । तर वास्तविकता भने बेग्लै हुन्छ । बरु त्यहाँ मानवताबीच श्रद्धा, सौहार्दता र मनोरञ्जन हुन्छ । गीत र नाँचसँगै आपसी बैमनुष्यता साथै थाँती रहेका दुखेसो पनि भुल्न पुग्दछन् ।
साकेन्वा जस्तो आस्थाको पूजा र मनोरञ्जनात्मक नाचमा ढोल,झ्याम्टा र डरलाग्दा हतियारहरुको पूजा गर्नुका साथै साथमा लिई किन नाचिन्छ ? यो आश्चर्यजनक प्रश्न हो भने सत्यता पनि हो । वास्तवमै साकेन्वामा मानवीय युद्ध त लडिन्न र युद्ध शब्द कहीं कतै उच्चरण पनि गरिन्न तथापी यी सामाग्रीहरु तत्कालीन पूजाको समयमा आफ्नो जीवनरक्षाको लागि नै पूज्ने र साथमा लिएर नाचिएको हुन्छ ।
साकेन्वा श्रृष्टिकर्ता पारुहाङ, सुम्नमा, निनाम्मा, हेन्खामाको पूजा मात्र नभएर मृतात्म पितृहरुको समेत पूजा हो । पूजा साकेन्वाको भए पनि साकेन्वालाई क्रमशः नाग, देवीदेवता, भूतप्रेत तथा शाम्खा (सहज मृतात्म)हरुले घेरिएको हुन्छ । यिनीहरुको घेरा तोडेपछि बल्ल साकेन्वामा पुगन सकिन्छ । सर्वप्रथम शाम्खाहरुको घेरा छिचोल्नु पर्ने हुन्छ तर शाम्खाहरुलाई माङफोङमा (साकेन्वाको शुरु दिन) को दिनमै थेत्लुममा भाग छुट्टयाई दिएको हुन्छ । थेत्लुम भन्नाले नाच्ने स्थान हो । यसपछि भूतप्रेतको पालो आउँछ । भूतप्रेतपछि अन्य देवीदेवताहरु भूमिदेव, शिकारी, गैंया साथै आइतवारी आदिको घेरा आउँछ । तर यी देवीदेवताहरुको निश्चित स्थान हुने र निश्चित समयमा पूजिने हुँदा साकेन्वा पूजारी नाक्छोङले फलाक्दै जानकारी दिएपछि बाटो छोड्छन् । त्यसपछि नागको पालो आउँछ । नाग पानीको प्रतीक हो भने पानी नै जीवन हो । त्यसैले नागको पूजा नगर्ने हो भने पानी हुँदैन, जगतमा बिपत्ती पर्नसक्छ । त्यस्तो अवस्था नहोस् भन्नको लागि नागको पूजा गरिएको हुन्छ जसलाई सोहोन बक्मा भनिन्छ । त्यसपछि बल्ल साकेन्वा भेटिन्छ ।
भूतप्रेत भन्नाले राई जातिमा असहज मृत आत्मा हो जसले मानिसलाई सिधै निल्न खोज्छ भन्ने विश्वास रहेको हुन्छ । त्यसैले यी जातिले कुनै पनि पूजाआजामा भूतप्रेतलाई स्थान दिएको हुँदैन । भूतप्रेतहरुको घेरा तोड्न सजिलो पनि हुँदैन । त्यसैले शाम्खाहरुसँग पनि नाक्छोङले सहयोग मागेको हुन्छ । नाक्छोङको घरबाट साकेन्वा पूजन नाक्छोङ, केन्छरवा (सहयोगी), सालुम्सङ (जान्ने बुझ्ने मान्छे र गाउँलेहरु साथमा ढोल र झ्याम्टा बजाउँदै र हतियारहरु लिएर हल्लाउँदै कराउँदै निस्कन्छन् ।
साकेन्वाथान पुग्नै लाग्दा नाक्छोङ अडिएर नाग, देवीदेवताहरुलाई पनि सम्झदै र सम्झाउँदै शाम्खाहरुसँग बल माग्दै यारी (अनुवाको कछुर हानेर जोखाना हेर्नु) हेरेपछि सबैलाई एकसाथ घेरा तोड्न सुस हालेर संकेत दिन्छन् । संकेत दिइ नाक्छोङले आफ्नो शरीरमा ढाल, धनुषकाँड भिडेर मर्चापानी चिण्डोबाट छर्कदै अगाडि कर्द हम्कदै हा हो गर्दै थानतिर दौडिन थाल्छ र सँगसँगै केन्छरवा, सालुम्सङ र गाउँलेहरु आफूसंग भएको ढोल झ्याम्टा ठूलो आवाज आउने गरी बजाउँदै र हतियार बोक्नेहरुले पनि हतियार हल्लाउँदै हा हो गर्दै नाक्छोङको पछि लाग्नुपर्छ । यसरी बोकिएको हतियारको डरले भूतप्रेतले मानिसलाई छुन सक्दैन भने ढोल र झ्याम्टाको आवाज साथै मानिसको हल्लाले तर्सेर घेरा छाडि भाग्दछन् र साकेन्वासम्म पुग्ने बाटो खोलिन्छ । यसपछि साकेन्वाको पूजा सजिलै गर्न सकिन्छ भने मानिसलाई सिधै खान सक्दैन ।
त्यसरी नै अर्कोतिर ढोल र झ्याम्टाको आवाजले श्रृष्टिकर्ता पारुहाङ र सुम्निमा साथै पानीदेव नागलाई बालीनाली लगाउन बर्षाको आवश्यकताको सूचना पुग्दछ । गाउँघरमा बालीनाली लगाउन समय भएर पनि पानी परेन भने साकेन्वापूजापछि पानी पर्छ भन्ने विश्वास गरिन्छ । यसरी राई जातिले भूतप्रेतबाट जीवन रक्षाको लागि हतियार तथा वर्षाको लागि ढोल र झ्याम्टाको प्रयोग गरेको हुन्छ ।
व्यवहारिक जीवनसँग सम्बन्धित संस्कृतिहरुको वास्तविक अर्थ केलाउनु आजको आवश्यकता हो । प्रत्येक संस्कृतिको मानव जीवनसँगको गुह्य सम्बन्ध रहेको हुन्छ र प्रत्येक संस्कृतिले मानिसलाई सकारात्मक रुपमै डो¥याएको हुन्छ । तथापी हामीले यसलाई अन्धविश्वासको घेराभित्र राखेर हेर्ने दृष्टिकोणलाई हटाउँदै सुक्ष्म र सकारात्मक पक्षबाट अर्थ खोज्दै लेखबद्ध गरिराख्नु हामी सबैको दायित्व हुन्छ ।
14th May 2019 , 9:38 am
17th Apr 2025 , 5:53 am
12th Apr 2025 , 2:05 pm
11th Apr 2025 , 2:06 am
10th Apr 2025 , 1:56 am
9th Apr 2025 , 8:04 am
14th May 2019 , 9:38 am