धार्मिक शक्ति ऐक्यवद्ध हुन आह्वान

विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिको आयोजनामा बिहिबार सम्पन्न धर्मसभाले ११ बुँदे प्रस्ताव तथा निर्णयहरु पारित गरेको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले दिएको जानकारी अनुसार धर्मसभाले धर्म निरपेक्षताको खारेजी, विश्वका हिन्दुहरुको परमापिति राष्ट्र हिन्दु अधिराज्य नेपाल, राजनीति र राष्ट्रसेवाको निर्देशक सिद्घान्त धर्म लगायतका बिषयमा धर्मसभाले प्रस्ताव तथा निर्णयहरु पारित गरेको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार साधु, सन्त र महात्माहरुको सर्वोच्च स्थान, जातीय एकता र सामाजिक सद्भावको प्रेरणा हिन्दु धर्म, हर घर, आँगनसम्म हिन्दु संगठनको पहुँच,गुरुकुल र गौरक्षा, पन्थहरुको अतिक्रमण लगायत बिषयमा धर्मसभाले प्रस्ताव तथा निर्णयहरु पारित गरेको हो ।

‘संविधानतः अहिले नेपाल धर्म निरपेक्ष राष्ट्रको रुपमा परिभाषित रहेको र्सविदितै छ । धर्म निरपेक्षता आएसँगै देशभित्र विदेशी संस्कृतिको प्रभाव तीव्र बढेर गएको छ, अनेकौं समस्या र चुनौती थपिदै छ, मुलुक धार्मिक साँस्कृतिक द्घन्द उन्मुख बनेको छ । मुलुकमा परम्परादेखिको धार्मिक परिचय समाप्त पार्न पाइदैन भनेर २०६३÷०६४ देखि अहिलेसम्म धेरै अभियान र कार्यक्रम भैसके,अझै भैरहेका छन् । त्यस्ता अभियानमा सनातन हिन्दु अधिराज्य, सनातन हिन्दु राष्ट्र, वैदिक सनातन धर्म सापेक्ष राष्ट्र, हिन्दु बौद्घ राष्ट्र आदि धेरै थरीका नारामा यस्ता अभियान विभाजित छन् । निरपेक्षता खारेजी चाहने तर यसरी धेरै भागमा विभाजित सबै धार्मिक शक्ति एक ठाउँमा आउन सकेमात्रै हाम्रो अभिष्ट पूरा हुन्छ । त्यसैले विश्व हिन्दु महासंघको आह्वानमा सबै धार्मिक शक्ति एक ठाउँमा ऐकबद्द भएर धर्म निरपेक्षता खारेजीको बाटोमा अगाडि बढ्नुपर्ने धर्मसभाको महत्वपूर्ण विषय रहेको छ,’ महासमितिले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ,‘ हिन्दुत्व संसारभर फैलिएको छ, फैलिदै गएकोमा हामी गौरवान्वित छौं किनकी विश्व हिन्दु महासंघ विश्वभरीका हिन्दुको छानो हो । महासंघको अध्यक्ष नेपाली नागरिक हुने र यसको प्रधान कार्यालय नेपालमा रहने ब्यवस्था गरेर नेपालको सर्वोच्च स्थानलाई विश्व जगतले स्वीकार गरेको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल असली हिन्दुस्थान हो भनेर भन्नु, शिवशक्तिले बनेको गोरखाली नेपाली सेनामा वीरता रहनु, भक्तपुरमा हरेक नयाँ वर्षमा दैवी शक्तिको विश्व ध्वजा फहराइनु, विश्वमा अन्यत्र नभएको हाम्रो आफ्नै मौलिक नेपाली संवद प्रचलनमा रहनु, चन्द्रसूर्यको वैदिक ध्वजा राष्ट्रिय झण्डा हुनु, गोवंशप्रति अवध्य कानून रहनु, संसारको शिरोभाग हिमालय हुनु, श्री पशुपतिनाथ, श्रीमुक्तिनाथ, ज्ञानभूमि जनकपुर क्षेत्र एंवम जानकरी मन्दिर, नवौं अवतार बुद्ध जन्मस्थल लुम्बिनीको अवस्थिती यही हुनु जस्ता विशिष्ट पहिचान नेपालसँगै मात्रै छ । यसैले यो विश्वका सम्पूर्ण हिन्दुहरुको परमाधिपति राष्ट्र हो । ईश्वरले रचेको किल्ला हिन्दु अधिराज्य हो । सनातन हिन्दु अधिराज्यको हाम्रो अन्तर्राष्ट्रिय परिचय पुनस्थापना गर्ने सामूहिक संकल्प धर्मसभाको महत्वपूर्ण उदेश्य रहेको छ । अहिले मुलुकमा निर्वाचनमय वातावरण छ । यस अवसरमा राजनीति सनातन धर्मको मूल मर्मबाट निर्देशित हुनुपर्छ र राजनीतिकर्मी आध्यात्मिक भावले ओतप्रोत हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । नेपाली राष्ट्रियता र हिन्दु संस्कृतिको संरक्षण संवर्धनमा पूर्ण प्रतिवद्धता जनाउँदै अघि बढ्न सम्पूर्ण राजनीतिक दलहरूलाई हामी आग्रह गर्दछौं । विश्व हिन्दु महासंघ राजनीतिक विचारधारा र राजनीतिक दलभन्दा अलग उद्धेश्य र गन्तव्य बोकेको धार्मिक संस्था भएकोले यसले कुनै राजनीतिक दलको पक्ष विपक्षको वकालत गर्दैन । यसको आफ्नै विशिष्ट स्थान र मान्यता रहेको छ ।’

विज्ञप्तिमा थपिएको छ, ‘विद्यमान राजनीतिक व्यवस्थाले हाम्रा सनातन मूल्य मान्यता र जनभावनाको प्रतिनिधित्व गरेको छैन भन्ने हाम्रो धारणा रहेको छ । गत वर्ष २०७८ मंसिरमा नेपालमा सम्पन्न राष्ट्रिय जनगणनाको तथ्यांक अझैसम्म सार्वजनिक भएको छैन । तथ्यांकमा हिन्दु जनसंख्यालाई विभिन्न टुक्रामा खण्डित गरेर हालको ८१.३ प्रतिशतबाट घटाउने विदेशी षड्यन्त्रको हामीले बारम्बार विरोध गर्दै तथ्यांक विभागलाई सचेत गराउने काम पटकपटक गर्दै आएका छौं । जनगणना शुरु हुनुभन्दा नौ महिना अघिदेखि नै हामीले संवाद, गोष्ठी र दर्जनौं जनचेतनामूलक कार्यक्रम आयोजना गरेका थियौं। हामीले तथ्यांक विभागसंग यस बारेमा आफ्ना सरोकार राख्दा नेपालका मूल धर्म र त्यसभित्रका सम्प्रदाय के के हुन् त्यस बारेमा निक्यौल गर्न कठिनाइ परेकोले धार्मिक तथ्यांक एकीन गर्न समस्या परेको भन्ने कुरा आएको छ । यसर्थ तथ्यांकमा हिन्दु धर्म अन्तर्गत सम्प्रदाय समेटिने हो । अर्थात धर्मको कोलममा प्रकृतिपूजक र अन्य लेखाएका विभिन्न सम्प्रदायमा आस्था राख्ने परिवारभित्र रहेका सम्पूर्ण जनसंख्या हिन्दु नै हुन् भन्ने कुरा हामीले यस धर्मसभाबाट निर्णय गरेर तथ्यांक विभागलाई पठाउनुपर्ने विषय धर्मसभाको अर्को महत्त्वपूर्ण सवाल हो ।’

‘नेपालमा मात्रै होइन विश्वभर विभिन्न आश्रम मठ र अखडाहरुमा रहनुभएका तपस्वी, साधुसन्त, महात्माहरुप्रति विश्व हिन्दु महासंघ उच्च सम्मान गर्दछ । साधु सन्तको हितको कुरा मात्रै होइन उहाँहरुको सही निर्देशनलाई पालना गर्नु हाम्रो कर्तव्य रहेको छ । यसै धर्मसभाका माध्यमले साधुसन्त महात्माहरु उच्च सम्मान प्रकट गर्दछौं साथै उहाँहरुबाट सकारात्मक मार्गदर्शनको अपेक्षा राख्दछौं’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘संसारभर परिवारका सम्पूर्ण साधुसन्त महात्माहरुलाई विश्व हिन्दु महासंघमा आवद्ध रहन आह्वान गर्दछौं । रहनुभएका सनातन धर्ममा व्यवस्थित वर्णव्यवस्थाको परिकल्पना गरेको छ । पश्चिमाकरणले नेपालमा परम्परादेखि मिलेर बसेका जातजाति र समुदायबीचमा द्वन्द्व उत्पन्न गराएको छ भने तराईमा हरेक वर्ष हिन्दु चाडपर्वको समापनका बेलामा हिन्दुहरुमाथि हिंसक आक्रमण हुने गरेको छ । विश्वबन्धुत्व, सामाजिक सदभाव र सहिष्णुता प्रदर्शन गर्ने सनातन हिन्दु धर्मको मर्यादा रहेको छ। सनातन हिन्दु धर्मको अनुशीलनबाट मात्रै नेपालमा त्यो पारम्परिक विरासत बचाउन सकिन्छ । विभेदका अवशेष समाप्त गर्दै सम्पूर्ण जाति वर्णलाई एकै सूत्रमा बाँधेर राखेको हिन्दु धर्मको विशालता पुनर्जीवित गराउने बाटो तय गर्नु र हिन्दुमाथि हुँदै आएका आक्रमण अतिक्रमणलाई रोक्न उर्जा प्रवाह गर्नु आजको धर्मसभाको अर्को महत्त्वपूर्ण विषय रहेको छ । नाम मात्रको हिन्दुत्व तीव्र भौतिकता र नास्तिकताको भुमरीमा बाँच्न सक्दैन । त्यसैले सम्पूर्ण हिन्दुहरुलाई हिन्दुत्वको सम्पूर्ण ज्ञान र संस्कारले परिपूर्ण बनाउनु अपरिहार्य रहेको छ । हिन्दुहरु संस्कार र ज्ञानले परिपूर्ण भएपछि विधर्मी आक्रमण र अतिक्रमणको प्रतिरोधमा चट्टान जस्तै बन्नेछन् । नेपालमा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारी मार्फत हरेक हिन्दुका घर आँगनसम्म हिन्दुत्व सचेतना अभियान तीव्र गतिमा सञ्चालन गर्न यो धर्मसभाले विशेष प्रेरणा दिनेछ । साथै महासंघमा आवद्ध हिन्दु कार्यकर्ताका लागि दीगो आत्मनिर्भरताको कार्यक्रम ल्याउन यो धर्मसभाको ध्यानाकर्षण भएको छ ।’

सनातन हिन्दु धर्म भविष्यसम्म अडिने आधारशिला गुरुकुल हुन् भने गाई, गंगा र गीता यसका अभिन्न अंग भएको बताइएको छ, ‘नेपालमा संविधानतः गौरक्षाको सुनिश्चितता भए पनि व्यवहारमा गोहत्या र गोनिस्कासन ज्ञ भयावह अवस्थामा छ । राष्ट्रिय जनावर गोसंरक्षण नीति ल्याउन सरकारसंग माग गर्दछौं यसैगरी धर्मगुरुहरुको सत्संकल्प र भक्तजनको सहयोगमा केही गुरुकुल संचालनमा रहे पनि देशव्यापी गुरुकुल विस्तार र श्रोतसाधन सम्पन्न बनाउन सकिएको छैन । गुरुकुलको विस्तारका साथै साधनश्रोत सम्पन्न बनाउने साथै संस्कृत भाषा प्रशिक्षणको अभियानतर्फ सही मार्गदर्शन यो धर्मसभाले गर्नेमा विश्वस्त छौँ । नेपाल बाहिर जन्मिएर नेपालमा प्रवेश गरेका हिन्दुजस्तै देखिने तर हिन्दु विरोधी विभिन्न पन्थले हिन्दु जीवन पद्धति, हिन्दु संस्कृति, हिन्दु धार्मिक ग्रन्थ र हिन्दु देवी देवतालाई अपमान र तिरस्कार गरिरहेका छन् । यस्ता पन्थको जन्म वैदिक वृक्षको हाँगा हो कि ऐजेरु हो छुट्याउनु पर्छ । हाँगा बढेर रुखको विशालता बढ्छ तर ऐंजेरुले पहिले रुख सुकाउँछ र त्यो रुख सुकेपछि उ आफै पनि सुक्छ । यस्ता ऐंजेरुलाई नियन्त्रण गर्न विश्व हिन्दु महासंघले लिनुपर्ने योजनालाई यो धर्मसभाले उचित मार्गदर्शन लिने विश्वास लिएका छौं । विश्व हिन्दु महासंघ मार्फत धर्म परिवर्तन विरुद्धमा धार्मिक जागरणको गराउने, तीर्थ क्षेत्र र मठमन्दिर सञ्चालक समितिहरुलाई धर्म संरक्षणको अभियानमा जोड्ने, विश्व शान्ति र लोककल्याणका लागि यज्ञ अनुष्ठान आयोजना गर्ने, धार्मिक संघसंस्थाहरुलाई महासंघमा आवद्ध गर्दै लैजाने, राम्रा काम गरिरहेका संस्थालाई हौसला र प्रोत्साहन गर्ने, पण्डित, ज्योतिषी, विद्वान, विदुषी विभिन्न विधाका विज्ञलाई यस महासंघमा उच्च सम्मान आवद्ध गराउने, हिन्दु कार्यकर्ताहरुको प्रशिक्षण मार्फत आत्मबल बढाउंदै आन्तरिक उर्जा नवीकरण गराउने, समसामयिक धार्मिक सवालमा ध्यानाकर्षण गराउने, नयाँ धार्मिक कार्यकर्तालाई विश्व हिन्दु महासंघको बारेमा जानकारी दिने, नेपाल र भारतका विशिष्ट साधुसन्त महात्माको दिव्य प्रवचनद्वारा प्रचुर ज्ञान आर्जन गर्ने मौका धर्मसभाले प्रदान गर्नेछ ।’

TOP