दशैंको धार्मिक,सांस्कृतिक तथा आध्यात्मिक महत्व के छ ?


नेपाली हिन्दु धर्मावालम्बीहरूका लागि दशैं सबैभन्दा ठुलो र महत्वपूर्ण चाड हो । यो दशैं कहिलेदेखि मनाउन सुरु भयो भन्ने कुनै एतिहासिक प्रमाण भेटिएको छैन । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धुमधामले मनाइने गरिन्छ। पहिलेका हाम्रा पुर्खाहरू अर्धजंगली अवस्थाबाट विकसित हुँदै कृषि युगमा प्रवेश गरे पछि दशैं मान्ने परम्परा सुरु भएको हुनु पर्दछ । पछि गएर यही पराम्परालाई धार्मिक पराम्परा बनाइएको हुनसक्छ भन्ने विद्वानहरुको मत रहिआएको छ । संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो ‘दशैँ’
प्राचिनकालदेखि हिन्दु समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाइदै आएको छ । देवी पुराणअनुसार सत्य युगमा महिषासुर नामक दैत्यले देवताहरूका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे । देवताहरूमाथि त्रासदीपूर्ण शासन गरे । त्यसपछि देवताहरू ब्रह्माको शरणमा गए र ब्रह्माको सल्लाहअनुसार विष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफल पछि सबैले आफ्नो आफ्नो शक्तिपुञ्ज निकाले । ती शक्ति पुञ्जहरु एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण भयो । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्धपछि शुन्ड–मुन्ड र रक्तबीज सहित महिषासुरको बध गरेर दशौँ दिनमा विजय उत्सव मनाए । सो बिजय प्राप्तिको दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो । त्यस्तै दशैं रामायण र श्रीमद् देवी भागवत अनुसार अर्को कथा प्रसंगसंग पनि जोडिएको छ। रामले रावणको बध गरेर अयोध्या फर्के पछि ठुलो जनसभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान भैरहँदा सीताले मुख बिगारेर व्यंग्य मुस्कान छोडेको दृश्य विश्वामित्रले देखेका रहेछन् । जनसभा सकिए पछि विश्वामित्रले सीतालाई सोधे । उनको धेरै अनुरोध पछि सीताले भनिन्, ‘त्यो जाबो दशवटा टाउको भएको रावणलाई बध गर्दा त रामको वीरताको यत्रो बखान हुन्छ भने सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरूले के गर्दा हौ ? त्यसकारणले हाँसेकी हुँ ।’ सीताको यो भनाइले रामसभामा ठुलो तरङ्ग पैदा गरयो । रामको बिरतामा धक्का लाग्यो र उनले म अहिरावण र महिरावणको बध नगरि छोड्दिनँ भनि प्रतीज्ञा गरे र युद्धको तयारी भयो ।
युद्ध घमासान चल्यो राम समेत उनका भाईहरू मुर्छित भए, कोलाहल मच्चियो र त्यहि मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरि सहश्र टाउके रावणहरुको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो। भोलिपल्ट दशमीको दिन विजयोत्सव मनाइयो । श्रीमद देवी भागवत र तुलसी कृत रामायण अनुसार लङ्केश्वर रावणलाई रामले पराजित गर्न नसकेपछि शक्तिस्वरुपा भगवती दुर्गाको आह्वान गरी चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामले लङ्का विजय गरे । त्यसैको खुशियालीमा चैत्र महिनामा दशैं मनाउंदै आइरहेकोमा गर्मी मौसमको कारणले त्यही दशैं असोजमा सारेको भन्ने उक्तिहरु पनि प्रसस्तै भेटिन्छन् । विद्वान समीक्षक तथा पाठकहरूले महिषासुर, रावण, अहिरावण र महिरावण लगायतका विम्ब–प्रतीकलाई काम, क्रोध, लोभ, मोह, अहङ्कार, मद, मात्सर्य अर्थात् खराब वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतीक भनेर अर्थ लगाएको हुनसक्छ । असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैं पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको मान्न सकिन्छ। अर्काथरि मत राख्नेहरू दशैंलाई ज्ञानरुपी दियो बालेर अन्धकाररुपी अज्ञानतालाई परास्त गरि आत्मारुपी मन्दिर उज्यालो पार्ने र काम, क्रोध, लोभ, मोह र अहंकारजन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवसको रुपमा लिनुपर्ने आग्रह राख्दछन् ।
ऋग्वेदमा उल्लेखित धेरै कुराहरू वर्तमान समयमा वैज्ञानिकहरूले विज्ञानसँग तुलना गरेर सोको अध्ययन अनुसन्धान गरिरहेका छन् । जुनबेला पौराणिक साहित्य लेखन आरम्भ भयो त्यो समय आजको जस्तो वैज्ञानिक अनुसन्धानको सुविधा नभएकोले र सनातन धर्मका ज्ञाताहरुले पुस्तामा आफ्नो ज्ञान हस्तान्तरण गर्ने प्रवृति न्यून रहेकोले सनातन शाश्वत सत्यहरुको प्रचार प्रसार हुन नसकेको प्रतीत हुन्छ । हाम्रा वेद, पुराण र उपनिषद् आदि धार्मिक ग्रन्थ वैज्ञानिक तथ्यमा आधारित हुँदाहुँदै पनि वैज्ञानिक तथ्यको आधारमा यसको व्याख्या विश्लेषण र खोज अनुसन्धान गर्नुभन्दा पूजा–उपासना आदिमा सीमित राखिएकोले यसको महत्व विश्व जनमानसमा न्यून भएको हुन सक्छ । नवदुर्गाको जुन नौ वटा स्वरूप छ, त्यसमा वैज्ञानिक आधार छन् भन्ने कुरा भर्खरै खुल्न आएको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । नवदुर्गाको ध्यान, उपासना, पूजा आदि गरिन्छ । ति नव दुर्गाको वैज्ञानिक स्वरूप स्वामी निशेषा नन्दका अनुसार यसप्रकार रहेको । १) प्रतिपदामाः शैलपुत्री – सम्भावना शक्ति २) द्वितियामा: ब्रम्हचारिणी – चुम्बकीय शक्ति ३) तृतीयामा: चन्द्रघण्टा – ध्वनी शक्ति ४) चतुर्थीमा: कुष्मान्डा – रासायनिक शक्ति ५) पञ्चमीमा स्कन्दमाता – आकर्षण शक्ति ६) षष्ठीमा: कात्यायनी – ब्रह्माण्डी केन्द्र शक्ति ७) सप्तामीमा: कालरात्री – प्रसारण शक्ति ८) अष्टमीमा: महागौरी – प्रकाश शक्ति ९) नवमीमा: सिद्धिदात्री – विद्युतीय शक्ति यी उल्लेख गरिएका शक्तिहरु विश्व ब्रह्माण्डमा र हरेक प्राणीहरूमा विद्यमान छन् ।
भारतीय हिन्दु र नेपाली हिन्दुहरूको दशैं मनाउने भिन्न भिन्न शैली छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुहरू नै हुन् । तापनि जात, जाति र भूगोलअनुसार दशैं मनाउने विधि फरक–फरक छन् । हिन्दुहरूको महान चाड दशैं भएजस्तै गैर हिन्दुहरू जस्तैः उदाहरणको लागि बौद्ध, इशाई र इस्लामहरुको पनि महान चाड हुन्छन् । जुनसुकै जात, धर्म वा सम्प्रदायले जस्तोसुकै चाडपर्व मनाए पनि त्यसको वैज्ञानिक आधार एउटै रहेको विश्लेषकहरू बताउँछन् ।

TOP