संगठित ज्योतिषले समाजमा मर्यादा कायम राखि रहन्छ : ज्योतिषी विश्वप्रकाश लामिछाने

ज्योतिषी विश्वप्रकाश लामिछाने

विगत ४० बर्षदेखि ज्योतिष अध्ययन अनुसन्धान र यसको समुचित प्रसार अनि जनमानसमा सही रुपले उपयोग गर्ने कार्यमा सक्रिय हुनुहुन्छ ।हाल नेपाल ज्योतिष परिषदका प्रदेश नम्बर १ का अध्यक्ष समेत रहनु भएका लामिछानेको आफ्नु अध्यक्षीय कार्यकाल यसै महिनामा पूरा हुदैछ । प्रस्तुत छ लामिछाको अध्यक्षतामा ज्योतिष विधामा भएका काम कारवाहीका सम्बन्धमा ज्योतिषी लामिछाने र कवचकर्मी चक्रपाणि गौतमबीच भएका कुराकानी ।
कवच : अहिले केमा ब्यस्त हुनुहुन्छ ?
लामिछाने : सामान्य घरेलु र गृहस्थका व्यस्तता चलेकै छन , म विशेष गरेर ज्योतिष विधामा लागेको मान्छे । विगत ५ बर्षदेखि नै संगठन बिस्तार र ज्योतिषीहरुमा गुणात्मक सुधारका कार्यमा ब्यस्त रहियो । दुर्भाग्यवश मेरै कार्यकालमा कोभिड १९ले देश, समाज सबैमा प्रभाव पार्यो चाहेका र कार्यतालिकामा राखिएका अधिकांश कामहरु गर्न सकिएन तै पनि परिसदको विधानसम्मत प्रदेश नम्बर एकका सबै जिल्ला नगर र इकाई कमिटी गठन पुनर्गठन गरियो । सबै जिल्ला समितिहरुका सम्मेलन सम्पन्न भए । कोभिडकालमा पनि अनलाईनका माध्यमले ज्योतिषीहरुमा गुणत्मक सुधार र एक आपसका विशेष ज्ञान आदान प्रदानका लागि अनलाइन कक्षाहरु संचालन गरियो, हेर्दाहेर्दै आफ्नु कार्यकाल समाप्त हुन लगेकाले मेरो अध्यक्षतामा भएका कार्यहरुको समीक्षा गर्दै समय ब्यतित गरिरहेको छु ।
कवच : तपाईकै अध्यक्षतामा नेपाल ज्योतिष परिसदको प्रदेश नम्बर १ को आफ्नै भवन निर्माण भयो नि ? ज्योतिषीहरुको भवनको अवश्यकता किन महसुुस गर्नु भो नि ?
लामिछाने : नेपाल भरि नै ज्योतिषीहरुको सशक्त संगठन भएको प्रदेश नम्बर १ भएकाले नियमित भेला र ज्योतिषीहरुबीच अन्तर र आन्तरिक सम्बाद संगठनका बिभिन्न सम्मेलन एवं बैठक तथा प्रशिक्षणका कक्षाहरु संचालन गरिरहनुपर्ने भएका कारण हामीले परिसदको आफ्नै भवन हुनुपर्ने महसुस गर्यौ । सबै मित्र, शुभचिन्तक र समितिका पदाधिकारीहरुले पहल प्रारम्भ गर्यौ, आपसमा केही अर्थ संकलन गर्यौ, अनि मोरङ्गको सुन्दरहरैचा नपा वडा नम्बर ५ मा लगभग ४ कठ्ठा जग्गा मध्ये केही दानदाताबाट प्राप्त गर्यौ भने, २ कठ्ठा जमीन हामीले खरीद गरि भवन निर्माण प्रारम्भ गर्यौ । यस कार्यमा सुन्दरहरैचाको स्थानीय सरकारको अति ठूलो सहयोग रह्यो ।सबै ज्योतिषकर्मीहरु पनि उत्साहपूर्वक लाग्नु भयो परिणामतः संगठित ज्योतिषीहरुको नेपालमै पहिलो प्रशासकीय भवन निर्माण भयो । संगठनका धेरै ज्योतिषी मित्रहरु राजनीतिकर्मी, संचारकर्मी, स्थानीय र जनप्रतिनिधिहरुको शुभेच्छामा नै यो भवन निर्माण हुन सकेको हो । यद्यपि यो कार्यकालमा हामीले तय गरेका धेरै योजनाहरु सम्पन्न हुन सकेनन । महामारीले दुई बर्षसम्म कुनै गतिबिधि नै हुन नदिएका कारण योजनाहरु अलपत्र नै परे। आगामी समयमा अनुकुल पारेर कार्य सम्पन्न गर्नु पर्ने बाध्यता नै सिर्जना भयो ।
कवच : अव तपाईको कार्यकाल सम्पन्न हुदैछ आगामी कार्यकालमा तपाईको उम्मेदवारी रहन्छ कि रहदैन ?
लामिछाने : विधानतः परिसदमा कुनै पनि ब्यक्ति एउटा पदमा एक कार्यकाल भन्दा बेसि बस्न पाउदैन। यसकारण मैले पुनः अध्यक्षमा दाबी गर्ने कुरै आउदैन । अरु नै मित्रहरु पनि अति सक्षम हुनुहुन्छ। यसकारण ्विधानसम्मत मैले अरुलाई मार्ग प्रशस्त गर्ने पर्छ । बांकी रह्यो मैले मेरो कार्यकालमा गर्न चाहेका कुराहरु सामान्यतया पूरा भएका छन , केहि विशेष योजनाहरु ज्योतिषी साथीहरुले पनि ल्याउनु भएको छ केहि मेरा योजनाहरु पनि अधुरा रहे होलान। ती सबै सफल बनाउन म पदमा नरहेरै पनि यथासक्य पूरा गर्न सकि हाल्दछु । कार्य गर्न पद महत्वपूणर् कुरा होईन, पबित्र मनले महत्व राख्दछ । यसकारण अझै पनि परिसदको निरन्तर सेवा गर्ने प्रवल इच्छा छ र कुनै न कुनै प्रकारले म सेवा गरि नै रहन्छु। तर विधानत: प्रदेश अध्यक्षमा मेरो कुनै पनि दाबी रहदैन ।
कवच : अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
लामिछाने :
विगत ४० बर्षदेखि म यो सेवामा समर्पित छु, यसकारण आफ्नो पेशालाई मर्यादित बनाउ भन्ने लागेकै हो। यो विधा आस्था निष्ठा र विश्वासको विधा पनि हो। धेरैको अति निष्ठा र भावनासंग सम्बन्धित बिधा भएका कारण हामीले कुनै पनि अवथामा मर्यादा सेवाभाव र इमान्दारिता अनि अध्ययनशीलतालाई परित्याग गर्नु हुदैन । अहिले पनि यस विधाको दुरुपयोग गर्नेहरु धेरै छन । सर्वसाधारणले सही ज्योतिषीको पहिचान गर्ने कुनै आधार नै हुदैन , यसर्थ यस विधामा लागेका सबै ज्योतिषीहरुले निरन्तर अध्ययन गरिरहनु पर्छ । संगठित भएरमात्र कार्यमा लाग्नु पर्छ। ज्योतिषीहरुले आपसमा सम्बाद गरेर समस्या समाधान गर्नु पर्छ। शास्त्र र ज्योतिष ग्रन्थहरुको अध्ययन अनिवार्य गर्नु पर्छ । आफ्नु चिन्तन र चरित्रलाई कुनै पनि प्रकारले तल झर्न दिनु हुदैन , अनि संगठित हुनै पर्छ । र आगामी कार्यकालका लागि बन्ने समितिले यस प्रदेशमा भएका सबै ज्योतिषीहरुलाई यसतर्फ लाग्ने प्रेरणा प्रदान गर्न सकोस, भन्ने प्रवल अपेक्षा रहेको छ ।

TOP