मन के हो ? यसले के गर्छ ?

प्रस्तुती- डि. पि. नेपाल
संस्थापक:नेपाल सेवा
केन्द्र

परो हि योगो मनसः समाधिः मनोब्रये त्युपासीत

  मन दुई प्रकारले काम गर्दछ – बाह्य मन र अभ्यन्तर मनका रुपमा ।  मनलाई पूर्ण सन्तुष्ट पारेर परम ब्रह्ममा लय भएर नमिले सम्म कुनै प्रकारको ध्यान वा समाधि हुन सक्दैन । मन परम ब्रह्म हो भन्ने सम्झेर उपासना गर्नु पर्दछ । हाम्रो मन राम्रो बाटोमा त सधैँ हिडेकै हुन्छ तर हामी उसलाई उल्टाई कुमार्ग तिर जान प्रेरित गर्छौं  । मन त जाँदैन तर साधकलाई मनले छोडिदिन्छ । साधक भड्किएको मनले गर्दा बिग्रिएको बाहन चढेर सारथी बिनाको कुदी रहेका गाडीमा चढन पुगेझैँ दुर्घटनामा पर्दछ इच्छा, कामवासना र अविवेकले ।
हामी मनुष्यलाई प्राप्त सर्वोत्कृष्ट उपहार मध्येको एउटा उपहार हो “मन” तर हामी सबैले सधैँ मनलाई नै दोष दिन्छौं । मालिकले अह्राएको काम गर्ने र खटाई दिएको खाना खाने हो तर हामी मैले यत्रो सेवा गरें, भगवानले हाम्रो सबै काम गरिदिनु पर्छ, सबै इच्छा पुरा गरिदिनु पर्छ, भन्दछौं । जीवनमा परिआउने यावत काम पुरा गरिदिन सधैँ भगवानसँगै माग्दछौं । यसैमा छ समस्या । डाडु सधैँ विविध मिष्ठान्न,खाना पकाउन अथक परिश्रम गर्दछ तर स्वाद जिब्राले मात्र पाउँछ । आनन्द भगवान हैन । भगवानले अह्राएको, लाएको भनेको निर्देशन पालना गर्नु आत्म सन्तुष्टि हो – आनन्द हो । भनेको नगर्ने तर पूजा अर्चना गरिरहने गर्दा  मन कहाँ मान्दछ ? भगवान पनि के भन्दा हुन् ?
मनलाई जित्नु भनेकै मालिकलाई हटाएर आफैँ मालिक बन्न खोज्नु हो । हरक्षेत्र हर काममा  हरेक विषयमा मनुष्यले मनलाई सत् विचारका साथ सोध्नु पर्दछ । मनले कहिल्यै गलत सल्लाह दिँदैन । मनलाई लत्याई आफूखुसी काम गर्दा दुर्घटना भइरहेको छ । हामी त्यो त बुझ्दैनौँ । उल्टै मनलाई वस गर्ने प्रयास गर्छौ र मनलाई बाध्ने प्रयास गर्छौ“ । मन स्वतन्त्र छ, शुद्ध पवित्र र निर्मल छ मन । मन आधार हो इन्द्रियहरुको धरातल हो । गन्तव्य स्थानमा पुर्याउने एउटा मार्गदर्शक हो । सत्य सनातन साँघु हो अप्ठ्याराहरु तर्ने । हामी उसलाई सधैँ गलत र कुबाटोमा स्वार्थ सिद्धिका लागि प्रयोग गर्न खोज्दछौ“ अनि मन मान्दैन भड्किन्छ । इन्धन सकिएको बाहन जस्तै सम्पूर्ण अवयवहरु यथा रुपमा सावुत हुँदाहुँदै सञ्चालन हुँदैनन् । मनलाई आँखाले हेर्न सकिँदैन, छालाले छुन सकिँदैन,हिडेर मेटिदैन, उसलाई आवाजले बोलाउन सकिँदैन, उसको आवाज हाम्रा कानले सुन्दैनन् । मनलाई मनले चिन्दछ । जसका मनले मनलाई चिन्दछ त्यसबखत अन्य कुनै शरीरका अङ्गले केही गर्नु पर्दैन । ऊ पूर्ण हुन्छ। शरीर भित्र आनन्दमय हुन्छ । उसलाई मन बसमा राख्नु भने आवश्यकतै पर्दैन । मन उड्दै उड्दैन तर बालुवामा घामका किरण टल्किंदा पानी बगेजस्तो भ्रम हुन्छ । हामीलाई मन उडेको मनले चञ्चलला देखाईएको तर मन स्थिर, गम्भिर र अगाध जलाशय भएको महासागर जस्तो राम्रो नराम्रो सुगन्धले उसलाई असर गर्दैन । जिब्राले स्वाद लिन्छ पेटमा पुग्छ खाएको । तर भूमिका मात्र स्वाद दिलाउने हुन्छ जिब्राको । गोरुले हलो तान्दछ; खेत जोत्दछ ; हलि गोरुलाई हलो तान्ने भूमिकामात्र हुन्छ ; हलिको हुन्छ खेत जोत्ने भूमिका ।

    निर्विकार, निर्लिप्त,शास्वत मन,जीवलाई सधैं साथप दिने ,उसले चिताएको पुर्याइ दिने, सबै भन्दा स्थूल शरीर र सुक्ष्म शरीरमा समेत साथ दिने मनका वसमा सम्पूर्ण मानव जगत छ । मन एक मनुष्य सामू कारण बन्छ मोक्ष र बन्धनको । हाम्रा साथमा खुकुरी छ उसले शत्रुलाई काट्दछ । आफूले आफैँलाई पनि काटन सक्छ । हत्या दुवैको गर्छ । रक्षकका रुपमा लिए रक्षा गर्छ । ईन्द्रियाणाम् मनस्चास्मि “दुर्जयानामहं मनः” – योगेश्वर श्री कृष्णले भनेका छन् । प्राणिका इन्द्रियहरु मध्ये म मन हुँ । मन ईश्वरको निवास हो – मन्दिर हो । मन मन्दिरमा घृणा, द्वेष अपहेलना बस्न सक्दैन । मनमा ईश्वरलाई सजाएर राख्नु पर्दछ  । त्यसो हुँदा मन न गलत बाटो हिँड्छ न मनलाई जित्न नै सकिन्छ । बैराग्य मुद्रामा बसी दुई आँखा नाकको टुप्पामा एकटक हेरिरहने । यसरी दृढ भएर बसेमा मात्र मन कतै जाँदैन । आनन्द हुन्छ र शान्ति हुन्छ । यसरी शाम्भवी मुद्रा बन्न जान्छ । एक पल्ट अभ्यास गरौँ । सुरुसुरुमा अभ्यास गर्ने साधकलाई आँखा बन्द गरेर ध्यान गर्दा साधकलाई ध्यान गरे जस्तो नहुन सक्छ । आँखा बन्द गर्नु भनेको संसारबाट भाग्नु जस्तै हो । आँखा आफैं पछि बन्द हुने अवस्था आउँछ ध्यान गर्दै जाँदा । यदि  हामी सुरुमै आँखा बान्द गर्छौं भने विषय बासनाले लोभ्याएर मनलाई फसाउँन थाल्दछ । आँखा चिम्लिएर पछि जहाँ बसे पनि घर व्यवहार, छोडेका कुराहरु सम्झन बाध्य हुन्छ मन अनि भन्छौ“ – मन लागेन । उन्मनि मुद्रामा (आधा आँखा खोल्ने आधा परेला झुकाउने) बसेर ध्यान गर्दा केही क्षण मै आँखाले नाकको टुप्पामा हेरिरहे पछि स्वतः शरीर लठ्ठ हुन्छ र आँखा आफैँ बन्द हुने अवस्था आउँछ । हामी हाम्रा शरीरलाई मुद्रामा राख्दैनौँ र मन बरालिन्छ । उसलाई थाहा हुँदैन साधक साधना के गर्दैछ भन्ने । मनलाई सोधेर कुन काममा कस्तो मुद्रा बनाउने सो अनुसार अभ्यास गर्दा मन कतै भाग्दैन । मनलाई उपासना गर्ने वैराग्य मुद्रा हो । सबै इन्द्रिय मनका बसमा छन् । मन कसैका बसमा छैन । सर्व शक्तिमान मन हो । हामीलाई व्यभिचार गर्ने, चोर्ने, अरुको सम्पत्ति हरण गर्ने, अर्काकी छोरी चेलीको इज्जत लुट्ने, अप्राकृतिक काम गर्ने, अधर्मी काम गर्ने र यस्तै नराम्रा नचाहिँदा काम गर्न परेमा भने मनलाई सोध्नु भए मन त मान्दैन तर पनि भन्दै हामी मनलाई जितेर गलत काम गर्दर्छौं अनि फन्दामा पर्दर्छौं र मनलाई दोष दिन्छौ“ । गलत काम चाहिं हामी आफै गर्दर्छौं । त्यसको उब्जने इच्छाले हामीलाई सताउँछ । मन मान्दैन भन्दछौं मनमा उम्रने इच्छाको तरङ्ग हो विकार । राम्रो काम गरौं कि नगरौ“ भन्दछौं । माता पितालाई वृद्धाश्रममा पुर्याउन मन त मान्दैन तर बाध्यताले वृद्धाश्रममा छोडेर आउछौँ । मन त ग्लानी भइरहेको हुन्छ । मन त हाम्रो मार्ग दर्शक मित्र हो । जीवनरुपी रथको नियन्त्रक हो । लगाम जस्तै राम्रो मार्गदर्शक हो । मृत्यु पश्चात पनि हामीहरुलाई साथ दिने मन नै हो । जित्न नसकिने वस्तुमा म मन हुँ भन्छन् । आवरणले ढाकेको छ, अलिक सोझो मनले हेरे देखिन्छन् बुझिन्छन् पनि ।
मन यस्तो अद्भूत शक्ति हो जसको व्याख्या सानो मन, सानो चित्त र सानो विचार भएको मान्छेबाट हुन सक्दैन । यसका बारेमा सम्झन पनि सक्दैन । रुख, विरुवा तथा सबै वनस्पति जगतमा मन हुन्छ र वनस्पतिहरुले हामीले आँखाले देखे जस्तै आँखा देख्दछन् । लहरा पहराबाट वृक्षले आफूलाई आउने खतरा थाहा पाउँछन् । कहाँ हाम्रो आश्रय हुन्छ? थाहा पाउँछन् । कुनै एउटा वनस्पतिका लहरालाई पर थाङ्ग्रो राखि दिनुभयो भने उसले त्यो थाङ्ग्रोलाई देखेर आड लाउन उतै बढ्दै गएर त्यही थाङ्ग्रामा लहरिन्छ । सवारी साधन चलाउने मान्छेको मन लरबरियो भने दुर्घटना हुन्छ । मन दह्रो पारे भरसक बाँचिन्छ । मनका बारेमा अनगिन्ति विचारकहरुका चिन्तन र धार्मिक ग्रन्थहरुले उजागर गरेका प्रसस्त उदाहरणहरु छन् । तर त्यस तर्फ थोरै मात्र दृष्टि पुगेको चाहिँ हो । सृष्टिको प्रारम्भमा पाषाण र पर्वतहरुमा चेतना थियो, वृद्धि क्रममा त्यो नष्ट भएर गयो भनिन्छ । फेरि त्यो आफूमा भएर पनि हराएको मन खोज्ने समय आएको छ। युगले फेरि कोल्टे फेरेको छ। आउनुहोस् – फेरि त्यही बिशाल र अथाह मन खोजौँ ।यसले नै शान्ति दिन्छ।

TOP