प्रकृतिको प्रहार कोभीड १९ : मानवलाई एक महत्वपूर्ण पाठ

प्रस्तुति :- सुस्मिता गैरे

भनिन्छ दैवको लेखा मेटेर मेटिदैन यसका अनेकन उदाहरणहरु प्रकृतिले हामीलाई दिइराखेको पनि छ तर हामी आफ्नो प्रकृति माथिको अनेक लापरवाहीलाई मानवताको प्रगति सम्झिराखेका छौं । यो गलत बुझाइ नै बारबार हाम्रो लागि प्रकृतिको प्रहारको कारण वन्न पुगेको छ । हामी धर्म ,अध्यात्म जस्ता शब्दहरुको सट्टामा भौतिक विस्तारबादलाई नै सतप्रतिशत समर्थन दिने गर्दछौं । यसको अर्थ यो हुनजान्छ कि विना जग हामी हावामा महल वनाइराखेका छौं । जसलाई प्रकृतिको तुफानले बारम्वार लडाइदिने गर्दछ तर हामी यसलाई सामान्य रुपमा लिन्छौं । हामी भौतिक उन्नतिको अहंकारमा यति अन्धा भएका छौं कि ती हावामा विना आधार वनाइएका संरचनाबाट मानवताको धरातल नै देख्न छाडी सक्यौं । यही हामी मानव जातिको लागि अभिशाप सिद्ध हुँदै गइरहेको छ ।
धर्म अर्थात स्वभावमा विचरण गर्नु जस्तो : पानीले आफ्नो धर्म चिसोपना,सितलता,जीवन्तता कहिल्यै बिर्संदैन हमेसा तलतिर नै वग्ने गर्छ यो उसको स्वभाविक धर्म हो । अर्को उदहारण आगोको लिन सकिन्छ जसको स्वभाविक धर्म तातोपना र प्रकाश हो र यो माथितिर नै वहने गर्दछ । हामीले विभिन्न यस्ता उदाहरणलाई भोगिसकेका छौं आगो प्रति हाम्रो लापरवाहीले अनगिन्ती विनासहरु गरिराखेका छन । भर्खरै अस्ट्रेलियामा आगोले गरेको विनास ताजा नै रहेको छ । हाम्रै शरीर भित्रको कुरा गरौं – शरीरमा आवश्यकताभन्दा अधिक तापक्रम भयो भने हाम्रो ज्यान जाने जोखीम रहन्छ तर पनि हामी आफ्नो शरीर भित्र अनेकन अप्राकृतिक वस्तुहरुलाई प्रवेश गराइराखेका हुन्छौं जसले शरीर भित्रको अग्नी तत्व अनियन्त्रीत हुन जान्छ र हामीलाई ज्वरो आउने गर्दछ । यस्तै प्रकृतिका सयौं धर्महरु छन जसलाई प्रकृतिले ईमानदारिताका साथ पालना गर्दछ । मानव छाडेर अन्य पशु प्राणीहरुले आआफ्नो स्वधर्म पालना गरेकै हुन्छन । सिंहले घाँस कहिल्यै खाँदैन हातीले मासु कहिल्यै खाँदैन जस्ता अनेकन उदहारण तपाईहामीहरु अगाडि छलंङ्ग नै छन। तर हामी देखेर पनि नदेखे जस्तो जानेर पनि नजाने जस्तो गर्दछौं मात्र आफ्नो स्वर्थका लागि । उपरोक्त सबै कुराका आफना धर्म भए जस्तै मानवको पनि प्रकृतिले प्रदान गरेको स्वधर्म छ -जस्तो प्रकृतिले हाम्रोलागि अनगिन्ती अन्न,फलफूल, तरकारी आदि प्रदान गरेको छ वस्नको लागि जमिन दिएको छ तर यसले हाम्रो मनको भाँडो भरिदैन। हामी आहारको लागि अन्य जीव जन्तुदेखि लिएर समुद्री संसारमा पनि अतिक्रमण गर्दछौं जुन प्रकृतिले दिएको मानव स्वधर्मको अधिकार क्षेत्र भित्र पर्दैन । जव हामीले मानविय स्वार्थका लागि समुद्रमा विभिन्न मानव चलखेलहरु गर्न सुरु गर्यौ,प्रकृतिले हामीलाई चेतावनी दिदै गर्यो तर हामीले टेरैनौ फलस्वरुप सुनामी जस्ता विशाल प्राकृतिक आपदाको सामना गर्नु पर्यो । तर हामी समपूर्ण प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी न पर्यौं त्यसैले हाम्रो मनस्थिति असहाय र कमजोर प्रति आफ्नो अधिकार जमाउने प्रवृतिका रुपमा विकसित हुनपुग्यो । सायद आज हामी यसलाई आफ्नो अधिकार सम्झने महा गल्ती गरिराखेका छौं । जवसम्म हामी आफ्नो स्वधर्मलाई पुनः पहिचान गरेर तदअनुरुप आचरण गर्दैनौ हामीमाथि अरुपनि कयौं कोरोना रुपी प्रहारहरु अझ विकरालरुप लिएर आइ नै रहनेछन् । कोभीड १९ भन्दा पहिला पनि हाम्रै लापरवाहीका कारण प्रकृतिले विभिन्न रोगहरुको प्रहार हामीमाथि गर्यो। वर्डफ्लु,स्वाइनफ्लु, सार्स, स्पेनिसफ्लु,इवोला,एड्स आदि यसका जल्दा वल्दा उदहारण हुन। फेरि पनि हामी अभिमानी मानवले आफ्नो भौतिक प्रगतिको मातमा सवैलाई नजरअन्दाज गरिरह्यौ फलस्वरुप अहिले कोरोना भाइरस अर्थात (Covid19) को चपेटमा सम्पूर्ण विश्व स्तव्ध भएको छ ।
कोरोना भाइरसको प्रकोप चिनको हुआन शहरबाट २०७६ को पौष तिरबाट सुरुभयो । सुरुका दिनहरुमा यसलाई खासै महत्वकासाथ लिइएको थिएन। जव चिनमा यो रोग पत्तालगाउने डाक्टर को यही रोगका कारण मृत्यू भयो तव मानव समाजमा यसको त्रास सुरुभयो । सुरुसुरुमा यसरोगलाई कतै चमेरोबाट आएको कतै सर्पबाट आएको भनेर विभिन्न मतहरु सुनिन थाले तर आठ महिनासम्म पनि कुन चिजबाट यो सरेको छ भन्ने कुराको आधिकारिक मत आउन सकेको छैन ।
कोभीड १९ ले पारेका असरहरु :-
कोरोना भाइरसले सम्पूर्ण विश्वलाई नै तहसनहस गरिसकेको छ । संसारका सबै मानवहरुको दैनिक जीवनमा यसले प्रत्यक्ष रुपमा असर पारिसकेको छ । करीव अढाई करोड मान्छेमा यसको संक्रमण देखिइसकेको छ भने ८ लाख भन्दा वढी मान्छे हरुले ८ महिनाको अवधीमा ज्यान गुमाइसकेको अवस्था छ । नेपालकै परिप्रेक्षमा भन्ने हो भने यो लेख तयार पार्दासम्म करिव ३५००० मान्छेमा यसको संक्रमण देखिएको । १६४ जनाले ज्यान गुमाइसकेका छन् । यसमा १९००० भन्दा वढीले यस रोगलाई जित्न सफल पनि भएका छन् । विश्वका अधिकांस देशहरुमा लकडाउन गरिएको अवस्था छ । प्राय कारोवारहरु ठप्प छन् । दैनिक क्रियाकलापहरुमा प्रत्यक्ष रुपमा असर परिराखेको छ ।शैक्षिक संस्थाहरु अझ खुल्न सकेका छैनन् । सबै स्तरका विद्यार्थीहरू अन्योलमा छन । खाध्यान्न र औषधी पसलहरु छाडेर वाँकी सबै किसिमका व्यापार व्यवसायहरु सून्य नै छन । रोगको निवारणको लागि सबै हस्पीटलहरु खुल्ला र सहज उपचारको वातावरण हुनुपर्नेमा अन्य रोगीहरुका लागि पनि हस्पीटल जाने अवस्था छैन। प्राय: सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु वन्द नै छन् । रोग लागेपछि उपचार नपाएर धेरै जनाले ज्यान गुमाउनु परेको छ । समाजमा एक व्यक्तिले अर्को व्यक्ति प्रतिको हेर्ने दृष्टिकोणनै फरक भैसकेको छ । आफ्नो ज्यानको वाजी लगाएर हाम्रै लागि खटिरहेका स्वास्थ्यकर्मीहरु प्रति पनि अभद्र व्यवहार पनि हामीले गर्न थालेका छौं । भाडामा बसेका स्वास्थ्यकर्मीहरुलाई कोरोनाको जोखिम भन्दै घर छोड्न भन्न पनि पछी पर्दैनौ पहिला तिनै ले भाडा तिरेको पैसाले जिविका चलाउनेहरु अहिले तिनिहरुलाईनै घरछाड्न बाध्य तुल्याउनु मानवताको पतनको उदहारण नभए के हो त ? । युवाहरू भित्र गुम्सिएर बस्नु पर्दा विभिन्न मानसिक विक्षीप्तताहरुको भाव आउने र आत्महत्या गर्ने गरेको पनि धेरै पाइएको छ । लाखौ, करोडौका व्यापारीहरु रोडमा आउने अवस्था देखिएको छ । साँझ विहान काम गरेर छाक टार्नेहरुको स्थिति कस्तो भएको होला सहजै अनुमान लगाउन सकिन्छ । यस्ता परिस्थितिहरुको ठोस समाधान गर्नु पर्ने सरकार भने पदका लागि दाउपेच मै भुलिराखेको देख्दा साँच्चै नै संसारबाट मानवता हराएकै हो त ? भन्ने प्रश्न मनमा आउनु स्वभावीकै पनि हो ।
यसबाट सिक्नु पर्ने पाठ :-
यस रोगले करोडौलाई आफ्नो चपेटामा लिएको छ र लाखौको संख्यामा ज्यान गइसकेको छ । संसारमै सबै किसिमका गतिविधिहरुमा प्रत्यक्ष असर पारिसकेको छ । यस्तो अवस्थामा हामीले सिक्नु पर्ने पाठ के हो त ? । पहिलो त हामीले आफनो प्रकृतिप्रदत्त धर्मलाई अनिवार्यरुपमा पालना गर्नु पर्दछ । दोश्रो सरसफाई नै स्वस्थ रहनकालागि अपरिहार्य कुरा हो भन्ने कुरा बुझ्नु पर्दछ । हाम्रा पुर्खाहरुले यापनगरेको जीवन शैलिको एक चोटी स्मरणगरेर मनन गर्न पर्ने देखिएको छ । घरवाहिरवाट घरमा प्रवेश गर्दा हात खुट्टा राम्ररी धोयर भित्र पस्ने प्रचलन । खाना वनाउँदा कपडा फेरेर सेतो धोतीमात्र लगाएर पकाउने प्रचलन, कुनै वच्चालाई वाहिरबाट आएर छुनु भन्दा पहिला आगो पानी छोयर मात्र छुने प्रचलन जस्ता तमाम जीवन शैलिहरुमा रुढीवादी होइन बैज्ञानिक तथ्य प्रमाणित भैसकेको छ । यस्ता कुराहरुलाई हामी अन्देखा गर्नु भन्दा इमानदारीपुर्वक पालना गर्नु हामीसबैको लागि हितकारी हुन जाला ।
कसरी बाँच्ने त ?
वर्तमान परिप्रेक्षमा कोभिड १९ बाट कसरी बाँच्ने भन्ने कुरा सबै भन्दा महत्वपूर्ण भएको छ । साधारणतया यो रोग नाक,मुख र आँखाकोको माध्यमबाट सर्छ भन्ने कुरा हामीले बुझेका छौं । संक्रमितले हाच्छिउ गर्दा निस्किएको छिटाबाट यो भाइरस सर्ने गर्दछ । संक्रमितले आफ्नो नाक वा मुखबाट निस्किने स्वाव हातको माध्यमबाट विभिन्न सरसामानहरु घरका ढोकाका ह्याण्डलहरु, मोवाईल फोन आदि दैनिक प्रयोगका सामानहरुको माध्यमबाट परिबारका अन्य सदस्यहरुमा सर्ने गर्दछ । त्यही व्यक्तिबाट समुदायमा अरु व्यक्तिहरुलाई पनि सर्न सक्छ अनि यसले समाजलाई, देशलाई र विस्तारै विश्वलाई नै आफ्नो शिकार बनाउँदछ। जस्तो कि अहिलेको अवस्था रहेको छ । यसबाट वाँच्ने उपाय संक्रमितलाई रोग निको नहुँदासम्म अन्य व्यक्तिबाट अलगै राख्ने, संक्रमीतले प्रयोग गरेका कुनै पनि बस्तु प्रयोग नगर्ने गर्नुपर्दछ । यस्तो महामारीको बेलामा घरभित्रै वस्ने अत्यावश्यक कार्यको लागिमात्र मास्क लगाए र सतर्कताका साथ बाहिर निस्कने गर्नुपर्छ । बाहिरबाट ल्याएका तरकारी , फलफूल आदि सामानहरु तातो पानीले राम्रोसँग धोयर मात्र प्रयोग गर्ने गर्नुपर्छ । कुनै बाहिरी सामानहरु छोए पछि सावुन पानीले हात धोइहाल्ने गर्नुपर्छ । सेनिटाइजरले भाइरसलाई मार्ने हुनाले यसको प्रयोग हातमा गर्ने गर्नुपर्छ । रोगका भाइरसहरु शरीरमा भएपनि लक्षण नदेखिने पनि हुनसक्छ त्यसैले समुदायमा घुलमिल हुने मान्छेसंग टाडै रहनु नै राम्रो हुन्छ ।
यी भौतिक सतर्कताले मात्र पुग्दैन। प्रकृतिको संरक्षण गरी यस्तो बिनास हुन नदिन सधैँ सतर्क रहनुपर्छ। आध्यात्मिक चिन्तन,मननका साथै ध्यान तथा योगाको माध्यमबाट शरीर र मन दुबैलाई शुद्ध र पवित्र राख्नुपर्दछ। सकारात्मक सोचका साथ आफू बाँचेर अरुलाई पनि बचाउने भाव राख्नुपर्दछ।

TOP